पढाइ, होमवर्क, असाइन्मेन्ट, प्रोजेक्ट वर्कमै किशोर पुस्ताको धेरैजसो समय खपत हुन्छ । त्यसबाट उम्किनेबित्तिकै उनीहरू युट्युब, फेसबुक एवं इन्टरनेटमा झुम्मिने गर्छन् । भर्चुअल माध्यममा रमाउँछन् । त्यसबाहेक यो पुस्ता पाठ्यक्रम बाहिरका पुस्तक पढ्न पनि उत्तिकै चाख मान्छन् ।
ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढिरहेकी १७ वर्षीया सुरुचि अर्याल भन्छिन्, ‘महिनामा दुईवटा पुस्तक पढेकै हुन्छु ।’ सुरुचि कलेजको असाइन्मेन्ट पूरा गरेपछिको ‘लेट नाइट’ यस्तो पढाइलाई दिन्छन् । उनलाई अंग्रेजी लेखिका अगाथा क्रिस्टीको उपन्यास औधी मन पर्छ । उनी सुनाउँछिन्, ‘सिरियल किलर र क्राइम सिनहरूका बारेमा विस्तृतमा लेख्ने भएकाले अगाथाको उपन्यास खोजी–खोजी पढ्छु ।’ अहिले सुरुचि अगाथाको बेस्ट सेलर किताबमध्येको ‘डेथ अन दि नाइल’ पढ्दैछिन् ।
सुरुचिकै समकक्षी कामना पोखरेलले अमर न्यौपानेको पुस्तक ‘सेतो धरती’ पढेकी छिन् । एकपटक होइन, पटक–पटक । सुबिन भट्टराईको कुनै पनि पुस्तक बाँकी राखेकी छैनन् । हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ राम्ररी छिचोलेकी छिन् । जोन ग्रिनको ‘फल्ट इन आवर स्टार्स’ उनलाई मन पर्ने उपन्यास हो ।
सोही कलेजमा अध्ययनरत १६ वर्षीया लिसा बज्राचार्यको रोजाइमा चाहिँ अहिलेकी सर्वाधिक लोकप्रिय लेखिका जे.के. रोलिङको ‘ह्यारी पोर्टर’ छ । उनले ‘ह्यारी पोर्टर’को कुनै संस्करण छुटाएकी छैनन् । ‘पढ्दै जाँदा राम्रो लाग्यो भने रातभर पनि पढिदिन्छु,’ लिसा भन्छिन्, ‘छाड्न मन लाग्दैन ।’ उनले ‘चिना हराएको मान्छे’ पनि यसरी नै पढेर सिध्याएकी थिइन् ।
काठमाडौं प्रज्ञा कुञ्जमा ९ कक्षामा पढिरहेकी १५ वर्षीया प्रशंसा विष्टले चेतन भगतको ‘हाफ गर्लफ्रेन्ड’ पढेकी छिन् । उनले नेपाली इतिहासबारे लेखिएका पुस्तक पनि खोजी–खोजी पढेकी छिन् । यस्तै, १३ वर्षीय सगुन पहाडीलाई झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’ मन परेको पुस्तक हो । उनले पढेको पहिलो र एकमात्र नेपाली पुस्तक पनि हो यो । अंग्रेजीमा भने सगुनलाई शेली क्रेनका पुस्तक बढी मन पर्छन् ।
रोजाइमा फेन्टासी र थ्रिलर
धेरैजसो पाठक त्यस्ता पुस्तक बढी चाख मानेर पढ्छन्, जसमा आफूले देखे, सुने र भोगेका विषय छन् । यथार्थ विषयवस्तुले उनीहरूको ह्दय स्पर्श गर्छ । तर, किशोरपुस्ता भने आफ्नो जीवन–भोगाइभन्दा धेरै टाढाका स्वैरकाल्पनिक कथामा रमाउँछन् । आफूले देख्दै नदेखेको, सोच्दै नसोचेको, भोग्दै नभोगेको ‘फेन्टासी’ कथाले उनीहरूलाई तान्छ ।
लिसा बज्राचार्यको रुचि थाहा पाऔं न । उनी भन्छिन्, ‘मलाई एकदमै काल्पनिक कथा मन पर्छ । पढ्दै काल्पनिक दुनियाँमा रमाउन मन पर्छ । त्यही संसारमा उडी–उडी पढ्न मन लाग्छ ।’
काठमाडौं प्रज्ञा कुञ्जमा पढिरहेका १४ वर्षीय जेसिन लामालाई ‘असम्भव लाग्ने कथाहरू’ मन पर्छ । जेसिन भन्छन्, ‘जनावरहरू पनि बोलेको, अर्कै संसारमा रमाएको, कल्पनै गर्न नसकिने कथा मन पर्छ ।’
उनकै समकक्षी सगुन पहाडीलाई पनि वास्तविक जीवनसँग मेल नखाने र हाम्रो कल्पनाभन्दा बाहिरको कथा मन पर्छ ।
किशोरपुस्ताकै कथामा ‘गुलाबी उमेर’ उपन्यास लेखेका अमर न्यौपानेको बुझाइ यहाँ मेल खान्छ । न्यौपानेले सप्ताहिकसँग भनेका छन्, ‘टिनएजर्स काल्पनिक हुन चाहन्छन् । किनभने उनीहरू असम्भवजस्तै लाग्ने कल्पनाहरू सम्भव आँखाले हेर्छन् ।’
रहस्यमयी र भयानक लाग्ने कथाहरू पनि किशोरपुस्ताले रुचाएका रहेछन् । उनीहरू क्राइम, थ्रिलर र सस्पेन्स कथामा रमाउने बताउँछन् । सुरुचि सुनाउँछिन्, ‘पढ्दापढ्दै खतरनाक ट्विस्ट आओस् अनि पो पढ्न मन लाग्छ ।’
बिदाको समय र सप्ताहन्त बुक क्लबमै गएर पुस्तक खोतल्ने लिसालाई ‘थ्रिलर सस्पेन्स’ पुस्तक मन पर्छ । ‘मर्डर सिन भएको, क्राइम भएको, मनोवैज्ञानिक र गहन खालको कथाहरू पढ्छु’ लिसा यसै भन्छिन् । प्रकृति सिंहलाई एड्भेन्चर, सस्पेन्स र फेन्टासी पुस्तक मन पर्छ । उनी भन्छिन्, ‘लभस्टोरी र रोमान्स भएका पुस्तक पनि उत्तिकै मन पर्छ ।’
पढ्दैनन् नेपालीमा
अंग्रेजी पुस्तक खोजी–खोजी पढ्ने यो पुस्ता नेपाली साहित्यमा भने उति अभ्यस्त छैनन् । यसमा उनीहरूले दुईवटा कारण बताए । एक त, उनीहरू अंग्रेजी माध्यममै पढिरहेका छन् र नेपाली साहित्य सहजै बुझ्दैनन् । दोस्रोचाहिँ, उनीहरूले खोजेजस्तै फेन्टासी, सस्पेन्स, थ्रिलर पुस्तक नेपालीमा लेखिएका छैनन् ।
लिसाको बुझाइ यस्तो छ, ‘नेपाली कथा-उपन्यासमा सस्पेन्स हुँदैन । नयाँ कुरा पनि हुँदैन । पढ्दै जाँदा त्यसको ट्विस्ट र अन्त्य कसरी हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।’ उनी थप्छिन्, ‘अहिले समाज कहाँबाट कहाँ पुगिसक्यो, हामीकहाँ लेखिने कथा–उपन्यासचाहिँ अन्तरजातीय विवाह, परिवारले अनुमति नदिएको प्रेमकथामा आधारित हुन्छ ।’
कामनाको गुनासो पनि उही हो । उनी भन्छिन्, ‘हामीलाई नयाँ–नयाँ कन्सेप्ट मन पर्छ । नेपाली पुस्तक मोनोटनस हुने खालको हुन्छ । प्याटर्न एकै किसिमको भयो ।’
इन्टरनेटको सहज पहुँचले गर्दा किशोरपुस्तालाई विश्वका कुनै पनि लेखकका कथा–उपन्यास पढ्न समर्थ भइरहेका छन् । कुन–कुन पुस्तक विश्व चर्चित हुन्, कसले लेखेका हुन् भन्ने सामान्य जानकारीदेखि कुन लेखकको पुस्तकमा कस्तो विषयवस्तु हुन्छ भन्नेसम्मका कुरामा उनीहरू जानकार छन् । विश्व साहित्यसँग यसरी सुपरिचित किशोर पुस्तालाई नेपाली साहित्य त्यति परिपक्व, गहन र रुचिकर लागिरहेको छैन ।
सुरुचिको बुझाइ छ, ‘विश्वमा विषय र शैलीको नयाँ प्रयोग भइरहेका हुन्छन् । त्यो थाहा पाइरहेकाले नेपाली पुस्तकमा नयाँपन पाउँदैनौं ।’
सुबिन भट्टराईको ‘समर लभ’, ‘साया’, अमर न्यौपानेको ‘सेतो धरती’ विजयकुमारको ‘खुसी’, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’ बाहेक विरलै पुस्तक होलान्, जुन उनीहरूले खोजेका र पढेका छन् । यी पुस्तक पढे पनि ‘धीत नमरेको’ उनीहरू बताउँछन् ।
नेपालीमा लेखिएका ‘जीवनकथा’ र ‘प्रेरणादायी पुस्तक’ भने उनीहरू बेलामौकामा पढ्ने गर्छन् । संघर्षको कथा पनि उनीहरूको रोजाइमा रहेछ । ‘अरूको संघर्ष र सफलताबाट पनि ऊर्जा मिल्छ,’ कामनाले भनिन् । साहिन मानन्धरलाई चर्चित व्यक्तिहरूको जीवनकथा मन पर्छ ।
नेपालीमा चित्त नबुझे अंग्रेजीमै सही, किशोरपुस्ताका यी प्रतिनिधि पुस्तकलाई समय दिन्छन् । फुर्सदमा मात्र होइन, फुर्सद निकालेर पुस्तक पढ्छन् । पुस्तकबाट मनोरञ्जन, नयाँ जानकारी र ऊर्जा मिल्ने उनीहरूको बुझाइ छ ।
अमेरिकी शिक्षाविद् चाल्र्स विलियम एलियोट भन्छन्, ‘पुस्तक मित्रमा सबैभन्दा शान्त र स्थिर हुन्छ, परामर्शदातामा सबैभन्दा सुलभ र बुद्धिमान हुन्छ र शिक्षकमा सबैभन्दा धैर्यवान् हुन्छ ।’ किशोर पुस्ताका यी प्रतिनिधि यो भनाइमा सहमत छन् ।
मनोविज्ञान बुझ्नु जरुरी छ
गोविन्दप्रसाद श्रेष्ठ, रत्न पुस्तक भण्डार
हामीले अहिले किशोरपुस्तालाई नै लक्षित गरेर पुस्तक निकालेका छैनौं, पहिला निकालेको थियौं । त्यसमा जासुसी र प्रेमकथामा आधारित उपन्यास थिए । अहिले नेपाली बजारमा किशोरपुस्ताले पढ्ने पुस्तक कमै छन् । नेपाली पुस्तक उनीहरूको रुचिमा पनि पर्दैन । अहिलेको पुस्ता अंगे्रजी साहित्यमा अभ्यस्त भएका छन् । विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइने भएकाले उनीहरू नेपालीमा लेखिएको पुस्तक पढ्न गाह्रो मान्छन् । अंग्रेजीमा उनीहरूको रुचि आख्यान, गैरआख्यान, साहसिक, भूतकथा, विज्ञान, सस्पेन्स र केही मात्रामा प्रेम–रोमान्सका पुस्तक रुचाउँछन् । उनीहरूमा पढ्ने, लेख्ने र बुझ्ने क्षमता बढी छ । अंग्रेजी पुस्तक महँगो भए पनि खोजी–खोजी पढ्छन् ।
नेपाली बजारमा बालसाहित्य थुप्रै छन् । माथिल्लो उमेरकाले पढ्ने पनि छन् तर बीचको उमेरका लागि पुस्तक निकालिएको छैन । उनीहरू अनलाइनबाट पढिरहेका हुन्छन् । पहिलेको तुलनामा किशोरपुस्तामा पढ्ने संस्कृति बढे पनि सन्तोषजनक छैन ।
उनीहरूको मनोविज्ञान र रुचिको विषय कस्तो छ बुझेर पुस्तक निकाल्नुपर्छ । यसका लागि अनुसन्धान गर्नु जरुरी हुन्छ । त्यसका साथै उनीहरूको पढ्ने लेभल कतिसम्म छ भनेर बुझेर पुस्तक लेखिनुपर्छ ।
थ्रिलर सिरिज र सेल्फ मोटिभेसनका पुस्तक किन्छन्
कविता मगर, एकता बुक्स वितरक
पुस्तक किन्नका लागि टिनएजर्सहरू धेरै आउँछन् । अहिले करका कुराले अंग्रेजी पुस्तकको अभाव छ । उनीहरू प्रायः अंग्रेजी पुस्तक रुचाउँछन् । त्यसैले पहिलेको तुलनामा बिक्री केही घटेको छ । उनीहरूले थ्रिलर, सिरिज बुक, लभ स्टोरी र सेल्फ मोटिभेसन बढाउने पुस्तकहरू बढी किन्छन् । नेपाली साहित्यका पुस्तक कमै किन्छन् ।
टिनएजर्सलक्षित पुस्तक आउन थाले
अजित बराल, प्रकाशक फाइन प्रिन्ट
टिनएजर्सलाई नै लक्षित गरेको नेपाली पुस्तक पहिला खासै प्रकाशन हुँदैनथ्यो । पछिल्लो समयमा धेरै आउन थालेको छ ।
प्रायः टिनएजर्स ‘क्याम्पस नोेबल’ अर्थात क्याम्पसको पृष्ठभूमिमा लेखिएको रोमान्स र प्रेम मन पराउँछन् । कुनै पनि व्यक्ति हुर्कंदै गर्दा उनीहरूको मनोविज्ञानमा परिवर्तन आउन थाल्छ । त्यसलाई दर्साउने पुस्तक उनीहरू रूचाउँछन् ।
साक्षरता दर बढ्दै गएको छ । जनसंख्या पनि बढ्दै गएको छ, जसले गर्दा पढ्ने संस्कृति पनि बढ्दै गएको पाइन्छ । तर, पछिल्लो एक वर्षमा पुस्तकको बजार खस्केको छ । अहिलेको पुस्ता फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता सामजिक सञ्जालमा बढी समय व्यतीत गर्ने भएकाले पुस्तकले बजार नपाएको हुन सक्छ । सबै जना सामाजिक सञ्जालमा बरालिने भएकाले समय छुट्ट्याएर पढ्ने बानी हराउँदै गएको छ ।
व्यस्त जीवनशैलीको कारण सबैसँग समय कम छ । बचेको थोरै समय पनि इन्टरनेटको सहज पहुँचका कारण सामजिक सञ्जालमा भुल्न थालेका छन् । मलाई लाग्छ, सुबिन भट्टराईकै जस्तो उपन्यास अहिलेका टिनएजर्सले रुचाउँछन् ।
हामी लेखकमा कमजोरी छ
सुबिन भट्टराई, आख्यानकार
पहिले र अहिलेको तुलना गर्ने हो भने टिनएजर्सहरूमा पठन संस्कृतिको विकास भएको छ । अहिले ठाउँ–ठाउँमा खुलेका बुक क्लब, पुस्तकालयहरूमा टिनएजर्सको बाक्लो उपस्थिति देख्न सकिन्छ । तर, यतिमै चित्त बुझाउनु भने हुँदैन । अझै युवा पाठक बढाउनुपर्छ । टिनएजर्समा पढ्ने वातावरण बनाउन सकियो भने उनीहरूमा पठन संस्कृतिको विकास हुनेछ ।
किशोरपुस्ता गहिरो साहित्यभन्दा हल्काफुल्का सहज भाषामा लेखिएको पुस्तक मन पराउँछन् । उनीहरूमा हरेक किसिमको पुस्तकमा रुचि छ । हामी लेखकहरूमा कमजोरी छ । सबै किसिमको पुस्तक लेख्न सकिएको छैन । हामी लेखकहरूले दायरा फराकिलो बनाउनुपर्छ । एउटै विषयमा मात्र नभएर पाठकलाई आकर्षक लाग्ने खुराकहरू पस्किन सके टिनएजर्समा पठन–संस्कृति बढाउन सकिन्छ ।