मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया रीता कार्की विद्यालयबाट घर पुग्नेबित्तिकै सिटी रिक्साको ह्यान्डिल समाउँछिन् । विद्यालय जानुअघि पनि उनी सिटी रिक्साको ह्यान्डिलमै हुन्छिन् । ५ महिनादेखि रीताको दैनिकी यसरी नै बितिरहेको छ । उनले सिटी रिक्साको ह्यान्डिल नसमाउँदा उनीहरूको चार जनाको परिवारको हात–मुख जोर्न समस्या पर्छ ।
रीताकै परिश्रमका कारण एक बहिनी तथा एक भाइ विद्यालयमा अध्ययन गरिरहेका छन् । १० धुर जमिनमा निर्मित कच्ची घरमा रीतासँगै आमा जुना, बहिनी नितु तथा भाइ मदन बस्छन् । उनीहरू सोही विद्यालयको क्रमश: कक्षा ७ र २ मा अध्ययनरत छन् । बाबु दुर्गाबहादुर परिवारको सम्पर्कमा छैनन् । पहिले राजमिस्त्रीको काम गर्ने दुर्गाबहादुरले पछिल्लो समय सिटी रिक्सा कुदाएर परिवारको गुजारा चलाउँदै आएका थिए, तर उनी परिवार छाडेर अन्यत्र बस्न थालेपछि १४ वर्षीया रीता परिवारको भरोसा भएकी हुन् ।
परिवारको हात मुख जोड्न तथा आफूसहित भाइ र बहिनीको पढाइ खर्चको व्यवस्था गर्न विद्यालय अघि र पछिको समयमा आफुले सिटी रिक्सा चलाउँदै आएको रीता बताउँछिन् । दैनिक सरदर ६–७ सय रुपैयाँ आम्दानी हुन्छ, रीताले भनिन्— त्यसमध्ये २ सय ५० रुपैयाँ हरेक दिन स्थानीय वित्तीय संस्थामा बचत गरेर बाँकी रकम परिवारको गुजराका लागि आमा जुनालाइ बुझाउने गरेकी छु । राजमिस्त्रीको काम गर्दा पनि रीताका बुबा दुर्गाबहादुर कहिलेकाहीं मात्र घरमा आउँथे ।
चारकोसे जङ्गलबाट दिनहुँ निगुरो टिपेर बिक्री गर्दै आएकी रीताकी आमा जुनाले भनिन्— श्रीमान् सधैं बरालिएर हिँडेपछि उनलाई लाइनमा ल्याउन माइतीले दिएको १० धुर जमिन बिक्री गरेर २ लाख ५० हजारमा सिटी रिक्सा खरिद गरेर दिए । केही समय उनले सिटी रिक्सा चलाए, तर समय बित्दै जाँदा उनी सम्पर्कमा आउन छाडेपछि सिटी रिक्सा घरमै थन्कियो । सिटी रिक्सा थन्किएसँगै परिवारको गुजारा पनि संकटमा पर्यो । जुनाले भनिन्— मलाई चलाउन आउँदैन । घरको अवस्था देखेर रिता आफैले सिटी चलाउन थालेकी हुन् ।