फुलन्देकी आमा मुन्द्रेको कमेडी क्लबमा धेरै जनाबाट रुचाइएकी पात्र हुन् । ठट्यौली पाराका उनका रमाइला भिडियोहरू सामाजिक सञ्जालमा निकै मन पराइन्छ । परम्परागत लिम्बू पहिरनमा अधबैंसे महिलाको भूमिकामा देखिने ती युवा हुन्– भोजपुरका उमेश राई । वैदेशिक रोजगारीबाट फर्किएको दुई वर्षमै उनले नसोचेको माया एवं सफलता प्राप्त गरेका छन् । युवापुस्ताका प्रिय कलाकार उमेश (फुलन्देकी आमा) सँग प्रकाश रानाभाटको जम्काभेट :
के–केमा छ व्यस्तता ?
अहिले नेपाल भित्रका स्टेज कार्यक्रमहरू, गर्दै आएको मुन्द्रेको कमेडी क्लब तथा म्युजिक भिडियोहरूमा व्यस्त छु । बेलाबेला देशबाहिरका कार्यक्रमहरूमा पनि पुगिरहेको हुन्छु ।
पुरुष भएर पनि महिलाको रूपमा चाहिँ किन प्रस्तुत भएको नि ?
कार्यक्रममा केही रोचकता ल्याउन तथा नयाँ प्रयोग गर्ने सोचले महिलाको भूमिकामा देखिएको हो । प्राय: सबैजसो कार्यक्रममा कलाकारहरू आफ्नो वास्तविक रूपमै प्रस्तुत हुन्छन् । केही नौलो र छुट्टै गरौं भनेर फुलन्देकी आमाका रूपमा प्रस्तुत भएको हुँ ।
वास्तविक रूपमा बाहिर हिँड्दा त शुभचिन्तकहरूले चिन्दैनन् होला होइन ?
सुरुसुरुमा चिन्नु हुन्नन्थ्यो । बाहिरतिर देख्दा यो केटा त फुलन्देकी आमाजस्तै रहेछ, त्यस्तै देखिन्छ भनेको सुन्थे । हिजोआज भने धेरैले चिन्नुहुन्छ ।
यो क्षेत्रमा चाहिँ कसरी आउनुभयो ?
नेपाल आइसकेपछि मैले फुलन्देको बाउ र आमा बनेर तयार पारेको भिडियो धुर्मुस दाइले पनि हेर्नुभएको रहेछ । उहाँले भेटम् भन्नुभयो । उहाँसँग भेटेपछि हास्य टेलिचलचित्र ‘गज्जब छ बा’ मा काम गर्ने अवसर मिल्यो । त्यहाँ काम गर्दागर्दै जितु नेपाल दाइसँग भेट भयो । उहाँ कमेडी क्लबको तयारीमा हुनुहुँदो रहेछ । त्यहाँ मैले फुलन्देकी आमाको चरित्रमा काम थाले, जसलाई धेरैले रुचाउनुभयो ।
फुलन्देकी आमाको चरित्रचाहिँ कसरी निर्माण गर्नुभयो ?
हङकङमा बस्ने एकजना दाईले पुर्वेली लवजमा फुलन्देको बाउ बनेर बोलेको अडियो म्यासेन्जरमा पठाइरहनुहुन्थ्यो । मैले त्यसलाई अलि पृथक् तरिकाले फुलन्देको बाउ र आमा बनेर भिडियो तयार पारी फेसबुकमा राखे । त्यो भिडियो धेरैले रुचाए । धुर्मुस दाइले ‘गज्जब छ’ का लागि कुरा गरेपछि मैले त्यो लवजलाई फुलन्देकी आमाका रूपमा प्रस्तुत गरें । त्यो चरित्रका लागि सुहाउँदो पहिरन तथा आनीबानीको विकाससमेत गरे ।
कलाकारितामा आउनुभन्दा पहिले के गर्नुहुन्थ्यो ?
दुई वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएको थिएँ । त्यहाँ म स्टोर किपरको काम गर्थें । त्यहाँ रहँदा पनि म मोबाइलको सहयोगमा सानोतिनो हास्यप्रधान भिडियो निर्माण गर्थें ।
कलाकार बन्छु भनेर कहिल्यै सोच्नु भएको थियो ?
कहिल्यै सोचिन,यदि सोच्थे भने बाहिर किन पो जान्थे र ? नेपालमै कलाकार बन्न मेहनत गर्थे नि, यद्यपि म सानैदेखि अरूले बोलेको नक्कल गर्थे । त्यहीँ बानी नै मेरा लागि सञ्जीबनी साबित भयो ।
तपाईंको लक्ष्य ?
अब कलाकारिताको क्षेत्रमा निरन्तर लागिरहने र यसैमा केही गर्ने सोच छ । यो क्षेत्रलाई आÏनो कर्मले थप उचाइमा पुर्याउन मन छ । आफूलाई निखार्दै कला र कलाकारिताको विकासमा लाग्ने योजना छ ।
अभिनयबाहेक अन्य रुचि के–केमा छ ?
गीत, संगीत तथा सामाजिक कार्यहरूमा पनि रुचि छ ।
तपाईंको पारिवारिक स्थिति के–कस्तो छ ?
बढेको छोरा भएपछि घरपरिवारमा आÏनो भूमिका त निर्वाह गर्नैपर्यो, तर घरमा अहिले ठीकै छ । आमाबुवाले सकेको आफैं गरिरहनुभएको छ । मैले पनि सोचविचार गरेर आÏनो कर्तव्य निर्वाह गरिरहेको छु ।
मासिक आम्दानी कति छ ?
अहिलेसम्म यतिउति भनेर हिसाब–किताब गरेको छैन । जे होस् आफूलाई पुगेको छ । म सन्तुष्ट छु ।
खर्चचाहिँ के–केमा गर्नुहुन्छ ?
लत्ताकपडाको किनमेल तथा साथीभाइ भेटघाटमै खर्च गर्छु । धेरै चाहिँ लत्ताकपडामै
खर्च हुन्छ ।
कलाकारिताबाहेक आम्दानीको अन्य स्रोत पनि छ ?
मुख्य स्रोत नै यहीँ हो । अरू त्यस्तो केही छैन । फुलन्देकी आमा नामको एउटा युट्युब च्यानल छ । त्यसबाट आएको केही पैसाले यताउता गर्न पुग्छ ।
कसैको प्रेम सम्बन्धमा हुनुहुन्छ ?
आजसम्म कसैको प्रेममा परेको छैन ।
प्रस्ताव त आउँछन् होला नि ?
धेरैले प्रस्ताव राख्नुहुन्छ । अहिलेसम्म दोधारमै छु । अबचाहिँ रोज्ने विचारमा छु ।