
पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाह शाहवंशीय राजाहरूमध्ये सबैभन्दा छोटो समय राजा भएका थिए । २६ वर्षकै उमेरमा दिवंगत भएका प्रतापसिंह शाहको मृत्युका बारेमा अनेक किसिमका विवाद छन् । तीमध्ये एक हो— तान्त्रिक पूजा बिग्रिनु ।
इतिहासमा उल्लेख भएअनुसार लडाकु पिताका उत्तराधिकारी भए पनि प्रतापसिंह शाहको स्वभाव लडाकु थिएन । बरु उनी तन्त्र–मन्त्रप्रति आकर्षित थिए । पृथ्वीनारायण शाहले काठमाडौंका तीनवटै राज्यलाई एकीकृत गरिसकेपछि पनि उनका शत्रुहरू शान्त भैसकेका थिएनन् । उनीहरू कुनै बहानाले काठमाडौंमा स्थापित भएका गोर्खाली राजाहरूलाई समाप्त पार्न चाहन्थे । यसै क्रममा पाटनका मल्ल राजाहरूका दरबारी कीर्ति राजानन्दले प्रतापसिंह शाह तन्त्र–मन्त्रप्रति आशक्त छन् भन्ने चाल पाए ।
कीर्ति राजानन्द स्वयं पनि तन्त्र साधना गर्थे । प्रतापसिंह शाहका गुरु मधुसूदन आचार्यमार्फत कीर्ति राजानन्द प्रतापसिंह शाहको सम्पर्कमा आए । उनैले प्रतापसिंह शाहलाई तन्त्र–मन्त्रका बारेमा विशद् जानकारी प्रदान गरेका थिए । त्यसपछि प्रतापसिंह शाह आफूले पनि तान्त्रिक पूजा गराउने इच्छा राखेको बताउँदै कीर्ति राजानन्दलाई गुरु थापेर तन्त्र साधनामा लागे । यो काममा मधुसूदन आचार्य उपगुरु बन्न पुगे ।
तन्त्र साधनाका लागि योसा (३२ लक्षणले युक्त तरुनी), १ लाख सुगन्धराजको फूल, सवा लाख हाँसको अन्डा आवश्यक भएपछि त्यसको खोजी गरियो । सुगन्धराजको फूल र हाँसको अन्डाको व्यवस्था भैसकेपछि योसाका रुपमा कीर्ति राजानन्दले मैजु नाम गरेकी एक नेवार कन्यालाई अघि सारे । त्यसपछि तन्त्र पूजा प्रारम्भ गरियो ।
तन्त्र पूजा प्रारम्भ गर्दा पृथ्वीनारायण शाहको मृत्यु भएको ५ महिना २५ दिन मात्र बितेको थियो । यस्तो अवस्थामा प्रतापसिंह शाहका भाई तथा पृथ्वीनारायण शाहको बर्खी बसेका बहादुर शाहले उक्त तन्त्र पूजाको विरोध गरे । तैपनि प्रतापसिंह शाहले त्यसको वास्ता नगरी आफ्नो दरबारको ढोका थुनेर तन्त्र पूजा जारी नै राखे । तन्त्र पूजाकै क्रममा प्रतापसिंह शाह योसाप्रति मोहित भएपछि योसा गर्भवती हुन पुगिन् । त्यसपछि तन्त्र पूजामा अवरोध देखा पर्यो । यो अवरोध लगातार ३ वर्षसम्म कायम रह्यो । यो अवधिमा योसाले विदुर शाही र शेरबहादुर शाही (रणबहादुर शाहका हत्यारा) लाई जन्म दिइन् ।
त्यसपछि कीर्ति राजानन्दले योसाले गर्भधारण गरी सन्तान जन्माएकीले तन्त्र साधना हुन नसक्ने बताएपछि प्रतापसिंह शाह अत्तालिए, उनले योसालाई आफ्नो भित्रिनी घोषित गरे जसलाई हामी इतिहासमा मैजु महारानीका रूपमा चिन्र्छौं । त्यसपछि उक्त तन्त्र साधनालाई असफल घोषणा गरियो । त्यसपछि प्रतापसिंह शाह आफ्नो तन्त्र साधना सम्भव नहुने भएको पीरले थलिए । बिरामी परेकै अवस्थामा तन्त्र साधना प्रारम्भ गरेको साढे ३ वर्षमै प्रतापसिंह शाहको निधन भयो ।