यसअघि अभ्यास भए पनि निरन्तरता पाउन नसकेको इ–बुक सेवा लकडाउनको सन्दर्भमा फेरि सुरु भएको छ ।
गातावाल किताब किन्दा ४ सय २५ पर्ने दुर्गा कार्कीको कथा संग्रह ‘कुमारी प्रश्नहरू’को इबुक किन्न पाइन्छ थुप्रै डटकममा । जसमा मूल्य छ– ९५ रुपैयाँ । इ–बुकको मूल्य कम त छँदैछ, पसल धाउनुपर्ने समयको बचत र बोकेर हिँड्नु पनि नपर्ने । विश्वकै जुनसुकै ठाउँमा पनि उपलब्ध हुने ।
इन्टरनेटको प्रयोगले आफ्नो मोबाइल वा कम्युटरमा चाहेका पुस्तक पढ्न पाइने इ–बुक विश्व पुस्तक बजारमा लोकप्रिय छ । अमेजनको किन्डलजस्ता इ–बुक एपले नेपालसम्म प्रभाव पारेकै छ । तर, नेपालमा भने पटक–पटक स्थापना भएका इ–बुक प्ल्याटफर्मले दिगो रूपमा सेवा दिन सकिरहेका छैनन् ।
७ वर्षअघि ‘पाण्डुलिपि बुक्स’ नामक प्ल्याटफर्मले नेपालमा इ–बुक चर्चामा ल्यायो । यसले नेपाली साहित्यको बजारीकरणमा नयाँ आयाम थप्ने आँकलन धेरैको थियो । तर, यो लामो समय टिकेन ।
नेपाल बाहिर बस्ने र नेपालमै रहेका पाठकलाई पनि छिटो र सस्तो मूल्यमा पुस्तक उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेको ‘पाण्डुलिपि बुक्स’का संचालकमध्येका एक रोशन शेरचन बताउँछन् । उनी भन्छन्, ‘धेरैले प्रशंसा गर्नुभएको थियो । प्रगति पनि सन्तोषजनक थियो । तर, प्राविधिक कारणले गर्दा सेवा बन्द गर्नुपर्यो ।’
पिडिएफ फाइल नै पढ्न मिल्ने व्यवस्थाका कारण सुरक्षामा चुनौती आएपछि आफूहरू पछि हट्नुपरेको अर्का सञ्चालक दीपक कथित बताउँछन् । ‘एउटा पुस्तक १०–२० जनाले डाउनलोड गरेर पढिरहेका थिए’ कथित भन्छन्, ‘तर, पिडिएफ फाइल नै डाउनलोड हुने व्यवस्थाका कारण त्यसको दुरुपयोग हुने समस्या आएपछि हामी पछि हट्नुपर्यो ।’ उनीहरूले समस्या समाधानको प्रयास नगरेका पनि होइनन् । उनीहरूले किन्ने व्यक्तिको डिभाइसबाट मात्र पढ्न सकिने, एप्लिकेसनलाई प्रयोगकर्ता मैत्री बनाउने र पेमेन्ट सिस्टम चुस्त बनाउने प्रयास गरेका थिए, तर सफल हुन सकेन । प्राविधिक टोलीलाई समस्या हल गर्न दिएको ६ महिनासम्म पनि काम नभएपछि पछि हट्नुपरेको कथितको भनाइ छ ।
‘पाण्डुलिपि बुक्स’मा नयाँ र पुराना गरी सयभन्दा बढी पुस्तक थिए । झन्डै डेढ लाख पटक डाउनलोड गरिएको थियो, लेखक र प्रकाशन गृहलाई रोयल्टीसमेत दिइएका थियो । साहित्यकार राजन मुकारुङ ७ वर्षअघि ‘पाण्डुलिपि बुक्स’ले फोन नै गरेर आफूलाई ३ हजार हाराहारी रोयल्टी दिएको स्मरण गर्छन् ।
कवि एवं निबन्धकारसमेत रहेका शेरचन ‘पाण्डुलिपि बुक्स’ र त्यसपछि खुलेका प्ल्याटफर्मले निरन्तरता पाउन नसक्नुमा नेपालको सन्दर्भमा इ–बुकमा पाठकको रुचि कम हुनु, पठनमा सक्रिया पुस्ता प्रविधिमैत्री नहुनु र प्राविधिक समस्या देखिनु मुख्य कारण रहेको बताउँछन् । ‘पाण्डुलिपि बुक्स’भन्दा २ वर्ष पहिल्यै नेपालय पब्लिकेशनले मुन्चा डटकमसँग मिलेर इ–बुक सेवा सुरु गरेको थियो । त्यसले पनि गति लिन सकेको थिएन । पछि आएको ‘वी रिड’ को पनि खासै प्रभावकारिता देखिएन ।
केही प्रकाशन गृहले आफ्नै साइटमार्फत इ–बुक सेवा सुरु गरे । रत्न पुस्तक भण्डार त्यसैमध्ये एक हो । रत्नले अहिले पनि इ–बुक बिक्री गर्दै आइरहेको छ । तर पाठक सीमित छन् । एउटा प्रकाशन गृहले संचालन गरेको इ–बुक प्ल्याटफर्ममा अन्य गृह नजोडिँदा पनि बजार विस्तारमा समस्या देखिएको छ । यसैबीच इ–बुक बिक्रीको लक्ष्य राखेर सेवा सुरु गरेको छ –थुप्रै डटकमले ।
थुप्रैले थप्ला नयाँ आयाम ?
थुप्रै डटकमले विभिन्न प्रकाशनका ८० भन्दा बढी पुस्तक समावेश गरेर सेवा सुरु गरेको छ । कोभिड–१९ को महामारीका कारण भइरहेको लकडाउनमा घरमै बस्न बाध्य पाठकलाई लक्षित गरेर सुरु गरिएको सेवाको प्रारम्भिक कारोवार सन्तोषजनक रहेको संचालक राजु गोतामे बताउँछन् । लकडाउनमा नेपालकै सन्दर्भमा पनि इ–बुकको औचित्य र आवश्यकता पुष्टि भएको उनको बुझाइ छ । उनी भन्छन्, ‘योजना पहिल्यैदेखि थियो । तर, यतिबेला बढी प्रभावकारी हुने सोचेर लन्च गर्यौं । छोटो समयमै २० हजारले एप डाउनलोड गर्नु नै नै एउटा उपलब्धि हो ।’
थुप्रैको एपमार्फत अहिले पाठकले मोबाइलमा इ–बुक पढ्न सक्छन् । डेस्कटपमा पढ्न मिल्ने व्यवस्था पनि चाँडै हुँदैछ । इ–सेवा, खल्ती, फोन पेजस्ता अनलाइन भुक्तानी सेवा र अनलाइन बैंकिङमार्फत पुस्तक किन्न सकिन्छ । एपमा केही पुस्तक निःशुल्क पनि उपलब्ध छ । अमेजनको किन्डल, गुगल बुक्स, कोबो, एप्पल बुक्सबाट पनि पुस्तक खरिद गरी पढ्न सकिने व्यवस्था थुप्रैले गरेको छ ।
खरिद गर्नका लागि लग इन गरिएको डिभाइसमा मात्र खुल्ने र कपी गर्न नमिल्ने हुँदा आफूहरूले संचालन गरेको इ–बुक सेवा सुरक्षित र भरपर्दो रहेको संचालक गोतामेको दावी छ । किताब बिक्रीबाट भएको मुनाफाको ६० प्रतिशत प्रकाशन गृह वा लेखकलाई दिने रणनीति थुप्रैको छ । प्रकाशन गृहले आफ्ना किताब कतिले डाउनलोड गरे भनेर सजिलै हेर्न सक्ने गोतामे बताउँछन् ।
प्रकाशन गृहले कति प्रतिशत रोयल्टी लेखकलाई दिन्छन् भन्ने विवरण गोप्य राख्ने गरेकाले लेखकले पाउने रोयल्टीचाहिँ प्रकाशकमा भर पर्ने देखिन्छ । साहित्यकार मुकारुङ प्रकाशकले प्राप्त गरेको रकमको राम्रो हिस्सा लेखकलाई दिनुपर्ने मत राख्छन् । उनी भन्छन्, ‘सुरक्षामा ध्यान दिएर संचालन गरिन्छ भने इ–बुक अहिलेको सन्दर्भमा पाठकका लागि राम्रो प्ल्याटफर्म बन्न सक्छ । तर, प्रकाशन गृह र प्ल्याटफर्म संचालक दुवैले लेखकलाई पनि समेटेर लानुपर्छ ।’
लकडाउनपछि पुस्तकको भौतिक बिक्री–वितरण ठप्प रहेको अवस्थामा इ–बुक प्ल्याटफर्म विस्तार हुने सम्भावना रहेको बताउँदै शेरचन भन्छन्, ‘हामीले पाण्डुलिपि बुक्सलाई टिकाउन सकेको भए यो समयमा राम्रो पिकअप लिन्थ्यो ।’ यसैलाई मध्यनजर गरेर आफूहरू निरन्तरतामा कटिबद्ध रहेको गोतामे बताउँछन् ।
कागजका पाना पल्टाएर पढेको स्वाद नआउनु इ–बुकको अर्को चुनौती हुन सक्छ । तर, फाइन प्रिन्टका संचालक अजित बरालको अनुभवलाई आधार मान्ने हो भने बानी परेपछि पाना पल्ट्याएर पुस्तक पढ्नुभन्दा इ–बुक पढ्न सहज हुन्छ । उनी भन्छन्, ‘आजभोलि त म यसैमा रमाउँछु । सुरुमा पढ्न केही असहज लागे पनि बानी परेपछि मज्जा हुँदोरहेछ ।’