कोरोना भाइरस संक्रमण जोखिमपछिको लकडाउनका कारण दैनिक गतिविधी ठप्प छ । यसै मेसोमा गायक प्रमोद खरेल पनि घरमै बस्न बाध्य छन् । हरेक दिनजसो देश–विदेशको कार्यक्रममा व्यस्त हुने यी गायक अहिले के महसुस गर्दैछन्, प्रस्तुत छ उनीसँगको गफगाफ :
अहिलेजसरी दिन–रातै घरमा बसेको अनुभव छ ?
यो मेरा लागि मात्रै होइन, संसार भरका अधिकांश व्यक्तिका लागि नौलो अनुभव होला । पुरै लक डाउन भएको यो पहिलोपटक हो । यस्तो किसिमले २४सै घण्टा घरभित्रै थुनिएको याद कहिल्यै भएन ।
घरमै बस्दा कस्तो अनुभव भइरहेको छ ?
समय कटाउने हर प्रयास गरिरहेको छु । साथै यो समयलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर सोचिरहेको छु । अल्छी लाग्ने, छटपट हुने, के गरौं, कसो गरौं त पक्कै भएको छ नि ।
के–के गरिरहनुभएको छ ?
पहिले बाहिरको बाहिरै हुँदा भोकल प्राक्टिक्समा खासै समय दिन पाएको थिइनँ । केहि क्रियसन गर्ने मुड खोजिरहेको छु, तर कोरोनाको ह्याङ धेरै छ । परिवारसँग यसरी मज्जाले बसेको थिइनँ, परिवारलाई समय दिन पाएको छु । घरभित्रका स–साना काम, गरिरहेको छु । कोरोनाको तनावले एकदमै क्रियटिभ काम केही गर्न सकिरहेको छैन । साथै यो समयमा आफूसँग भएका किताब पनि पढिरहेको छु । एक्कासी लकडाउन भएकाले केही किताब किन्ने मन थियो, सकिएन । आफूलाई मन लागेका र युट्युबमा भेटिएका केही चलचित्र हेरिरहेको छु । इन्टरनेटमा म्युजिक सम्बन्धी विभिन्न कुरा पढिरहेको, हेरिरहेको छु । मेरो श्रीमती पकाउन पारखी छिन्, मैले नजानेको कुरा किचनमा उनीसँग सिकिरहेको छु । कोरोनाको चिन्ता सबैतर्फ छ, तर मैले यो लकडाउनमा के–के गरेर हुन्छ, पूर्ण खुसीका साथ समय कटाउन खोजिरहेको छु ।
बिहान कति बेला उठ्नुहुन्छ ?
उठ्ने समय अहिले र पहिले उस्तै हो । म ७ देखि ८ बजेसम्म उठ्छु ।
सधै व्यस्त हुनुहुन्थ्यो, दिनरात घरमा हुँदा श्रीमतीको प्रतिक्रिया के छ ?
(हाँस्दै) पर्यटकजस्तै झुलुक्क आउने–जाने हुन्थ्यो । राम्रोसँग गफ गर्नसमेत नपाएको धेरै बर्ष भएको थियो । विन्टरमा त सधैँ बाहिरको बाहिरै हुन्थ्यो ज्यान । अहिले उनी निकै खुसी छिन् । मेरो मन पनि एकदमै खुसी छ ।
श्रीमतीसँग यति धेरै दिन समय सँगै बसेको पहिलो रेकर्ड हो ?
हो । पहिलोपटक नै हो । अरू बेलामा धेरैमा हप्तादिनसम्म समय बिताइयो होला । तैपनि २४सै घण्टा सँगै त कहाँ होइन्थ्यो र त्यतिबेला !
कोरोनाबाट बच्न के–के गरिरहनुभएको छ ?
घरको गेटबाट बाहिर निस्किएको छैन । तरकारी र बाहिरको समान भित्र आउँदा मज्जाले धोएर अथवा स्यानिटाइजर प्रयोग गरेर मात्रै भित्र ल्याइएको छ । सकेसम्म तातो पानी पिउने गरेको छु । हात नियमित धुन्छु । अलिकलि घाँटी दुखिरहन्छ, त्यसैले मलाई त झन् डर लाग्छ । घरको सरसफाइमा समेत ध्यान दिएको छु ।
गीत रेकर्डिङ र कन्सर्टमा जान नपाउँदा कस्तो भइरहेको छ ?
बाध्यता हो । तर, जतिखेर नि व्यस्त हुने मान्छे यसरी बस्दा त बोर नै हुन्छ नि । अहिले गीत रेकर्ड गर्ने मुड चलेको छैन । लक डाउन खुलिसकेपछि हाम्रो मनोरन्जन क्षेत्र खुल्न र सुरु हुन पनि धेरै समय लाग्छ सक्छ । अझै बोरिङ समय आउन बाँकी छ जस्तो लाग्छ ।
अति धेरै फुर्सदिलो हुँदा कस्तो हुँदोरहेछ ?
एक दिन पनि फुर्सदिलो भएर बस्न मन नहुने स्वभाव हो मेरो । यसरी बस्दा दिक्कै लाग्ने रहेछ । माइण्ड स्लो हुने रहेछ । काम गर्ने आदत हट्ने र अस्वस्थ हुने हो कि भन्ने डर हुँदोरहेछ । मानिस धेरै फुर्सदिलो हुनु साँच्चिकै नराम्रो कुरा रहेछ । कहिलेकाहीँ फुर्सद ठिकै हो, तर धेरै घाटा हो । चाहिने–नचाहिने सोच आउने रहेछ । जीवनको योजनै नहुने । चौपटजस्तै हुने जीवन ।
लकडाउन खुल्नेबित्तिकै गर्न मन लागेको पहिलो काम के हो ?
मेरो गितारको तार बिग्रिएको छ, पहिलोपटक यो बनाइहाल्नुपर्ने छ । त्यसपछि तुरुन्तै समय सान्र्दभिक केही गीत रेकर्ड गर्नु छ । कतिपय संगीतकार तथा गीतकारले ४ महिनादेखि कुरिरहनुभएको छ, त्यो पनि सकाउनुपर्ने छ । एउटा म्युजिक भिडियो पनि सुट गर्नुपर्ने छ । सबै कुरा ठीक भयो भने नियमित अन्य काम सुरु हुन्छन् ।
संसारभर कोरोना भाइरस फैलिएको छ । यसले समग्र मानवलाई के पाठ सिकाएको होला ?
जीवनमा मरी लानु के नै छ र ? कोरोनाले मानिसलाई जीवन छ त सबै छ, नत्र केही छैन भन्ने कुरा राम्रैसँग सिकाएको छ । माया प्रेम र सद्भाव बाँड्न सिकायो । साथै स्वस्थ र सफा हुनुपर्छ भन्ने कुरा सिकाएको छ । जहाँ जे भेट्टायो खाइहाल्ने हाम्रो स्वभाव अबका दिनमा परिवर्तन हुनेवाला छन् । जीवनमा जुनसुकै बेला जे पनि पर्न सक्छ, त्यस्ता कुरासँग जुध्न तयार हुनुपर्छ भन्ने कुरा पनि सिकिएको छ । पैसा र जागिर भन्दै दौडने मानिसलाई परिवार सबैभन्दा ठूलो कुरा हो भन्ने कुरा पनि ‘फिल’ गराएको छ । परिवार खुसी भए भने त्योभन्दा अर्को खुसी केही रहेनछ, मैले सिकेको कुरा ।