शिक्षा एवं पेसामा समान स्तर भएकाले म र मेरी श्रीमती एक–अर्कालाई कहिले ‘तपाईं’ त कहिले ‘तिमी’ भनेर सम्बोधन गथ्र्यौं । हामी खाना पकाउने, कपडा धुने, घर सफा गर्ने तथा भाँडा माझ्ने काम सँगै गथ्र्यौं । ‘ल हेर ! स्वास्नीलाई पनि तपाईं भन्ने ? आइमाइले गर्ने काम आफैं गर्ने ? पढेर के गर्नु, मान्छे त जोइटिङ्ग्रे नै रहेछ,’ – समाजको विशेषण एवम् विश्लेषण थियो यो ।
‘आफ्नो श्रीमान्लाई पनि तिमी भन्ने ? घरको काम लगाउने ? कस्ती नकच्चरी !’ उसले सुनिरहने वाक्यांश थियो यो । समयको बहावसँगै बिस्तारै म पनि परिवर्तन हुन थालें । श्रीमतीलाई ‘तँ’ भन्न थालें, घरको काम गर्न छाडें । प्राय:जसो रक्सी धोकेर श्रीमतीलाई अकारण पिट्न थालें । समाजले मलाई सुध्रिएको देख्यो र स्याबासी दिन थाल्यो ।
श्रीमतीले मेरो असमान एवं अमानवीय व्यवहार सहेर बसिरही । मेरा हरेक क्रूर व्यवहारलाई पनि उसले शिरोधार्य गर्न थाली । यतिसम्म कि उसले मेरो खुट्टा मिच्न थाली, खुट्टाको जल खान थाली, तर अफशोच ! सहकार्य र सम्मानमा उसलाई साथ दिँदा मलाई ‘जोइटिङ्ग्रे’ भन्नेहरूले उसलाई ‘पोइटिङ्ग्रे’ भन्ने विशेषण दिएनन् ।