
आफ्ना पतिले नै आफूमाथि चरित्रहीनताको आरोप लगाएपछि दरबारभित्रै नजरबन्दमा बस्न बाध्य भएकी महारानी राजेन्द्रलक्ष्मी वि.सं. १८३४ मंसिर ६ गते राजा प्रतापसिह शाहको निधनपछि मात्र नजरबन्द मुक्त भइन् । उता आफ्ना दाजुको मृत्युपछि बेतिया निर्वासनमा गएका राजकुमार बहादुर शाह काठमाडौं फर्कन लाग्दा उनलाई भीमफेदीमै रोकियो ।
राजा प्रतापसिंह शाहको निधनपछि महारानी राजेन्द्रलक्ष्मीले नाबालक राजा रणबहादुर शाहको नायबीका रूपमा शासन चलाउन थालिन् । उनले काजी सर्वजित रानालाई आफ्नो हजुरिया काजी नियुक्त गरिन् ।
त्यसपछि भीमफेदीमा रोकिएका बहादुर शाह काठमाडौं झिकाइए । अब नेपालको सत्ता महारानी राजेन्द्रलक्ष्मी र राजकुमार बहादुर शाहले संयुक्त रूपमा सञ्चालन गर्न थाले । यो कुरा चौतरिया दलजित शाह (पृथ्वीनारायण शाहका सौतेनी भाइ) लाई चित्त बुझेन । उनले अनेक तिगडम गरेर देवर–भाउजूबीच फाटो ल्याए । परिणामस्वरूप बहादुर शाह फेरि बेतिया निर्वासित भए ।
अब चौतरिया दलजित शाह सत्ताको सर्वेसर्वा हुने षड्यन्त्र बुन्न थाले । उनको षड्यन्त्रले एक वर्षपछि नै साकार रूप लियो । शाहले हजुरिया काजी सर्वजित रानालाई हातमा लिइ महारानी राजेन्द्रलक्ष्मीलाई शक्तिहीन तुल्याए । बहादुर शाह निर्वासनमा रहेको यही मौकामा दलजित शाहले महारानी राजेन्द्रलक्ष्मीलाई सदाका लागि पन्छाउन सर्वजित रानासँग शारीरिक सम्पर्क राखेको अभियोग लगाएर नेल हतकडीसहित थुनामा राखे । यो घटना वि.सं. १८३५ भदौ १९ गतेको हो । यो घटनालाई सदाका लागि पन्छाउन दलजित शाहले आफूलाई साथ दिने सर्वजित रानालाई पनि वि.संं.१८३५ फागुन २१ गते मृत्युदण्ड दिए ।
यो घटनापछि नेपालमा अनर्थ हुन लागेको कुरा थाहा पाएर बहादुर शाह फेरि काठमाडौं फर्किए । काठमाडौं फर्किएपछि त्यतिबेला ओझेलमा पारिएका वडाकाजी अमरसिंह थापा, काजी अभिमानसिंह बस्नेत, सरदार रामकृष्ण कुँवर आदि योद्धालाई हातमा लिइ बहादुर शाहले दलजित शाहको षड्यन्त्रको पर्दाफास गरी महारानी राजेन्द्रलक्ष्मीलाई जेल मुक्त गरे ।