
त्यसै पनि इतिहास सत्तासंघर्ष, युद्ध, प्रेम र घृणाको कथाहरूको सँगालो हो । हाम्रो इतिहास पनि यी कुराबाट अछुतो छैन । हाम्रो इतिहासको सबैभन्दा घृणित घटना के होला ? यो विषयमा इतिहासकारहरूबीच बेग्ला–बेग्लै मत हुनसक्छ तर, नेपाल एकीकरणका महानायकहरूमध्ये एक दामोदर पाण्डेको जसरी हत्या गरियो त्यसले आमनेपाली जनताको मन अहिले पनि दुख्छ ।
गोरखामा द्रव्य शाहलाई राजा बनाउन अग्रणी भूमिका निर्वाह गर्ने त्यतिबेलाका कूटनीतिज्ञ गणेश पाण्डेका वंशज तथा कीर्तिपुर युद्धमा मारिएका गोरखाका सेनापति कालु पाण्डेका नाति दामोदर पाण्डे नेपाली जनतामाझ यसकारण पनि स्मरणीय छन् कि उनकै नेतृत्वमा पहिले महारानी राजेन्द्रलक्ष्मी र पछि बहादुर शाहले नेपाल एकीकरण अभियान अघि बढाएका थिए । त्यतिबेला नेपाली सेनाको नेतृत्व तहमा रहेका बडाकाजी अमरसिंह थापा, काजी अभिमानसिंह बस्नेतका साथ काजी दामोदर पाण्डेको रणनीतिक चातुर्यकै कारणले नेपाल एकीकरण सम्भव भएको हो । यिनै दामोदर पाण्डे जसरी मारिए त्यो घटना नेपालको इतिहासमा कालो दागका रूपमा रहिरहनेछ ।
वि.सं. १८५४ मा तत्कालीन राजा रणबहादुर शाहले राज्य त्यागको घोषणा गर्दै गिर्वाणयुद्ध विक्रम शाहलाई राजा बनाए । त्यसपछि संन्यास लिएका राजा रणबहादुर शाहले १८५७ मा एकपटक फेरि राजकीय हस्तक्षेप गर्न चाहेपछि तत्कालीन मुख्तियार (प्रधानमन्त्री) दामोदर पाण्डेले गद्दी त्यागिसकेका राजाले फेरि गद्दीमा अधिकार जमाउन सक्दैनन् भन्ने तर्क गर्दै नावालक राजा गिर्वाणयुद्ध विक्रमको वैधानिकतालाई कायम राख्दै राजधानी नुवाकोटमा लगेर त्यहीँबाट नेपालको प्रशासन सञ्चालन गर्न थाले । दामोदर पाण्डेको अडानका अगाडि टिक्न नसकेपछि वि.सं. १८५८ मा रणबहादुर शाह काशीतर्फ पलायन भए । त्यसपछि नेपालको प्रशासन फेरि काठमाडौं फर्कियो ।
काशीमा समेत शान्तिका साथ जीवन निर्वाह गर्न नसकेपछि रणबहादुर शाह काठमाडौं फर्कने चाँजोपाँजोमा लागे । यसरी फर्कन लागेका रणबहादुर शाहलाई दामोदर पाण्डेले काशीमै रोक्न चाहे । दामोदर पाण्डेको उक्त इच्छामा अंग्रेजहरूले रुचि नदेखाएपछि दामोदर पाण्डेले त्यतिबेला अंग्रेजसँग नेपालले गरेको सन्धि भंग भएको घोषणा गरे । सन्धि भंग भएलगत्तै काठमाडौंमा रहेका अंग्रेजहरूका सैनिक सहचरी कप्तान नक्स दलबलका साथ फर्कन बाध्य भए ।
कप्तान नक्स फर्किएपछि अंग्रेजहरूले पनि रणबहादुर शाहलाई काठमाडौं फर्काइदिए । काठमाडौंतर्फ लागेका रणबहादुर शाहलाई रोक्ने प्रयास असफल भएपछि दामोदर पाण्डे उनको स्वागतका लागि केही सेनाका साथ थानकोट पुगे । यसअघिका घटनाक्रमहरूका कारण रिसले चुर रणबहादुर शाहले आफ्नो स्वागत गर्न आएका सेनालाई सम्बोधन गर्दै ‘तिमीहरूको वफादारी मप्रति छ कि दामोदर पाण्डेप्रति ?’ भन्ने प्रश्न गरेपछि त्यहाँ पुगेका सैनिकहरूले रणबहादुर शाहलाई साथ दिएपछि रणबहादुर शाहले तत्कालै दामोदर पाण्डेलाई पक्राउ गर्न र काट्न आदेश दिए । यस्तो आदेश पाएपश्चात् सैनिकहरूले दामोदर पाण्डेलाई निरस्त्र गर्दै थानकोटबाट काठमाडौं पुर्याए । काठमाडौं पुर्याएकै रात भद्रकाली मन्दिरमा वीर योद्धा दामोदर पाण्डेलाई दसैंको बोका पर्साएसरह पर्साएर काटियो । उक्त घटनाकै क्रममा दामोदर पाण्डेका छोरा तथा केही समर्थकसमेत मारिएका थिए ।