करुणा कुँवर, मनोविद्
लकडाउनमा कस्ता मानसिक परिवर्तन देखा पर्न सक्छन् ?
अहिले धेरै खालका मानसिक परिवर्तन देखा पर्छन् । व्यक्तित्वमा रहेको फरकपनले पनि यसमा प्रभाव पार्छ । मानिसले आफ्नो मानसिक स्वास्थ्यका बारेमा कसरी बुझेका छन् भन्ने कुराले पनि असर गर्छ । यो अवस्थामा विभिन्न मानसिक प्रतिक्रिया देखिन्छन्, डर र चिन्ता बढी भएको देखिन्छ । आफ्नो र परिवार दुवैको भविष्यबारे एक किसिमको अन्योलता हुँदोरहेछ । डर, चिन्ता बढी त छँदैछ, अहिलेको परिस्थितिसँग मानिसमा रिस देखिन्छ । कतिपयलाई त कोरोना वुहानबाट आएको भनेपछि त्यहाँको जीवनशैली, उनीहरूको मासु खाने तरिका, खानपिनको तरिकासँग पनि मानिस रिस व्यक्त गरिरहेका छन् । कोभिड–१९ संक्रमण भएका देशहरूबाट आएका मानिसप्रति पनि रिस व्यक्त गरेको पाइन्छ ।
मानसिक स्वास्थ्यका दृष्टिले कोरोनालाई कसरी बुझ्ने ?
यो चुनौती संसारभरका लागि हो । त्यसैले यसले हामीलाई के सिकाउन खोजेको छ भनेर सोच्नुपर्छ । हाम्रो सोचाइ कस्तो भइरहेको छ भन्ने पनि मूल्यांकन गर्नुपर्छ । सोच्दा दिमाग र दिललाई सन्तुलित राख्ने अभ्यास आवश्यक छ ।
कतै यो अवस्थाले मानिसको भित्री जीवन कस्तो हुनुपर्छ भनेर बताउन खोजको त होइन ? यतातिर पनि सोच्नु आवश्यक छ । हामी प्रविधिमा हराइरहेका छौं, तर प्राकृतिक स्रोत साधनलाई बेवास्ता गरिरहेका छौं । यसबारे चिन्तन गर्ने बेला हो यो ।
अर्कातिर तथ्यांक हेर्ने हो भने लाखौंको संख्यामा मान्छे संक्रमित भएका छन्, तर मृत्यु हुनेको संख्या हजारौंमा सीमित छ । बहुसंख्यक मान्छेहरू बाँच्न सफल भएका छन्, त्यसलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्छ । बाँचेका बारेमा धेरै नसोची मरेकाबारे धेरै सोच्दा नकारात्मक असर गर्न सक्छ । बाँच्नेहरू सामना गर्न सक्ने शक्ति सुदृढ बनाएर बाँचेका हुन्, आत्मबल बलियो बनाएर बाँचेको हुन् भन्ने तथ्य मनन गर्नुपर्छ ।
एक विदेशी साथीसँग कुरा भएको थियो, उहाँ कोरोना लागेर अहिले ठीक भइसक्नुभएको छ । होम क्वारेन्टाइनमै बसेर उहाँ ठीक हुनुभएको थियो । त्यसबारे सोध्दा उहाँले भन्नुभयो– ‘यो अरुजस्तै फ्लू हो, त्यसैले अरू बेला फ्लू हुँदा जति केयर गर्थें, त्योभन्दा दोब्बर गर्नुपर्छ भन्ने सोचेँ । दैनिक तातोपानी पिउने, बाफ लिने र सुप खाने गर्न थालेँ । आराम गर्ने समय दोब्बर बनाइ दिएँ । फोन अफ गरेँ । त्यो अवधिमा म धेरै सुतेँ ।’ यसरी गम्भीर भएर ख्याल गरे रोगलाई जित्न सकिने रहेछ भन्ने सोच्न सकिन्छ ।
समग्रमा आत्मबल बलियो बनाउनुपर्छ भन्न खोज्नुभएको हो ?
हो, मेरो साथीले आत्मबल बलियो बनाउनुभयो, आफूलाई विश्वास गर्नुभयो । अरू बेला फ्लुलाई जितेको उदाहरण पनि उहाँसँग थियो । तर, उहाँले अनुभवमा योचाहिँ अलि कडा थियो– टाउको बेस्सरी दुख्ने, खोकी लाग्ने र श्वास–प्रश्वासमा गाह्रो हुने । तर, उहाँले यसलाई पनि जित्ने शक्ति मसँग छ भन्ने सोच्नुभयो । त्यही आत्मविश्वासले उहाँ निको हुनुभयो । त्यसकारण हामीले अहिले आफ्नो आत्मबललाई एकदमै बलियो बनाएर जसरी अरू फ्लूलाई जित्न सक्थ्यौ, त्यसरी नै यो भाइरससँग पनि गर्न सक्छौ भन्ने खालको आत्मविश्वास लिन एकदमै जरुरी छ ।
मानसिक रूपमा फूर्तिलो रहन के गर्ने ?
शारीरिक स्वास्थ्य त एकातिर छँदैछ, मानसिक रूपमा पनि स्वस्थ रहनु आवश्यक छ । शरीर त्यतिबेला पूर्ण स्वस्थ हुन्छ, जब हामी मानसिक रूपमा स्वस्थ हुन्छौं । त्यसैले चिन्ता, डर र त्रासबाट बाहिर निस्कन दैनिक क्रियाकलापमा ध्यान पुर्याउनु पर्छ । जस्तै, घरमै बस्दा कति धेरै छुटेका कुराहरू होलान्, गर्न मन लागेका, खान मन लागेका, पढ्न मन लागेका कुरा होलान्, ती कुराहरू गर्न सकिन्छ ।
अहिलेको समयमा एकदम महत्वपूर्ण कुरा आफ्नो परिवारभित्रको ‘बन्डिङ’ पनि हो । परिवारसँग बस्न, कुरा गर्न भ्याइएको थिएन होला । यही बेला परिवारका सदस्यसँगको ‘बन्डिङ’ बलियो बनाउन सक्नुहुन्छ । त्यसैगरी सुत्नुअघि आज दिनभरि मैले तीनवटा राम्रो व्यवहारहरू के–के गरेँ होला भन्ने सोच्दा यसले राम्रो कुरा गर्नेतिर प्रेरित गर्छ ।
भनेपछि यस्तै कुराले मानसिक स्वास्थ्य राम्रो बनाउन भूमिका खेल्छन् ?
शारीरिक अभ्यास गर्न चाहनुहुन्न भने पनि श्वास–प्रश्वासको अभ्यास गर्नु राम्रो हो । एक्सरसाइज गर्दा झनै राम्रो । नभए पनि घरको तलमाथि गर्न सकिन्छ । बरन्डा र गार्डेन निस्केर प्रशस्त हावा लिने गर्नुपर्छ । घरलाई पनि पूरै भेन्टिलेट गर्नु आवश्यक छ, हावा आउन जान दिने बनाउनु जरुरी छ । सरसफाइमा ध्यान दिनुपर्छ ।
सफा तन्नासहित सफा बेडमा सुत्दा मानसिक रूपमा एकदमै सफा भएको महसुस हुन्छ । त्यसैले स–साना कुरामा ध्यान दिनुपर्छ । जस्तो, पहिले हतार–हतार नुहाइन्थ्यो भने अहिले १ घण्टा लगाएर बिस्तारै नुहाउन सकिन्छ । यस्ता खालका विभिन्न टिप्स हुन सक्छन् । स्किनको केयर गर्न सकिन्छ, नङको केयर गर्न सकिन्छ । धेरै त्यस्ता कुराहरू छन्, जसलाई हामीले सोच्यौं भने अवसर बन्न पुग्छ ।
जहिले पनि बेफुर्सदिलो र दौडिरहने मान्छेका लागि त अहिलेको यो समय आराम गर्ने र घरै बस्ने मौका पनि हो ।
घरैभित्र बसेर अरू के गर्न सकिन्छ ?
घरैभित्र बसेर एउटा सानो सन्देश कसैलाई दिँदा पनि सहयोग हुनसक्छ । जस्तो, सँगैको छिमेकीलाई तपाईं आज कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ, ठीक हुनुहुन्छ भनेर हालचाल सोध्न सकिन्छ । के खाँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ सोधेर उनीहरूको ख्याल राख्ने र खबर साटफेर गर्न सकिन्छ ।
छिमेकीलाई कौसीबाटै ‘हेलो, नमस्ते’ गर्नु पनि सामाजिकीकरण पाटो हो । अलि टाढैबाट भए पनि म तपाईंलाई सम्झिरहेछु, केही पर्यो भने म तपाईंहरूको साथ छु भनेर ढाडस दिनुपर्छ । किनभने कतिपय मानिसहरूलाई यतिबेला यस्तो एन्जाइटी डिसअर्डर छ । यतिबेला मलाई केही पर्यो भने कोही आउन सक्दैनन् होला, कसैले छुँदैनन् होला, म त यस्तै मर्छु होला भन्ने खालका कुरा सोचिराखेका हुन सक्छन् । त्यसैले फोनबाट आफन्त र नजिकका साथीलाई मात्रै होइन, छिमेकीलाई पनि तपाईंलाई केही पर्दा म छु, जोखिम मोलेर भए पनि बचाउने प्रयास गर्छु भन्ने ढाडस दिन जरुरी हुन्छ । आफ्नो वरपरका मानिसहरूमा हामी एकअर्कासँगै छौं भन्ने आभाष गराउनु पर्छ । आत्मसुरक्षाका लागि छुट्टा–छुट्टै घरमा लकडाउन भएर बसेका हौं, यसको मतलब हामी एकअर्कासँग नभएको चाहिँ होइन भन्ने खालका सन्देश दिनु अति आवश्यक छ ।
सेल्फ क्वारेन्टाइनमा रहँदा दिनहरू कसरी बिताउन सकिन्छ ?
हरेक उमेर समूहको विभिन्न खालका छनोट हुनसक्छ । महिलाको अर्कै होला, पुरुषको अर्कै होला । तर, अहिले चाहिँ दिन कटाउने भनेर सोच्नुभयो भने केही पनि गर्न सक्नुहुन्न । दिनलाई कसरी प्रयोग गर्ने भन्ने सोच्नुपर्छ । हामी कहिलेकाहीँ समय कसरी ‘किल’ गर्ने भनेर सोच्छौं, मेरो विचारमा यो अपराधजस्तै हो । हामीले समयलाई कसरी सदुपयोग गर्ने भनेर सोच्नुपर्छ । केटाकेटीहरूसँग खेल्ने, उनीहरूको कुरा सुनिदिने, उनीहरूलाई प्रोत्साहित गर्ने कुरा गर्न सकिन्छ । केटाकेटीहरूले समय सदुपयोग गर्ने कुराहरू प्रशस्त छन् । ठूला मान्छेले आफैं पकाउने, घरको सरसफाइ गर्ने, प्रशस्त मात्रामा रेष्ट गर्ने, अफिसको काम घरबाटै गरिरहेको छ भने त्यो गर्ने, स्काइप बैठकहरू गर्ने, समयमा खाना खाने, समयमा सुत्ने र सुत्नुअघि त्यस दिन गरेका तीन राम्रा कामहरूबारे समीक्षा गर्ने, फिल्म हेर्ने, किताब पढ्ने, लेखहरू पढ्ने, मनपर्ने खेलहरू खेल्ने कामहरू गर्न सक्छन् । यो समय प्रशस्त आराम गर्ने र सुत्ने समय पनि हो । पानी एकदमै पिउनुपर्छ । खाना पकाएर समयमा खाने कुराले पनि उत्तिकै महत्व राख्छ । परिवारसँग कुराकानी गर्ने, हाँस्ने, जोक भन्ने गर्नुपर्छ । सम्बन्ध बलियो बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।
यो बेला दैनिक तालिकालाई अनुशरण गर्नुपर्छ । समयलाई उत्पादक बनाउनेतिर सोच्नुपर्छ । जतिखेर पनि स्क्रिनमा बस्ने र मोबाइलमा मात्रै झुण्डिने गर्नु हुन्न । यसले दिमागलाई ‘डल’ बनाउँछ । अनुत्पादक र एग्रेसिभ बनाइदिन्छ । परिवारसँगको घुलमिल यो बेला निकै महत्वपूर्ण कुरा हो । कतै नगई घरमा बस्ने समय भविष्यमा नआउन पनि सक्छ । त्यसैले यो समयलाई कसरी मूल्यवान बनाउने भन्ने कुरा एकदमै महत्वपूर्ण छ ।
दैनिक जनजीवनका सवालहरूले पनि धेरै मानिसलाई हतोत्साहित बनाइरहेको छ नि ?
एकदमै महत्वपूर्ण कुरा हो यो । र, ठूलो चुनौती पनि । आर्थिक रूपमा अप्ठ्यारोमा परेका, दैनिक कमाएर किनेर खानुपर्ने व्यक्तिहरूका लागि झन् ठूलो चुनौती छ । यसमा राज्यका निकायहरूले पनि सोच्नुपर्छ । मानसिक रूपमा बलियो हुनुपर्छ भन्दाभन्दै पनि आधारभूत कुराहरू झन् महत्वपूर्ण छन् । गाँस, बास र आवास एकदमै अत्यावश्यक कुरा हुन् । यस्ता कुराहरूमा सरकारका तर्फबाट केही सम्बोधन हुनुपर्छ । तथापि यस्तो अवस्था सधैं रहिरहने होइन, त्यसैले आफूलाई बलियो बनाइरहन आवश्यक छ । यतिबेला अलिकति धैर्य धारणा गर्यौं भने पछाडि सहयोग हुन सक्छ नै भन्ने ठान्नुपर्छ । अहिले गाँसबासमै अप्ठ्यारो पर्दा स्थानीय तहले सहयोग गर्ने भनिएको छ । त्यसैले वडा कार्यालयको सम्पर्कमा पनि बस्नुपर्छ । यसमा विभिन्न पालिकाहरूले क्रियाशील भएर काम गर्नुपर्छ ।