भ्यालेन्टाइन डेका दिन युवा पुस्ताले सबैभन्दा बढी प्रतीक्षा गरेको पुस्तक थियो— पर्पला । धेरै अघिदेखि नै भ्यालेन्टाइन डेका दिन सार्वजनिक गर्ने उद्देश्यले कलेजहरूमा प्रचार–प्रसार गरिएका कारण पनि पर्पला उपन्यास र त्यसका लेखक मिलन संग्रौला चर्चामा थिए । यद्यपि समयमा पुस्तक प्रकाशन नभएपछि पाठकहरू निराश भए । निर्धारित समयभन्दा करिब एक महिनापछि बल्ल पर्पला बजारमा आएको छ । भ्यालेन्टाइन डेमा उनको पुस्तकको जस्तो खोजी थियो, त्यसमा कमी आएको स्वयं मिलन नै स्वीकार गर्छन् । यसअघि ‘च्याट गर्ल’ पुस्तक प्रकाशन गरेका संग्रौलासँग साप्ताहिकले नयाँ पुस्तक र उनको लेखनका सम्बन्धमा केही प्रश्न गरेको थियो ।
भ्यालेन्टाइन डेमा पुस्तक आएन, निराश हुनुहुन्छ ?
अलिकति छु, तर पुस्तकजस्तो लामो समय टिक्ने कुरा जुन समयमा आए पनि खासै फरक पर्दैन । पाठकहरूले प्रतीक्षा गरिरहनुभएको थियो । एक–दुई महिनाले खासै फरक पर्ला जस्तो लागेको छैन । तैपनि आफ्ना भ्यालेन्टाइनलाई पुस्तक उपहार दिने योजना त रद्द भयो नि । नेपालमा भ्यालेन्टाइन डेमा एक–अर्कालाई पुस्तक उपहार दिने चलन सुरु भैसकेजस्तो लाग्दैन । हामीले जसरी प्रचार गरेका थियौं, त्यसले त्यो क्रम सुरु हुन्छ भन्ने लागेको थियो तर प्राविधिक कारणले सम्भव भएन । उपहार दिनेले आफ्ना प्रेमी–प्रेमिकालाई अरू समयमा पनि उपहार दिन सक्छन् ।
उपहार नै दिनुपर्ने के छ त्यस्तो पुस्तकमा ?
अहिलेको युवा पुस्ता नेपाली पुस्तक पढ्न रुचाउन थालेको छ । उनीहरूको रुचिका विषय समेटिएको पुस्तक नै बजारमा बढी बिक्री भएका उदाहरण छन् । युवा पुस्ताबाहेकका कुनै पनि पुस्तकले १० हजार प्रति बिक्रीको रेकर्ड काटेका छैनन् । यता युवा लक्षित पुस्तक १० हजार बिक्री हुनु सामान्य कुरा हुन थालेको छ । यो उपहार दिने, एक–अर्कालाई पढ्न सिफारिस गर्ने प्रचलन बढेकै कारण सम्भव भएको हो । सामाजिक सञ्जालमा पनि यस्तै पुस्तकको चर्चा हुने गरेको छ । यसैलाई आधार मानेर अब पुस्तक उपहारका रूपमा पनि जान सक्छ भन्ने आंकलन हो ।
समीक्षकहरूले भने युवा पुस्ताका लागि लेखिएका पुस्तकले नेपाली साहित्यको गरिमा नै घटाएको आरोप लगाइरहेका छन्, के भन्नुहुन्छ ?
समीक्षकहरू हतारमा समीक्षा गर्छन् । हावा कता चलेको छ, आममानिसले के खोजिरहेका छन् भन्ने कुरा बुझ्न समीक्षकहरू असमर्थ छन् । हामीले समीक्षकहरूका लागि पुस्तक लेखेका होइनौं, पाठकका लागि लेखिरहेका छौं । जहाँसम्म साहित्यको लेभल पुगेन भन्ने कुरा छ, त्यो अहिले होइन, पछि मूल्यांकन हुन्छ । कुनै बेला लक्ष्मीप्रसाद देवकोटाहरूले पनि राम्रो साहित्य लेखेनन्
भनेर समीक्षकहरूबाट गाली खाएका थिए ।
युवा पुस्ताका लागि लेख्दा कथा, भाषा, शैली आदि एकै खालका हुन थाले भन्ने लाग्दैन ?
नयाँ पुस्ताले सरल कुरा मन पराउँछ । आफ्ना वरपरका कथा, आफूले भोगेजस्तै अवस्था पुस्तकमा आओस् भन्ने चाहन्छ । त्यही भएर कतिपय साहित्यकारका कुरा उस्तै–उस्तै देखिएको हो । मैले पनि त्यही शैली अपनाएको छु । यद्यपि कथा भन्ने शैलीमा केही नयाँपन छ । समीक्षकहरूले पक्कै पनि यो कुरा याद गर्नेछन् ।
अनि पाठकहरूले नि ?
मैले युवा पुस्तालाई केन्द्रमा राखेका कारण मेरो उपन्यासमा युवा पुस्ताले आफ्नै कथा फेला पार्नेछन् । आखिर प्रेम यस्तो भावना हो, जसको कथा कतै न कतै मेल खान्छ अनि युवाहरूको जीवनमा एकै खालको उतार चढाव आउँछ । विशेष गरी युवा उमेरमा एउटी राम्री केटीलाई धेरैले मन पराउने कारणले उब्जने समस्या सबैतिर छ । ‘पर्पला’ मा यो कुरा राम्रोसँग आएको छ । मेरो उपन्यासको नायक युवतीको प्रेममा चाँडै पर्छ, समस्या त्यहीँ आउँछ ।
‘च्याट गर्ल’ ले जति प्रशंसा पाउनुपर्ने हो, त्यति पाएन भन्ने लाग्दैन ?
त्यो पुस्तक २०७० सालको सुरुमै प्रकाशन भएको हो । त्यतिबेला युवापुस्ताको पुस्तक भन्नेबित्तिकै नाक खुम्च्याउने चलन थियो । उक्त पुस्तक समयमै पाठकसम्म पुगेन, तर केही समयअघि एफएममा वाचन भएपछि भने अचानक पुस्तकको खोजी भयो । सायद त्यसको समय आइपुगेको थिएन ।
नयाँ पुस्तकको तयारी गर्दै हुनुहुन्छ कि ‘पर्पला’को प्रतिक्रिया पर्खेर बस्नुभएको छ ?
मैले एक वर्ष अघि नै पर्पला लेखेर प्रकाशकलाई बुझाएको थिएँ । सच्चा लेखक खाली बस्न सक्दैन । पर्पला प्रकाशित भैसकेको छैन तर नयाँ उपन्यास तयारी अवस्थामा छ । सम्भवत: पर्पला जन्मिएको अर्को वर्ष त्यो पुस्तक पनि बाहिर आउनेछ ।