धेरैलाई लाग्दो हो- पर्याप्त समय हुने हो भन कति लेख्थेँ हुँला भन्ने लेखकहरूलाई कोरोना संक्रमणका कारण भएको लकडाउन अवसर बनेको हुनुपर्छ । तर लेखकहरूले भने यो सन्त्रासका कारण आफूलाई सिर्जनामा केन्द्रित बनाउनै सकिरहेका छैनन् ।
आख्यानकार नयनराज पाण्डेले लकडाउनको समय सिर्जनामा भन्दा फिल्म हेर्न उपयोग गरिरहेका छन् । उनी दिनको एउटा कमेडी फिल्म हेर्छन् । उनकै भाषामा भन्ने हो भने लकडाउनका कारण ‘लक’ भएको दिमागलाई कमेडी फिल्ममार्फत ‘रिलिज’ गर्दैछन् । यसबाहेक उनी इरानी र अंग्रेजी फिल्म पनि हेर्छन् । फिल्मबाट बचेको समयमा पुस्तक पढ्छन् । ‘सबैभन्दा बढी फिल्म हेर्ने र त्यसपछि पढ्ने काम भइरहेको छ । अहिले नै नयाँ किताब ल्याउने योजना नभएकाले लेखनमा त्यति धेरै समय खर्चिएको छैन । फेरि यस्तो बेला लेख्ने मुड पनि आउँदैन’, उनले सुनाए । उनी २५–३० वर्षअगाडिका क्लासिक किताब पढ्दै छन् ।
सामान्यतः सोचिन्छ– लकडाउनका बेला लेखकलाई लेख्ने समय पर्याप्त भएको छ । सामान्य अवस्थामा व्यस्त दैनिकी भएका लेखकलाई पनि लकडाउन अवसर बनेको हुनुपर्छ । तर यथार्थ फरक छ, यतिबेला प्रायः लेखक लेख्नभन्दा पढ्नमा नै बढी व्यस्त छन् । स्वाभाविक हो, विश्व नै कोरोना संक्रमणको सन्त्रासमा रहेको र नेपालमा पनि दिनप्रतिदिन संक्रमितहरु थपिँदै गएको अवस्थामा प्रायः लेखक सिर्जनामा केन्द्रित हुन सकेका छैनन् । आख्यानकार पाण्डेको भनाइबाट पनि यही पुष्टि हुन्छ ।
साहित्यकार झमक घिमिरेलाई त लकडाउनपछिका दिन कसरी बितिरहेका छन्, आफैँलाई थाहा छैन । यसको अर्थ हो– लकडाउनको समयमा उनको मन सिर्जनात्मक कार्यमा रमाएको छैन । ‘आजभोलि पुस्तक पढ्दै छु । विशेषगरी बिपी कोइरालाका सबै पुस्तक पढिसक्ने योजना छ’ उनले सुनाइन् । सामान्य अवस्थामा प्रायः घरमै लेख–पढ गरेर दिन बिताउने उनले अहिले लेखनमा भने मन लगाउन सकेकी छैनन् ।
लेखकहरूको कुरा सुन्दा लाग्छ– उनीहरू एकप्रकारको द्वन्द्वमा रुमलिएका छन् । भावना र कल्पना लेख्ने कि वर्तमान परिवेशलाई चित्रण गरेर लेख्ने । नभन्दै लेखक अभि सुवेदीले आफूमा त्यस्तो द्वन्द्व देखा परेको सुनाए । उनले लकडाउनको समयलाई नयाँ सिर्जनाको काममा सदुपयोग गर्ने सोच बनाएका थिए । तर अनेक प्रयासका बाबजुद पनि त्यसो गर्न सकेनन् । भन्छन्, ‘अब बल्ल मैले फुर्सद पाएँ, मज्जाले लेख्छु भनेर नाटक लेख्न थालेको, सकिनँ । कल्पनामा लेख्ने कि अहिलेको अवस्थालाई चित्रण गरेर लेख्ने भन्ने कुराले पिरोलिरह्यो र लेख्दालेख्दै बिट मारेँ ।’ कोरोना संक्रमणले नेपालमा पारेको असर र देशको बिग्रँदो अवस्थाले सताइरहँदा निराशा र दिक्दारीले सताएको उनी बताउँछन् । त्यसैले उनी नयाँ सिर्जनाको काम रोकेर बाँकी रहेका आफ्ना पुराना काम पूरा गर्न लागेका छन् ।
आख्यानकार अमर न्यौपाने पनि यो समयलाई लेखनभन्दा पठन कार्यमै खर्चिरहेका छन् । ‘मसँग थुप्रै लोक–संस्कृतिसम्बन्धी किताब थिए, पढ्न समय पाइरहेको थिइनँ’ उनी भन्छन्, ‘अहिले त्यसको पोको फुकाउने काम भइरहेको छ ।’ उनी डोटी, अछाम, ताप्लेजुङको संस्कृति, किराँत, लामा समुदायको धार्मिक तथा सांस्कृतिक इतिहास, पुराण र पूर्वीय दर्शनसम्बन्धी किताबहरू पढ्दै छन् । ‘पढ्दा निकै आनन्द आइरहेको छ’ उनी भन्छन्, ‘दिनमा ५–६ घन्टा कति छिटो बित्छ, पत्तै हुँदैन ।’ जाति, भाषा र संस्कृतिका नयाँ कुरा बुझ्न पाउँदा आनन्द आइरहेको र पुराना संस्कृतिलाई साहित्यमा कसरी समावेश गर्ने होला भनेर सोचिरहेको उनी बताउँछन् ।
आख्यानकार शिवानीसिंह थारू देशको स्थिति र राजनीतिले निराश बनाएका कारण कथा, कविता, निबन्ध या उपन्यासजस्ता नितान्त साहित्यिक लेखनमा आफ्नो खासै मन नगएको बताउँछिन् । त्यसैले उनी देशको अवस्था, कोरोना संक्रमण र लकडाउनले निम्त्याएको परिस्थितिका विषयमा यससँग सम्बन्धित सामग्री अध्ययन गरिरहेकी छन् । यस विषयमा उनले कलम पनि चलाइरहेकी छन् । साप्ताहिकसँग कुरा गर्दै उनले भनिन्, ‘राजनीतिक हिसाबले यतिबेला जनतामा निराशा छाएको छ । त्यसैले लेखनमार्फत राजनीतिलाई प्रश्न सोध्नुपर्छ भन्ने लागेर केही लेख्दै छु ।’ लकडाउनको अधिकांश समय भने उनी पुस्तक पढेर नै बिताइरहेकी छन् । उनी पुस्तक पढ्नुलाई मुटुको धड्कन र रक्तसंचारसँग जोडेर हेर्छिन् । भन्छिन्, ‘त्यसैले पुस्तक नपढी त म बस्नै सक्दिनँ ।’
कवि मनु मन्जिल अहिलेको अवस्था ‘समयले अर्बपति, कामले कंगाल’ भनेजस्तो रहेको तर्क गर्छन् । भन्छन्, ‘कहाँ कतिलाई कोरोना लाग्यो, कहाँ कति मरे, देशमा यस्तो भयो, उस्तो भयो भनेर सूचनाहरू आइरहन्छ । यसले भावना र रचनामा असर पुर्याउँदोरहेछ ।’ प्रवेश गर्ने ठाउँ भनेको भान्सा वा अध्ययन कोठा भएकाले त्यहाँबाट भावना ‘बुस्ट’ नहुने र त्यसले रचनात्मक लेखनमा असर पुर्याउने उनी बताउँछन् । मन्जिल थप्छन्, ‘हेर्नुस् न, अहिले कसैले रोचक र सुन्दर सिर्जना गरेकै सुनिएको छैन । ध्यान एकाग्र हुन नसकेपछि कसरी नयाँ सिर्जना गर्नू ?’ उनी आफूले बिहान ११ बजेसम्मको समय विभिन्न पुस्तक पढेर बिताउने गरेको बताउँछन् । त्यसपछिको समय लेख्ने प्रयासमा बिताउँछन् । भन्छन्,‘तर, २–३ हरफभन्दा बढी लेख्ने सकिरहेको छैन ।’