
नेपाल राष्ट्रको एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाहले साम, दाम, दण्ड, भेद आदि सबै नीति अख्तियार गरेका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । त्यसबाहेक छलकपट र धोखाधडी पनि पृथ्वीनारायण शाहको नीतिभित्रै थियो भन्ने कुराको उदाहरणका रूपमा उनका पिता नरभूपाल शाहका गुरु गौरेश्वर पन्त विरुद्ध गरिएको घातलाई लिइन्छ । इतिहासमा उल्लेख भएअनुसार तनहुँका राजगुरु गौरेश्वर पन्त नरभूपाल शाहका पनि गुरु थिए । आफ्नो मावलीमा रहँदा नरभूपाल शाहले गौरेश्वर पन्तमार्फत नै प्रारम्भिक शिक्षादीक्षाका साथै राजकीय संस्कार तथा कूटनैतिक, राजनैतिक मर्यादाहरूसँग सम्बन्धित ज्ञान प्राप्त गरेका थिए । यसैकारण पनि गोरखा दरबारमा गौरेश्वर पन्तको ठूलो मान थियो ।
घटना अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान प्रारम्भ गरेपछि तनहुँका तत्कालीन शासक त्रिविक्रम सेनले गोरखालाई सघाउने वचन दिएका थिए । सोहीअनुरूप पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान अघि बढाएका थिए । यसै क्रममा पृथ्वीनारायण शाहले पर्वत र लमजुङविरुद्ध युद्धको घोषणा गरे तर तनहुँका राजा त्रिविक्रम सेनले सिरानचोकमा भएको युद्धमा पर्वत र लमजुङलाई सघाएपछि पृथ्वीनारायण शाह आगो भए । उनले यो कपटका विरुद्ध तनहुँलाई दण्ड दिने निर्णय गर्दै त्रिविक्रम सेनका गुरु गौरेश्वर पन्तको सहयोग लिने निर्णय गरे । पृथ्वीनारायण शाहले त्यतिबेला काशीवासमा रहेका बृद्ध गौरेश्वर पन्तलाई काशीबाट झिकाएर तनहुँ र गोरखा बीच उत्पन्न संकट समाधानका लागि आग्रह गरे ।
पृथ्वीनारायण शाहको आग्रह स्वीकार गर्दै गौरेश्वर पन्तले त्रिविक्रम सेनसमक्ष गोरखाको गुनासो राखेर गोरखासँग मित्रता गर्न आग्रह गरे । गुरुको आग्रह सुनेपछि त्रिविक्रम सेनले गोरखाको प्रस्तावमा षड्यन्त्र हुनसक्ने आशंका जाहेर गरे । त्रिविक्रम सेनको आशंकामा गौरेश्वर पन्तले त्यसो नहोला भनेर चित्त बुझाएपछि सेन त्रिशूली नदीको किनार ज्यामिरघाटमा पृथ्वीनारायण शाहसँग भेट गरेर सम्झौता गर्न राजी भए । पूर्वनियोजित कार्यक्रमअनुरूप त्रिविक्रम सेनले ज्यामिरघाटमा पृथ्वीनारायण शाहसँग भेटघाट गरी छलफल अघि बढाउन लाग्दा पृथ्वीनारायण शाहका सैनिकहरूले ज्यामिरघाटमै त्रिविक्रम सेनउपर आक्रमण गरी उनलाई पक्राउ गरेर नुवाकोट पुर्याए । यो घटनाबाट कुपित भएका गुरु गौरेश्वर पन्तले पृथ्वीनारायण शाहसमक्ष ‘यस्तो घातले तिम्रो भलो गर्दैन’ भन्दै त्रिविक्रम सेनलाई रिहा गर्न र तनहुँसँग गरिएको विश्वासघातको मुआब्जा तिर्न आग्रह गर्दा पृथ्वीनारायण शाहले आफ्ना पिताका वयोबृद्ध गुरु गौरेश्वर पन्तलाई नै कैद गरे । कैदमा परेको केही समयपछि पृथ्वीनारायण शाहले आफ्नी जेठी आमा चन्द्रप्रभावतीको आग्रहअनुसार गुरु गौरेश्वर पन्तलाई जातिच्युत गर्दै देश निकाला गरेका थिए ।