जेष्ठ ३२, २०७३
मृत सागर,
तँ आफ्नै जीवनको अपेक्षामा उर्लन्छस्
म मेरो मर्म र पीडा ओकल्न
आफ्नो बैंस र रहरहरूमा उर्लन्छु
भलै तेरो गन्तव्य बालुवाको धारमा हराउने गर्छ
म भावनाको चेतनामा आफूसँग खुसी साट्ने गर्छु
तैपनि ममा कुनै कमी छैन
भावना नै सही
म सधैँ आफ्नो खुसीमा नै मस्त छु
जसरी प्रचुर जवानीका युगलहरू रमाईरहन्छन् ।
मृत सागर,
तँ मरेको नाम लिएर पनि
सधैं जीवन्त छस्
त्यसरी नै म पनि
आफ्नो स्थान र वर्चस्वमा
हजारौं पीडा खेपेर पनि
समयसँग पौंठेजोरी खेल्दै
यस संसारलाई मुटुभरि सजाएर
प्रेमको फूल फुलाउँछु
त्यो पनि
कहिल्यै नओइलाउने गरी ।