बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउँने पर्यटकको संख्या ठूलो छ । विभिन्न देशबाट घुम्न आउने सबै पर्यटकले लुम्बिनीका बारेमा सहज जानकारी भने पाउँन सकिरहेका थिएनन् । भाषाको समस्याका कारण लुम्बिनीका बारेमा अर्ध ज्ञान बोकेर पर्कने सम्पूर्णका लागि अब सहज हुने भएको छ ।
वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले विभिन्न सात देशका भाषामा बुद्ध जन्मस्थल लुम्बिनीका बारेमा लेखिएको पुस्तक सार्वजनिक गरेका छन् । नेपाली, अंग्रेजी, थाई र चाईनीज, बर्मिज, जापानीज र सिंहला (श्रीलंकाली) भाषामा प्रकाशन गरिएका सबै पुस्तमा एउटै सामग्री समावेश गरिएको छ । ‘लुम्बिनीको मौन आह्वान’ नामक उक्त पुस्तकको नाम पनि भाषा अनुसार अनुवाद गरेर फरक राखिएको छ ।
सबैभन्दा पहिले सन् २००९ मा अंग्रेजी र सन् २०१० मा जापानी भाषामा पुस्तक प्रकाशन गरेका उनले त्यसपछि २०१३ मा नेपाली र थाई भाषामा पुस्तक प्रकाशन गरे । २०१६ मा अन्य ३ भाषामा पुस्तक प्रकाशन गरिएको हो ।
अंग्रेजी पुस्तक २०१५ सम्म आईपुग्दा चौथौ संस्करण प्रकाशन भैसकेको बताईएको छ । नेपाली र जापानीन भाषाको पुस्तक पनि तेस्रो संस्करण बजारमा आईकसेको छ । २०१६ डिसेम्वर एक महिनामै बर्मिज संस्करण सकियो । यसको अर्को संस्करण निकाल्ने तयारी भैरहेको लेखकले बताएका छन् ।
२८ वर्ष लुम्बिनी विकास कोषमा पुरात्वविद्का रुपमा काम गर्दाको अध्ययन, अनुभव र अनुसन्धानलाई पुस्तकमा निकालिएको उनले सुनाएका छन् ।