
नेपालको इतिहासमा शत्रु वा विरोधीले लगाएको चुक्लीका कारण आफ्नो ज्यानसहित सर्वस्व गुमाउने वीर–वीरांगनाहरूको कुनै कमी छैन । विरोधीको चुक्लीकै कारण आफ्नो पछ्यौरामा बदनामीको दाग बेहोर्न बाध्य भएकी थिइन– महारानी राजेन्द्रलक्ष्मी ।
पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाहकी पटरानी राजेन्द्रलक्ष्मीको कथा उपेक्षित पत्नीको कथामा मात्र नभै चरित्रहीनताको आरोपमा जेलिएकी अथक योद्धाको कथा पनि हो । पृथ्वीनारायण शाहले प्रारम्भ गरेको नेपाल एकीकरणको अभियानलाई दोस्रो चरण (पश्चिम विजय अभियान) मा प्रवेश गराउने श्रेय पाएकी राजेन्द्रलक्ष्मी आफ्ना पति महराज प्रतापसिंह शाहले आफूलाई उपेक्षा गर्दै भित्रेनी मैजु महारानीसँग भुल्न थालेपछि आहत भएकी थिइन् । महारानी राजेन्द्रलक्ष्मीको उपेक्षाबाट राजकुमार बहादुर शाह (प्रतापसिंह शाहका भाइ) राजकुमार दलमर्दन शाह (पृथ्वीनारायण शाहका भाइ) र त्यतिबेलाका आठ पहरिया काजी सरूपसिंह कार्कीसमेत आहत थिए । उनीहरूले महाराज र महारानीबीचको सम्बन्धमा सुधार ल्याउन निकै प्रयास गरे । उनीहरूको प्रयासलाई महाराज प्रतापसिंह शाह शंकाको दृष्टिले हेर्थे । महाराजको यही कमजोरीबाट उनका सौतेनी काका दलजित शाहले फाइदा उठाउन खोजेका थिए ।
पति उपेक्षालाई बिर्सन राजकाजमा सक्रिय महारानी राजेन्द्रलक्ष्मीलाई उनको बढ्दो शक्तिका कारण बदनाम गराउन दलजित शाह सक्रिय थिए । दलजित शाहको यस्तो सक्रियताको पछाडि पृथ्वीनारायण शाहले उनको सहोदर दाजु महोद्दमकीर्ति शाहलाई विजित राज्यमाथि हकदावी गर्दा दिएको सजायको रिसइवी साँध्नु थियो भन्ने कुराको अनुमान धेरै इतिहासकारले लगाएका छन् ।
दलजित शाहको षड्यन्त्रअनुसार एक दिन भारदारी सभामा महारानी राजेन्द्रलक्ष्मीमाथि काजी सरुपसिंह कार्कीसँग रासलीला रचाएको, शारीरिक सम्बन्ध राखेको अभियोग लगाइयो । त्यस्तो अभियोग लागेपछि महारानी राजेन्द्रलक्ष्मी मर्माहत भइन् । त्यसपछि महाराज प्रतापसिंह शाहले युवराज रणबहादुर शाह दुधमुखे बालकै रहेकाले उनलाई दरबारको चौघेराबाहिर निस्कन नसक्ने सजाय दिए । यही मौकामा दलजित शाह बहादुर शाह, दलमर्दन शाह र सरुपसिंह कार्कीलाई पन्छाउनसक्रिय भए । उनको योजनाअनुसार बहादुर शाह नुवाकोटमा कैद गरिए । दलमर्दन शाह भागेर बेपत्ता हुन बाध्य भए ।
सरुपसिंह कार्की आफ्नो बफादारीको यस्तो प्रतिफल देखेर निक्कै आहत हुन पुगे र अन्तमा आत्महत्या गर्न बाध्य भए । यो घटना विक्रम संवत १८३२ फागुनको हो ।