समकालीन नेपाली संगीतमा कहलिएको नाम हो– राजेशपायल राई । देश–विदेशमा आयोजना हुने कन्सर्टमा धेरै व्यस्त हुने गायकको सूचीमा उनको नाम अग्रस्थानमा आउँछ । कोरोना महाव्याधिका कारण दुई महिनायता उनी कतै यात्रामा छैनन् । महामारीलाई उनले आफ्नै जीवनतिर फर्केर हेर्ने मौकाका रूपमा लिएका छन् । राईसँग अनिल यादवले गरेको कुराकानी :
स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त भइरहने तपाईंलाई घरभित्रै थुनिएर बस्न कति सहज भइरहेछ ?
म ठूलो महत्वाकांक्षा बोकेको मान्छे होइन । यद्यपि स्टेजमा चढ्दा पाइने दर्शकको हुटिङ अर्थात् प्रेम, आलोचनाजस्ता कुरा घरमा थुनिएर बसिरहँदा ‘मिस’ हुने रहेछन् । दिग्दारी हुने रहेछ । हामीहरू सोच्थ्यौँ– जीवनमा बसीबसी खान पुगोस् । हामीहरू चाहन्थ्यौँ– धेरै किचकिच सुन्नु नपरोस्, एकान्तमा बस्न पाइयोस् । तर, त्यस्तो नहुँदो रहेछ । दुई महिना बढी घरमै समय बिताइसकेपछि मलाई महसुस भयो, यसरी सकिँदैन रहेछ । बोरिङ त महसुस हुने नै रहेछ ।
महामारीले जीवनप्रति तपाईंको दृष्टिकोणमै परिवर्तन ल्याइदिएको हो ?
हो, खासमा हामी केही पनि होइन रहेछौँ । बस्, जीवनको रंगमञ्चमा एउटा भूमिका निर्वाह गरिरहेको पात्र रहेछौँ । हामी धेरै स्वार्थी भइसकेका रहेछौँ । आज मैले परिवार सम्झिएको छु । पापा, ममीसँग कुरा गरिरहेका रहेछौँ । साथीभाइसँग अन्तरक्रिया गरिरहेको छु । नत्र त हामीले हाम्रो संस्कार भुल्दै गइरहेका रहेछौँ । खाली घमण्डमा बाँचिरहेका रहेछौँ । मभन्दा ठूलो कोही छैन, मभन्दा राम्रो केही छैन भन्ने भ्रममै बाँचिरहेका रहेछौँ । र, मलाई लाग्छ यो महामारीले हामी आफैले ‘हामी को हौँ’ भनेर हाम्रो असली चरित्र ऐनामा हेर्ने मौका दिएको छ ।
तपाई आफूलाई भाइरलको पछि लाग्ने कलाकार होइन भन्नुहुन्छ । तर, अनेक गतिविधिका कारण भाइरल भइरहनुहुन्छ नि ?
ठीक भन्नुुभयो । खासमा मलाई भाइरल हुनु राम्रो लाग्दैन । तर, मैले बोलेका, गरेका र लगाएका चिज भाइरल भइदिन्छन् । मभित्रको पवित्रता र सद्गुणहरू कहिल्यै भाइरल भइदिएनन् । कहिलेकाँही त यस्तो लाग्छ, यो दुनियाँ खासमा बाह्य आकर्षणमै रमाउने रहेछ ।
मान्छेहरू राजेश पायललाई बेच्न मात्रै खोज्छन् भन्नुभएको हो ?
त्योभन्दा पनि मान्छेहरूले मलाई चिनेनन् कि भन्ने हो । मेरो परिश्रम र क्षमताभन्दा बढी अरु नै कुरामा ध्यान दिइयो कि ? यहाँ मान्छेहरूलाई चर्चित र महान् एउटै–एउटै लाग्छ । तर, म भन्छु, चर्चित हुन धेरै सजिलो छ, महान् हुन धेरै गाह्रो छ ।
लकडाउनले आत्मसमीक्षा गर्ने मौका दिएको त भन्नुभयो । आफै चाहिँ कहाँ चुकेको पाउनुभयो ?
जीवनमा मान्छेलाई आत्मग्लानी हुनैपर्छ । यो प्रगति र सफलताको संकेत पनि हो । आत्मसमीक्षाका क्रममा मैले महसुस गरेको सबैभन्दा ठूलो कुरा हो, मभित्र स्वार्थीपना निकै बढेको रहेछ । इमान्दार भएर भन्नुपर्दा सफलताको मातले म निकै घमण्डी भइसकेको रहेछु । जन्मँदा कोही पनि मान्छेले फरक–फरक मस्तिष्क लिएर आएको हुँदैन । सबै शून्य अवस्थामै आएका हुन्छन् । ज्ञानको वृद्धि त हाम्रै संघर्ष, अध्ययन र भोगाइले गराउने रहेछ । म अहिले यो सब महसुस गर्दैछु ।
आफ्नो सांगीतिक करिअरलाई फर्केर हेर्दा के पाउनुभयो ?
सबैभन्दा धेरै गीत गाएको छु । धेरै चलचित्रका गीत गाएको छु । देशविदेश घुमेको छु । नेपालका अत्यन्तै विकट ठाउँमा पुगेको छु, कन्सर्टका लागि । यो लामो यात्रालाई फर्केर के हेर्दा लाग्छ, हामीले मानवता भुल्दै गयौँ कि ! मैले गर्न सक्ने ठाउँ अझै धेरै थिए । मैले पक्कै आफ्नो क्षमतालाई दुई दुना चार बनाउन सकिनँ कि भन्ने पनि लाग्छ । आमश्रोताले मलाई नकोट्याइदिएका कारण, नघच्घचाइदिएका कारण, खाली राम्रैभन्दा भन्दिएका कारण यस्तो भयो कि भन्ने लाग्छ । यस बीचमा मैले आफैले कन्सर्टमा दिएको प्रस्तुति हेरेँ, कतिमा बेसुुरा गाएछु, कतिमा शब्दै भुलेछु, कतै निकै हाउडे भएछु । तर, मेरा प्यारा प्रशंसकहरूले मेरो हात हल्लाइमा पनि सधैँ राम्रै देख्नुभयो । तर, बिग्रन सक्ने सम्भावना यसमै थियो । यही कारण सायद मैले मेरो गोरुको बाह्रै टक्कामात्रै ठानेँ कि ! मभित्र म बाहेक अरु कोही खतरा सिंगर छैन भन्ने अहंम पनि यही कारण पलायो कि !
कति गीतहरू पैसाकै लागि, कति कलाका लागि गाइयो भन्ने लाग्छ ?
मैले संगीतमा गहिरो अध्ययन राख्नेदेखि हात बजाएरै, टेबल ठटाएरै संगीत सिकेकाहरूसम्म सबैसँग काम गरेछु । मैले नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङजस्ता अग्रजहरूसँग पनि काम गरेछु, अनि अहिले आएर गितार र हार्मोनियम पनि बजाउन नआउने, चुट्कीमा काम गर्नेहरूसँग पनि काम गरेछु । तर, संगीत भावना हो भन्ने बुझाइका कारण मैले कसैलाई पनि कहिल्यै होच्याइनछु, अपमान गरिनछु । त्यहीकारण मेरो करिअरमा मैले सम्बन्धहरू धेरै कमाएँछु ।
गायनमै व्यस्त भएर बिहे गर्न भ्याउनु भएन कि भन्न मिल्थ्यो । अहिले लामो समय घरमा एक्लै बसिरहँदा जीवनसाथी भइदिए भन्ने लागेन ?
मैले जिस्केर स्टाटस पनि लेखेको थिएँ– यदि मेरो बिहे भएको भए यो लकडाउनमा मेरो जुम्ल्याहा सन्तान हुने रहेछन् । खासमा म ‘ट्विन्स लभर’ हो । मेरो चाहनाभित्रको पराकाष्ठा चाहनामा पर्छ यो । कतिपय युवतीहरूसँग बिहे र प्रेमलाई लिएर कुरा चल्दा ‘तपाईं जुम्ल्याहा पाउन सक्नुहुन्छ’ भनेर जिस्किन्छु पनि । यति भनिरहँदा मैले जीवनसाथीको अभाव महसुस गरेँ भन्ने चाँहि होइन है । खासमा मलाई एक्लै जिउने बानी भइसकेको रहेछ । विदेश जाँदा होस् या यतै, प्रायः म एक्लै समय बिताइरहेको हुन्छु । यद्यपि कहिलेकाँही घरमा मान्छेहरू नहुदा– अरे, कोही पनि आएनन् त भन्ने चाहिँ भयो ।
प्रशंसकहरूलाई ‘चाँडै बिहे गर्छु’ भन्दै आश्वासन दिएको लामै समय भइसक्यो । अब त तपाईंलाई ढँटुवा भन्न थालिसके नि ?
त्यस्तो होइन (हाँस्दै) । बिहे त गर्छु नै । हाम्रो यो सामाजिक संरचनाभित्र बाँधिने मन त छ नै । हेरौँ, कहिले जुर्छ ।
लकडाउनले त तपाईलाई ‘कुक’ पनि बनाएछ है ?
हो, म खाना पकाउन नजान्ने मान्छे, लकडाउनले भान्साभित्र छिराइदियो । यही बेला मैले किराती तरकारी किनिमा पकाउन सिकेँ । आफैले पकाएर होला, मिठै लाग्यो ।
कोरोना महाव्याधिपछि नेपाली संगीतमा केही परिवर्तन आउँला ?
पक्कै पनि महामारीले धेरै कुरा सिकाएर जानेछ । फिल्म, संगीत, व्यापार सबै क्षेत्रमा यो महामारीले अपनत्व दिएर जान्छ भन्ने लाग्छ । मेरो गीतसंगीत मेरो माटोकै हुनुपर्छ भन्ने अवस्था आउँछ र मौलिक गीतसंगीत उत्पादनमा वृद्धि होला भन्ने लाग्छ । आज मान्छेहरूले मादल, सारंगी बजाउन नै बिर्सिसकेको अवस्था छ । म पनि मेरो आगामी एल्बमहरूमा मौलिक स्वादकै गीतसंगीत प्रस्तुत गर्छु होला भन्ने लाग्छ ।
यो माहामारीले स्टेज कार्यक्रम र म्युजिक भिडियो निर्माणमा लामो समय प्रभाव पार्ने देखिन्छ नि ?
हो, यसले निम्ताउने आर्थिक नोक्सानी अनगिन्ति छ । अहिले नै यसको लेखाजोखा गर्न सकिँदैन । यद्यपी निराश भइहाल्नुुहुँदैन । आशा गरौँ, चाँडै अवस्था समान्य हुनेछ । त्यसपछि हाम्रै नेपाली माटोका गीत बन्नेछन् र हामीले व्योहोरेको नोक्सानको क्षतिपुर्ति फेरि भरपाई हुनेछ । यति भन्दाभन्दै महमारीकै प्रभावका कारण धेरै कलाकार र प्राविधिक पलायन हुने अवस्था छ । उनीहरूलाई यही क्षेत्रमा रहिरहनका लागि हामीले राहत संकलन गरेर हुन्छ या अरु नै केही, प्रोत्साहन गर्न जरुरी छ ।
जाँदाजाँदै एउटा प्रश्न सोधिहालौँ– अहिलेको राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?
मलाई त हाँस उठिरहेको छ । मलाई लाग्छ, देशले यस्तो विपत् भोगिरहेका बेला उहाँहरू (नेताहरू) मजाक गरिरहनुुभएको छ । एउटा राजनीतिज्ञलाई यसरी यस्तो संकटको बेला मजाक गर्न शोभा दिँदैन । यतिखेर सरकार महामारीलाई भुलेर अन्य कुरातिर ध्यान दिने, पार्टी बनाउन अग्रसर हुने बेला होइन । मानव जीवन नै संकटमा परेको यो घडीमा सबै एकजुट भएर मानवियताको पक्षमा उभिनुको विकल्प छैन ।