
हामी सबैलाई थाहा छ, नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह हुन् । यद्यपि यो अभियानमा उनी एक्लो थिएनन् । नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहलाई सघाउने एक प्रमुख पात्र हुन्– हरिनन्द पोखरेल ।
काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियानलाई बाइसे–चौबीसे राज्यविरुद्ध केन्द्रित गरे । यसै क्रममा पृथ्वीनारायण शाहको एकीकृत गोर्खाली फौजलाई वि.सं. १८२९ को वैशाखतिर काजी कालु पाण्डेका छोरा वंशराज पाण्डेको नेतृत्वमा चौबीसे राज्यविरुद्ध युद्ध गर्न खटाए । त्यतिबेला बलियो मानिएको पर्वतको नेतृत्वमा रहेको चौबीसे राज्यको एकीकृत शक्तिसँग भएको लडाइँमा पृथ्वीनारायण शाहका विश्वासपात्र सरदार कहरसिंह बस्न्यातसहित दर्जनौं गोर्खाली लडाकु मारिए भने सेनापति वंशराज पाण्डे घाइते भै पर्वतेहरूको कैदमा परे । यो घटनाले पृथ्वीनारायण शाहलाई भित्रैदेखि आहत बनायो । यही पीडामा रन्थनिएर बसेका पृथ्वीनारायण शाहलाई भेट्न एक दिन अचानक खोटाङको खार्पाका हरिनन्द पोखरेल आइपुगे ।
हरिनन्द पोखरेलले निराश पृथ्वीनारायण शाहलाई एकीकरण अभियान जारी राख्न अपिल गर्दै पश्चिम अभियान स्थगित गरेर पूर्व अभियान सञ्चालन गर्न आग्रह गरे । त्यतिबेला पोखरेलले पूर्वका सेन राज्यहरूको अवस्था कमजोर रहेको, राजा नाम मात्रको रहेको, भारदारहरूबीचको आन्तरिक कलहले सेन राज्यहरू एकअर्काको सेखी झार्न उद्यत् रहेको जानकारी दिंदै गोर्खालीहरूको एउटै आक्रमणमा पूर्वका राज्यहरू सजिलै एकीकृत हुने जानकारी गराए । उता पृथ्वीनारायण शाहले आफ्नो जनबल (सैनिकहरू) चौबीसेसँगको लडाइँमा पराजित भएपछि निकै घटेको, धनबल (युद्ध खर्च) पनि नभएको जानकारी दिँदै आफूले अहिले तत्कालै युद्ध गर्न नसक्ने बताए । पृथ्वीनारायण शाहको उक्त कुरा सुनेपछि हरिनन्द पोखरेलले आफ्नो कुरा दोहोर्याउँदै युद्धका लागि आवश्यक खर्च आफंैले बेहोर्ने बताए । पोखरेलको उक्त कुरा सुनेपछि पृथ्वीनारायण शाह पूर्व विजय अभियानका लागि सहमत भए ।
यो सहमतिपछि वि.सं. १८२९ भदौ १३ गते सरदार अभिमानसिंह बस्न्यातको नेतृत्वमा सरदार रामकृष्ण कुँवर, सरदार अमरसिंह थापा, सरदार सरुपसिंह कार्कीसँग रहेका त्यतिबेलाका गोर्खाली सेनाका अनुभवहीन युवाहरू पूर्व विजयका लागि प्रस्थान गरे ।
उक्त अभियानअन्तर्गत गोर्खाली सेना लगभग २ वर्षको अवधिमा नेपालको पूर्व सीमालाई टिष्टा नदीसम्म पुर्याई सिक्किमसँग इलाम प्राप्त गर्ने सर्तमा शान्ति सम्झौता गरी काठमाडौं फर्कियो । यो अभियानमा हरिनन्द पोखरेलले पूर्वका गौंडा–गौंडामा गोर्खाली सेनाका लागि रसद–पानीको व्यवस्था एवं तलबभत्ताको सुविधा उपलब्ध गराउन आफ्ना तर्फबाट ११ हजार ५१ रुपैयाँ खर्च गरेका थिए ।