
सुजित मैनाली लेखक तथा पत्रकार हुन् । लेखक सौरभसँगको सहलेखन गरिएको उनको गैर–आख्यान ‘ब्रेकिङ नेपाल’ हालसालै प्रकाशनमा आएको छ । यसअघि उनले भाषण शीर्षकको पुस्तक सम्पादन गरेका थिए, जसमा संसारका चर्चित राजनेताका भाषणहरू संग्रहित छन् । मैनाली साउथ एसिया चेक अनलाइनसँग आबद्ध छन् ।
ब्रेकिङ नेपाल कुन विषयमा केन्द्रित छ ?
पृथ्वीनारायणले देशनिकाला गरेका इसाई मिसनरी र नेपालका शासकले अप्ठेरोमा पारेका विदेशी कुटनीतिज्ञहरूले नेपालप्रति पूर्वाग्राही भएर लेखेका पुस्तकहरू अहिले नेपालको समाज विज्ञानका मूल ग्रन्थ बन्न पुगेका छन् । खासगरी पश्चिमी लेखकले ती पुस्तकलाई आधार मानेर नेपाल राज्य तथा नेपाली समाजको व्याख्या गर्ने गरेका छन् । त्यही भएर पृथ्वीनारायणदेखि अहिलेसम्मका पश्चिमी लेखकका नेपालसम्बन्धी लेखाइमा तथ्य र तर्कमा प्रशस्तै त्रुटि पाइन्छन् । त्यस्ता त्रुटि पहिचान गर्ने, सच्याउने एवं पश्चिमी लेखकहरूको ध्येय पत्ता लगाउने प्रयास ब्रेकिङ नेपालमा गरिएको छ ।
यतिबेला के पढ्दै हुनुहुन्छ ?
कुमार प्रधानको द गोर्खा कंक्वेस्ट पढ्दैछु । यसको पछिल्लो संस्करणमा जोन वेल्पटनले भूमिका छ । वेल्पटनकै लाइफ अफ जंगबहादुर तथा हिस्ट्री अफ नेपाल पनि पढ्दैछु । अहिले खासगरी पश्चिमी लेखकले नेपालका बारेमा लेखेका पुस्तकमा मेरो ध्यान छ । रुचि लागेको विषयमा लेखिएका धेरै किसिमका पुस्तक समानान्तर रूपमा पढ्न मन लाग्छ ।
पुस्तकको संगतमा कसरी आउनुभयो ?
सानो छँदा मेरा हजुरबा मोहनलालले आतंक, रत्नभवन र राक्षसराज्य पुस्तकका तिलस्मी कथा सुनाउनुहुन्थ्यो । उहाँले मलाई रामायण, महाभारत, राजा हरिशचन्द्रका कथा पनि सुनाउनुभयो । म त्यति बेलैदेखि पुस्तकसँग जोडिएँ ।
कुन विधा पढ्न रुचाउनुहुन्छ ?
रुचि समयसँगै बदलिँदै जाँदो रहेछ । कुनै बेला कविता मनपथ्र्यो । पछि क्रमश: कथा, उपन्यास, अध्यात्म, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र आदिमा ध्यान गयो । अहिलेचाहिँ इतिहास र संस्कृतिमा रुचि छ ।
पुस्तकको छनौट कसरी गर्नुहुन्छ ?
कुनै बेला भेटेजति सबै पढिन्थ्यो । पढ्दा घाटा लाग्दैन भन्ने सोच्थें । अहिले बानी फेरिएको छ । अब्बल श्रेणीका पुस्तक मात्र पढ्नुपर्छ भन्ने लाग्छ । सम्बन्धित विषयका ज्ञाताहरूसँग परामर्श लिएर पढ्छु । त्यसो गर्दा समय खेर जाँदैन । चाणक्य नीतिको एउटा श्लोक म बारम्बार सम्झन्छु– जीवन एउटा छ, समय सीमित छ, पढ्नुपर्ने कुरा असीमित छन्, त्यही भएर छानीछानी पढ ।
पढ्न किन जरुरी छ ?
पढेको मान्छेले अपराधीलाई मात्र होइन, समाजलाई पनि दोष दिन्छ । पढेपछि कुनै पनि विषयलाई विभिन्न कोणबाट हेर्ने क्षमता वृद्धि हुन्छ ।
पुस्तकमा कति लगानी गर्नुहुन्छ ?
मन परेपछि खरिद गर्ने हो । रत्न पुस्तकमा ४५ हजार रुपैयाँ पर्ने गोर्खासम्बन्धी एउटा पुस्तक राखिएको छ । त्यस्तो पुस्तकमा चाहिं लगानी गर्न सकिँदैन ।
दोहोर्याएर पढेको पुस्तक ?
लियो इ रोजको नेपाल : स्ट्राटेजी फर सर्भाइभल । विदेशीले लेखेकामध्ये सबैभन्दा बढी विश्वास गर्न लायक पुस्तक यही हो । नेपाललाई बुझ्ने रोजजतिका अर्का विदेशी छैनन् ।
प्रिय पुस्तक ?
क्राइम एन्ड पनिस्मेन्ट, ओल्डम्यान एन्ड द सी, द राइज एन्ड फल अफ् थर्ड रइख, गन्स, जम्स एन्ड स्टिल, ह्वाई नेसन्स फेल, स्ट्राटेजी फर सर्भाइभल, मुनामदन आदि अनि महेशचन्द्र रेग्मी तथा बाबुराम आचार्यले लेखेका सबै पुस्तक ।
प्रिय लेखक को–को हुन् ?
विदेशीमा ज्यार्ड डायमन्ड, फ्रान्सिस फुकुयामा, दोस्तोयभ्स्की आदि । नेपालीमा देवकोटा, सम, मदनमणि दीक्षित, महेशचन्द्र रेग्मी, बाबुराम आचार्य आदि । समकालीनमा चाहिँ डा. जगमान गुरुङ, सौरभ एवं प्रत्युस वन्तको लेखाइ बढी उपयोगी लाग्छ ।
अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
त्यो त व्यक्तिको रुचिमा पनि भर पर्छ । महाभारतचाहिं सबैले पढ्नैपर्ने पुस्तक हो ।