
नेपाली समाजमा जातीय संरचनाको ठूलो महत्त्व छ । परापूर्व कालमा सामाजिक स्थिति कायम गर्न निर्धारण गरिएको हाम्रो जातीय संरचनामा समय–समयमा परिवर्तन हुँदै आएको छ । यस्ता परिवर्तन कतिपय अवस्थामा समयको आवश्यकताअनुसार भएका छन् भने कतिपय अवस्थामा शासकहरूको ठाडो निर्णय कारण बनेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ठाडो आदेशले जातीय अधिकार खोसिएका वर्गमा जैसी–ब्राह्मणहरूसमेत परेका छन् । पहिले कान्यकुब्ज (उपाध्याय) वा कुमायुनी ब्राह्मण सरह पूजापाठ र कर्मकाण्ड गराउने समेत अधिकार भएका जैसी ब्राह्मणहरू अहिले त्यस्तो अधिकारबाट वञ्चित गरिएका छन् ।
घटना नेपाल एकीकरणताकाको हो । त्यतिबेला गोरखाका राजा पृथ्वीनारायण शाह र काठमाडौंका राजा जयप्रकाश मल्लबीच एक–अर्कालाई समाप्त पार्ने अनेक किसिमको खेल चलिरहेको थियो । यसै क्रममा पृथ्वीनारायण शाहविरुद्धको आफ्नो लडाइँलाई उत्कर्षमा पुर्याउने क्रममा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहका छोरा तथा उत्तराधिकारी प्रतापसिंह शाहलाई चिसापानीगढीको जंगलमा बँदेलको सिकार गर्ने निमन्त्रणा दिए । यो निमन्त्रणका पछाडि प्रतापसिंह शाहलाई पक्राउ गरेर गोरखाविरुद्ध रणनीतिक प्रयोग गर्ने षड्यन्त्र रचिएको थियो । यो षड्यन्त्रमा थानकोट र नुवाकोटका केही जैसी ब्राह्मणले जयप्रकाश मल्ललाई साथ दिएका थिए । भनिन्छ, यो षड्यन्त्रको अगुवाइ जगत पाण्डेसहित आठ जना जैसी ब्राह्मणले गरेका थिए ।
इतिहासमा उल्लेख भएअनुसार प्रतापसिंह शाहलाई सिकारका लागि उक्साउने जगत पाण्डेका पछाडि लगाइएका गोरखाका गुप्तचरहरूबाट सिकारको बहानामा भएको षड्यन्त्रको पोल खुलेपछि पृथ्वीनारायण शाहले सिकारका लागि हिंडिसकेका आफ्ना उत्तराधिकारी प्रतापसिंह शाहलाई बाटैबाट फिर्ता बोलाए । त्यसपछि प्रतापसिंह शाहलाई सिकारमा लाने आठै जना जैसी ब्राह्मणलाई पक्राउ गरियो । तीमध्ये एक जनाले आत्महत्या गरे भने अन्य सात जना मृत्युदण्डको सिकार भए ।
उक्त घटनापछि पृथ्वीनारायण शाहले जैसी ब्राह्मणहरूले पाउँदै आएको पुरोहित्याइँ कर्म गर्ने अधिकार र पाउलागी अधिकार खोसिदिए । यो घटनाअघि जैसी ब्राह्मणहरुलाई शास्त्रसम्मत रूपमा अवध्य (मृत्युदण्ड दिन नहुने जाति) मानिन्थ्यो भने उनीहरूले गन्धाक्षत (पूजापाठ गराउने) र ढोगभेटको अधिकारसमेत पाएका थिए । यही घटनापछि नेपालमा जैसी ब्राह्मणहरूको सामाजिक मर्यादा र कर्मकाण्डीय अधिकार समाप्त भएको मानिन्छ ।