
नेपालको इतिहासमा मल्लकालीन राजा प्रताप मल्लको नाम सम्मानका साथ लिइन्छ । उनको शासनकाललाई कतिपय इतिहासकार मल्ल युगको सर्वश्रेष्ठ समय समेत भन्छन् तर यिनै राजा आफ्नो स्वार्थका लागि कसैको हत्यासम्म गराउन पछि पर्दैनथे भन्ने कुराको उदाहरण इतिहासमा पढ्न पाइन्छ ।
राजा प्रताप मल्लको समयमा नागार्जुन पहाडको उत्खनन गरिँदा कालभैरवको मूर्ति (जुन मूर्ति अहिले हनुमानढोका दरबार अगाडिको सडकमा राखिएको छ) फेला पर्यो । राजाले त्यो सुन्दर मूर्तिलाई आफ्नै दरबारअगाडि प्रतिस्थापन गराउने निर्णय गरे । राजाको यो निर्णयपछि उनका ज्योतिष सोम शेखरानन्द, ज्ञानानन्द आदिले त्यसरी मूर्ति प्रतिस्थापन गर्नुअघि शास्त्रसम्मत ढंगले मूर्तिमा कालभैरवको प्राण प्रतिष्ठा गराउनुपर्ने सल्लाह दिए । त्यसपछि दक्षिण भारतबाट आई राजा प्रताप मल्लको सेवामा रहेका तान्त्रिक लम्बकर्ण भट्टले आकाशमा उडिरहेका भैरव (त्यसबेलाको काठमाडौंमा भैरव आदि देवताहरू आकाशमा विचरण गर्छन् भन्ने मान्यताले गहिरो जरा गाडेको थियो) लाई समातेर उक्त मूर्तिमा प्राण प्रतिष्ठा गराउँदा राम्रो हुने सल्लाह दिए ।
त्यसपछि खोजी भयो आकाशमा विचरण गर्ने भैरवलाई तान्त्रिक विधिद्वारा समात्न सक्ने तान्त्रिकको । यो काममा काठमाडौंकै एक अज्ञात तान्त्रिक अघि सरे । ती तान्त्रिकले शुभ साइत पारेर आकाशमा विचरण गरिरहेका भैरवलाई टुँडिखेलमा झारे । त्यसपछि उक्त भैरवलाई ती तान्त्रिकले मन्त्र फुकिएको धागोले बेरेर टुँडिखेलदेखि हिँडाएर मूर्ति भएको ठाउँमा ल्याए र तन्त्रसम्मत पूजापाठ गरेर उक्त मूर्तिमा प्रवेश गर्ने आज्ञा दिए । बन्धनमा परेका भैरव पनि खुरुखुरु मूर्तिमा पसेर अलप भए ।
यसरी इच्छाअनुसार एउटा महान् काम सम्पन्न भएपछि राजाको मनमा चिसो पस्यो । यी साधनसम्पन्न तान्त्रिकको नाम अब मेरोभन्दा बढी चल्नेछ भन्ने सोच राजाको मनमा आयो । त्यसपछि राजाले लम्बकर्ण भट्ट, सोम शेखरानन्द, ज्ञानानन्दजस्ता आफ्ना सिधा खाने तान्त्रिक तथा ज्योतिषहरूसँग सल्लाह गरेर ती तान्त्रिकको हत्या गरे ।
यसरी नेपालको इतिहासमा एउटा तान्त्रिकले आफ्नो साधनाको परिचय आमजनतालाई दिनुअघि नै प्राण उत्सर्जन गर्नुपर्यो । यो काठमाडौंमा प्रचलित एउटा कथामात्र हो वा यसमा कुनै सत्यता छ भन्ने विषयमा हाम्रा कुनै पनि ऐतिहासिक सामग्रीले केही बोलेका छैनन् ।