सरर्रर कार
सरकारले अब कसैलाई
भ्रष्टाचार गर्नै दिँदैन
भ्याएजत्ति भ्रष्टाचार उ आफैं गर्छ,
एउटा छोड्दैन
सरकार बाहिर बसेर किन गर्नुपर्यो भ्रष्टाचार ?
सोझै सरकारसँग हातेमालो गरे हुँदैन ?
देश त अब आर्थिक समृद्धितर्फ
लम्की सकेको छ
करोडौं करोडको त गाडी मात्रै किनिसकिएको छ
नेता र जनता गरी
दुई थरी मानिस छन् देशमा
नेता जति सम्बृद्ध भै सके अब जनता मात्रै त बाँकी छ
पूरै सिस्टेम्याटिक वैज्ञानिक ढंगले देश चलाउँदै छ सरकार
त्यसैले त दिनहुँ अनुसन्धानमा करोडौं खर्च गरेको गरै छ
अरूका अनुसन्धानले नयाँ ग्रह वा सिद्धान्त पत्ता लगाउँछन्
हाम्रा अनुसन्धानले अपराधी खोजेको खोज्यै छ ।
दुइतिहाइको सरकार यस्तो द्रुत गतिमा अघि बढ्दैछ
तस्करी, अपहरण,
हत्या आदि त पछाडि पर्दैछ
पैदल हिँडेर देश अगाडि बढाउन सक्दै सकिन्न नि
त्यसैले त भारतको पानीजहाज र चीनको रेल पर्खेको पर्ख्यै छ
सरकारले अब सबै सिन्डिकेट खारेज गर्छ
पार्टीहरूको सिन्डिकेट सरकार हुँदाहुँदै
अरुथरिको सिन्डिकेट किन आवश्यक पर्छ ?
एड्भान्स झ्यालखान
लाटो पहिले भ्रष्टाचार गर्छ,
अनि झ्यालखान पर्छ
बाठो पहिल्यै झ्यालखान बस्छ
अनि भ्रष्टाचार गर्छ ।
तरिका यो दोस्रो राम्रो
एड्भान्स भै झ्यालखान गयो त्यागी नेता कहलाई, पछि घिच्नु घिचे भयो ।
पहिले बेइज्जती कमाएर
अनि जेल र नेल भयो
त्यसपछि बनी नेता,
मान–इज्जत पनि भयो ।
पदमा बसी भए भ्रष्ट
झ्यालखान त जानुपर्ने हो
तर एड्भान्स मै बसेकाले,
फेरि जान नपर्ने भो ।