साप्ताहिक संवाददाता
‘लायन’ सबैभन्दा मन परेको हो । फिल्ममा देखाइएको ज्याला मजदुरी गरेर रोजिरोटी चलाउने एउटा गरिब परिवारसँग नजिक भएर पनि होला, साह्रै मन छोयो । फिल्ममा आमाले हात समातेर कोइला चालिरहँदा त्यो कोइलाको बास्नालाई मैले पनि नजिकबाट महसुस गरेँ । जसरी फिल्ममा सरु भन्ने पात्र दाइसँग छुट्टिन्छ, त्यसरी नै मैले पहिलोपल्ट घर छोडेर सपना पूरा गर्न सहर छिर्दा ठ्याक्कै उसले भोगेकोजस्तो दृश्य नभए पनि सहरमा सडक र कुकुरहरूको गन्धसँगै गरेको संघर्ष मेरो मस्तिष्कमा ताजा नै छ । त्यसैले होला यो फिल्म हेर्दै गर्दा मलाई मेरो आफ्नै जीवन हेरेजस्तो अनुभूत भयो ।
अंकित खड्का, अभिनेता
मलाई अल्भारो ब्रेच्नरद्वारा निर्देशित उरुग्वियन चलचित्र ‘अ ट्वेल्भ इयर नाइट’ले निक्कै प्रभाव पार्यो । यो चलचित्र सन् १९७३ मा केही माक्र्सवादी विचारका लडाकुहरूलाई तात्कालीन उरुग्वेको निंरकुश सैनिकहरूले समातेर दिएको यातनामा आधारित छ । अन्तर्राष्ट्रिय रेडक्रसलगायतका चासोका कारण शासकले उनीहरूलाई मारिहाल्न सक्दैनन् तर ती बैचारिक बन्दीहरूलाई फरक–फरक क्षेत्रको जेलमा एक्लाएक्लै राख्छन् र सकेसम्म पागल बनाउने प्रयासमा लाग्छन् । तर, ४ हजार ३ सय २० दिनपछि उनीहरू रिहा हुन्छन् । चलचित्रमा अलग–अलग राखिएको कैदीहरूले आपसमा सम्वाद गर्न अपनाएको उपाय, फरक चरित्रहरू, चरित्र निर्माणको प्रक्रिया आदि गज्जबको छ । स्पेनिस कलाकार एन्टोनियो डेला टोरे, अल्फन्सो टोट आदिले चरित्रप्रति निभाएको भूमिका न्याय संगत छ । आर्ट, सेट निर्माण, कस्ट्युम, सिनेमाटोग्राफीले पनि मलाई म आफंै पो त्यही पात्र हुँ कि भन्ने अनुभूति गरायो ।
प्रकाश आङदेम्बे, निर्देशक
एलिजा हिटमेनद्वारा निर्देशित ‘नेभर रेयरली समटाइम्स अलवेज’ एकदम मन परेको फिल्म हो । महिलामाथि हुने सोसियल ह्यारेसमेन्टलाई कसरी समाजले हल्का रूपले हेर्छ र ‘कमिङ अफ एज’का महिलाको ट्रमालाई नजर अन्दाज गरिएको छ भन्ने कुरालाई सिनेमाले सटिक रूपमा रेखांकन गर्छ । एकदम सरल छ सिनेमाको प्रस्तुति भाषा । मुख्य पात्रका रूपमा देखिने कलाकारको बेजोड अभिनले गर्दा पनि यो सिनेमा हेर्न लायकको छ ।
दीया मास्के, अभिनेत्री
कुकुरको सत्य कथामा बनेको जापानी फिल्म ‘हाचिको’ सबैभन्दा बढी मनपर्यो । फिल्म हेरेपछि कुकुर र मान्छेबीचको सम्बन्धले निकै भावुक बनायो । सडकमा पशुपन्छी भोकै भइरहेको यो समयमा यो फिल्म हेर्नु सान्दर्भिक हुनसक्छ ।
मेलिना राई, गायिका
लकडाउनमा यति धेरै फिल्म र सिरिज हेरियो, कुन भनौं दोधार भयो । मैले नेटफ्लिक्समा हेरेका दुइटा सिरिज ‘क्विन अफ दि साउथ’ र ‘मनी हाइस्ट’ दामी लाग्यो । सिरिजका क्यारेक्टरहरू देखेर मलाई त वाह लाग्यो । नेपालमा पनि अब यस्तो सिरिज सुरु गर्नुपर्छ भन्ने लागिरहेको छ ।
छुल्ठिम गुरुङ, अभिनेत्री
नेपाली फिल्म ‘सुख:दुख’ गज्जब रै’छ । पारिवारिक सम्बन्ध, छोरा–छोरी बुहारीप्रति बुबा आमाको व्यवहार, सम्बन्ध तथा बिच्छेद । रोचक प्रस्तुति । फिल्मले रुवायो ।
असलराज घिमिरे, विद्यार्थी
साउथ इन्डियन फिल्म ‘डियर कमरेड’ साह्रै मन पर्यो । महिला क्रिकेटरले भोग्नु परेको समस्या, उसको करिअरप्रतिको लगाव, बोल्डनेस र प्रेमीको अगाध माया विशेष लाग्यो । कोरियन फिल्म ‘ट्रेन टु बुसान’ पनि समय सान्दर्भिक लाग्यो ।
रजनी केसी, अभिनेत्री
आयुष्मान खुरानाको ‘आर्टिकल १५’ले मन छोयो । जातीय विभेद, वर्गीय विभेद र लैंगिक विभेदलाई सिनेमामा राम्रोसँग चित्रण गरिएको छ ।
प्रकाश सपुत, गायक
कोरियन फिल्म ‘मिराकल इन सेल नं. ७’ गज्जब रैछ । फिल्मको कन्टेन्ट नै बलियो लाग्यो । कलाकारको अभिनय त्यस्तै दमदार छ ।
जीवन भट्टराई, कलाकार
अजय देवगनको निर्माणमा लिना यादवले निर्देशन गरेको ‘पाच्र्ड’ फिल्म निकै मनपर्यो । फिल्म भारतको राजस्थानस्थित एक मरुभूमि गाउँमा बस्ने चार महिलाको कथा हो । त्यहाँका महिलाले भोग्नुपर्ने हिंसाको दृष्टान्त हो । राधिका अप्टे, तनिष्ठा चटर्जी, सुरवीन चावलालगायत सबै कलाकारको अभिनय जीवन्त छ । फिल्म हेरिरहँदा फिल्मको हरेक पल आफंै बाँचिरहेको जस्तो महसुस भयो । कमर्सियल फिल्मका राजा अजय देवगनले यो फिल्म बनाएको भन्दा झन् खुसी लाग्यो ।
स्वस्तिमा खड्का, अभिनेत्री
‘नोटबुक’ र ‘क्लुलेस’ साह्रै मन पर्यो । प्रेममा दूरीले फरक पार्दैन भन्ने महसुस ‘नोटबुक’ले गराउँछ । त्यस्तै सन् १९९० को दशकमा गरिने ड्रेसअप अनि टिनएजमा हुने चुनौतीहरू ‘क्लुलेस’मा देखाइएको छ ।
स्वेच्छा केसी, मोडल
‘डियर कमरेड’ एकदमै राम्रो लभस्टोरी रहेछ । कहिल्यै दबिएर बस्नु हुँदैन भन्ने सन्देश बोकेको रहेछ । गज्जब लाग्यो ।
कविराज गहतराज/ कोरियोग्राफर