देशको राजधानी काठमाडौंमा उल्लेख्य मात्रामा साहित्यिक गतिविधि हुन सकिरहेका छैनन् । फाट्टफुट्ट हुने साहित्यिक गतिविधिले उतिसारो गति लिएको पाइँदैन । त्यसमाथि व्यक्ति र साहित्यिक संस्थाहरू विभिन्न गुट–उपगुट बाँडिएका छन् । यस्तो अवस्थामा युवा लक्षित एउटा साहित्यिक समूह गठन भएको छ— राष्ट्रिय युवा साहित्य परिषद् । अध्ययन एवं लेखनमा रुचि राख्ने ठूलो समूहलाई यो परिषद्ले समट्ने प्रयास गरिरहेको छ ।
दस जना सदस्य रहेको राष्ट्रिय युवा साहित्य परिषद् युवाहरूबीच साहित्यिक अन्तर्क्रिया गर्ने मनसायले सुरुवात भएको हो, जसको अगुवाइ लेखक तथा पत्रकार अश्विनी कोइरालाले गरिरहेका छन् । उनको यो अभियानमा लेखक मिलन संग्रौला, संघर्ष क्षेत्री, दीपक कोइराला, प्रदीप बस्नेत तथा सिमाना पौडेलले साथ दिइरहेका छन् । राम्रा युवा लेखकहरूका पुस्तक छाप्न प्रकाशकसँग भेट्टाइदिने वातावरण मिलाउने उद्देश्य लिएको यो परिषद्ले युवाहरूलाई लेखनमा स्थापित गर्ने लक्ष्य राखेको छ । परिषद्ले बर्सेनि ५० हजार रुपैयाँको युवा साहित्य पुरस्कार तथा १० हजार रुपैयाँको युवा लेख पुरस्कार स्थापना गरेको छ । युवा दिवसमा यो पुरस्कार प्रदान गरिने बताइएको छ ।
लेखक मिलन संग्रौला पनि राष्ट्रिय युवा साहित्य परिषद्का सदस्य हुन् । विज्ञानका विद्यार्थी भए पनि उनी साहित्यमा रुचि राख्छन् । ‘यो परिषद्सँग जोडिएपछि पठनपाठनमा रुचि राख्ने धेरै जनासँग उनको भेटघाट भयो । युवाका विषय समेटेर लेख्नुलाई सस्तो साहित्य भनिन्छ ।’ संग्रौला भन्छन्, ‘तर हामी युवाहरू राम्रो लेख्न सक्छौं भन्ने उदाहरण बन्न चाहन्छौं ।’ ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे, बुद्धिसागर, दौलतविक्रम विष्ट तथा पारिजातका प्रशंसक मिलनले पर्पला र च्याट गर्ल जस्ता पुस्तक बजारमा ल्याइसकेका छन् । ट्रिटन कलेजमा कक्षा १२ मा अध्ययनरत प्रदीप बस्नेत कोर्सको पढाइमा मात्र होइन्, किताबी कीरो पनि हुन् ।
तीतो सत्य र सिक्रेट लभ जस्ता पुस्तक बजारमा ल्याइसकेका बस्नेत पनि यो परिषदका सदस्य हुन् । २०७३ सालमा सर्लाहीबाट एसईईमा जिल्ला टप गरेका प्रदीप कोर्सको पढाईसँगै साहित्यिक पुस्तकको अध्ययनमा समेत उक्तिकै सत्रिय छन् । साहित्यिक जमघटमा पनि उनी सरिक भैरहेकै हुन्छन् । उमेर कम भए पनि अग्रज लेखकहरूसँग भेटघाट गर्न पाउँदा नयाँ–नयाँ कुरा सिक्न पाएको उनको अनुभव छ ।
साहित्य परिषदका सदस्य दीपक कोइरालाका अनुसार अब हरेक देशमा एक–एक जना संयोजक तोकिँदैछन् । विदेशमा बसेर लेख्नेहरूलाई पनि बाहिर ल्याउने प्रयास भैरहेको उनले बताए । लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन परिषद्का तर्फबाट पहल भैरहेको उनले जानकारी दिए । कान्तिपुर इन्टरनेसनल कलेजबाट बीबीए पूरा गरेकी सामना पौडेल पनि यो परिषद्की सदस्य हुन् । पहिल्यैदेखि साहित्यमा रुचि राख्ने पौडेल रमेश सायन, अमर न्यौपाने, लैनसिंह वाङ्देल, डायमन्डशमशेर राणाको लेखनकी प्रशंसक हुन् । साहित्यिक वातावरणमा नयाँ, पुराना लेखकहरूसँग भेटघाट गर्न पाउँदा भने उनलाई रमाइलो लाग्छ । संघर्ष क्षेत्री पनि साहित्य परिषद्का सक्रिय सदस्य हुन् । विज्ञानका विद्यार्थी क्षेत्री साहित्यमा निकै रुचि राख्छन् । उनका साथीभाइमा लेखकहरू नै बढी छन् । साहित्य लेखनका क्रममा उनलाई बेलाबेला राजनीति गरिरहेको छु कि जस्तो पनि लाग्छ ।
लेखनमा समर्पित हुनेहरूका लागि
राष्ट्रिय युवा साहित्य परिषद् गठन गरिनुका केही उद्देश्य छन् । युवा लेखक तथा अध्ययनमा रुचि राख्नेहरूको जमघट होस् भन्ने हाम्रो मनसाय हो । सबै लेखक तथा पाठकहरू एउटै थलोमा भेट हुने वातावरण अझै बनिसकेको छैन । हामीले त्यस्तो खालको वातावरण सिर्जना गर्न खोजेका हौं । हामीले हरेक महिनाको पहिलो वा अन्तिम शनिबार एक पटक नियमित भेटघाट गर्ने नियम बनाएका छौं । लेखनमा सक्रिय हुन चाहनेहरूलाई प्रोत्साहित गर्ने प्रयासमा छौं । कतिपय युवाले मनका कुराहरू फेसबुकमा पोस्ट गरिरहेका हुन्छन् । उनीहरूलाई म लेखक बन्न सक्छु भन्ने जानकारीसम्म हुँदैन । हामी त्यस्ता युवाहरूलाई भेट्छौं । उनीहरूलाई आवश्यक परामर्श दिने, थप लेख्न ऊर्जा प्रदान गर्ने तथा प्रकाशकसँग भेट्टाइदिने काम गर्छौं । राष्ट्रिय युवा साहित्य परिषदमा आबद्ध जुनसुकै व्यक्ति पनि ४५ वर्ष पुगेपछि अवकाश लिनैपर्ने नियम लागू गरेका छौं । हामी एक–अर्काको रचना पढेर सुझाव, सल्लाह दिने, आफूले पढेका पुस्तक तथा अन्य विषयवस्तुमाथि छलफल तथा बहस गर्छौं ।
अश्विनी कोइराला, अध्यक्ष
राष्ट्रिय युवा साहित्य परिषद्