कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन नेपालमा उच्च सतर्कता अपनाइएको छ । सरकारले ‘लक डाउन’ गरेर बाहिर निस्कन प्रतिबन्ध लगाएसँगै नागरिकहरू घरमै (सेल्फ क्वारेन्टाइनमा) छन् ।
मान्छे त घुमिरहनु पर्ने प्राणी, स्वाभाविक हो– एकै ठाउँमा बसिरहनु पर्दा पट्यार लाग्छ, छट्पटी हुन्छ । तर लेखक अमर न्यौपाने भने यस्तो बेला संसार घुम्न सुझाउँछन् ।
कसरी ?
‘किताब पढेर,’ उनी सहजै उत्तर दिन्छन्, ‘किताबको संसार भनेको पनि यही धर्तीको संसार हो । यो समयमा भौतिक रूपमा कतै घुम्न नपाए पनि किताबले तपाईंलाई विभिन्न ठाउँमा घुमाउँछ ।’
किताब पढ्नु भनेको एकाग्र हुनु र मनमा शान्ति पैदा गर्नु पनि भएकाले यस्तो समयमा किताब एक्लोपनको साथी हुन सक्ने उनको भनाइ छ । उनको आशयलाई पछ्याउने पनि धेरै छन् ।
यो कुरा बुझेरै होला, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्पूर्ण भेटघाट बन्द गरेर ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्ड राजनीति, इतिहास, साहित्य र दर्शनका विभिन्न किताबहरू अध्ययनमा लागेका छन् । नेकपाकै उपाध्यक्ष वामदेव गौतमले पनि क्वारेन्टाइनको समयमा किताब पढेर बसिरहेको जानकारी दिएका छन् ।
लेखक बुद्धिसागर मोबाइल बन्द गरेर किताब पढिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत धेरै पहिलादेखि पढ्ने रहर भएको ‘वार एन्ड पिस’ पढिसकेको जानकारी दिएका छन् । साहित्यकार एलबी क्षेत्री कविडाँडामा किताब पढेर समय बिताइरहेका छन् । फेसबुकमा बगैँचामा किताब पढ्दै गरेको तस्बिर राखेर उनले लेखेका छन्, ‘किताब, बगैँचा र सेल्फ क्वारेन्टाइन ।’
यो समयमा भेटघाट बन्द गरेर किताबलाई समय दिनेमध्ये अर्का हुन् प्रा.डा. कृष्ण पौडेल । पौडेल दुई किताब ‘कुमाता’ र ‘सरसर्ती संसार’ पढिरहेका छन् । जसबारे फेसबुकमा स्टाटस पनि राखेका छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिन्छ, किताब पढिन्छ ।’
कलाकार सागर खनाल पनि ‘सेल्फ क्वारेन्टाइन’मा किताब अध्ययन गरिरहेको बताउँछन् । भन्छन्, ‘कोरोना संक्रमण जोखिमका कारण अहिले घरमै छु । किताबहरू अध्ययन गरिरहेको छु ।’ उनी एक्लोपनको सबैभन्दा प्रिय साथी किताब भएको बताउँछन् । पाउलो कोएल्होको ‘एलेफ्’ पढिरहेका उनले त्यसपछि पढ्न ४ किताब किनिराखेका छन् ।
गजलकार पहल असीम दामोदर न्यौपानेको ‘सम्पदा लडाइँ’ पढिरहेका छन् । इलामकी बालिका थपलिया यो समय सदुपयोगका लागि अमला अधिकारीको ‘आलय’ उपन्यास पढिरहेको बताउँछिन् ।
केही नयाँ, केही साँचिराखेका
‘लक डाउन’ हुनुअघि चितवनको ‘सम्पूर्ण किताब पसल’बाट ग्राहकले किताब किनेर राखेका छन् । तुलनात्मक रूपमा ग्राहक कम आए पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्दा पढ्नका लागि केही किताब किनेर लगेका संचालक लेखराम सापकोटाले बताए । त्यसैमध्येका हुन्– प्राध्यापक तेजबहादुर कार्की । उनले ‘डोरबहादुर विष्टका कथा’ र बिपी कोइरालाको ‘जेल जर्नेल’ सम्पूर्णबाटै किनेर लगेका छन् । चितवनका कांग्रेस नेता युवराज भुसालले निरू त्रिपाठीको ‘पेरिस्कानो’, दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’ र ‘बिपी कोइरालाको डायरी’ किने ।
यो समयमा अनलाइनबाट किताब मगाउनेहरूको संख्या पनि निकै छ । अनलाइन या फोनमार्फत अर्डर गरेपछि घरमै किताब पु¥याउँदै आएको ‘किताब यात्रा’का संचालक ऋषिराम अधिकारी पछिल्लो एक महिना ‘क्वारेन्टाइन’मा बस्नेहरूले किताबको निकै माग गरेको बताउँछन् । ‘सकारात्मक ऊर्जा दिने खालका, नन–फिक्सन र फिक्सनको माग बढेको छ । यो समयमा हामीले सबैभन्दा धेरै ओशोका किताब बिक्री गर्यौ’, उनले भने । यसरी अनलाइनमार्फत किताब अर्डर गर्ने मध्येका हुन्– रंगकर्मी टंक चौलागाईं । उनले किताब यात्रा डटकम र थुप्रै डटकमबाट ‘मोहनदास’, ‘नेलकटर’, ‘प्रणयपथ’, ‘घाचर घोचर’ र ‘कोटेश्वरको केटो’लगायतका किताब मगाएका छन् । उनले भने, ‘घरमा बस्दा किताब पढेर समयको सदुपयोग गर्ने सोचले केही किताब मगाएर अध्ययन गरिरहेको छु ।’ उनले राजेन्द्र पराजुलीको ‘कोटेश्वरको केटो’बाट पठन सुरु गरेको बताए ।
‘लक डाउन’ पछि भने अनलाइनमार्फत अर्डर लिएर घर–घरमा किताब पु¥याउने सेवा प्रभावित भएको छ । तथापि किताबप्रेमीले किताब संग्रह गरेर राखेकै हुन्छन् । जस्तो कि, किताबप्रेमी नायिकाको परिचय बनाएकी ऋचा शर्माले ‘सेल्फ क्वारेन्टाइन’लाई लक्षित गरेर ७ किताब किनिराखेकी छिन् । नेपालयबाट प्रकाशित भएर बजारमा आइ नसकेको सरला गौतमको किताब ‘दुमेरु’ उनी समीक्षाका लागि पढिरहेकी छिन् । भूमिका श्रेष्ठको बायोग्राफी ‘भूमिका’ त्यसपछिको सूचीमा छ उनको । उनी किताब पढ्नुलाई ध्यानको रूपमा लिन्छिन् । भन्छिन्, ‘आफ्नो संसार बिर्सिएर किताबको संसारमा पुग्नुको मज्जा नै अर्कै छ ।’
पिडिएफ विकल्प
सरकारले ‘लक डाउन’ गरेपछि किताब पसल र अनलाइन बिक्री सेवा पनि बन्द भएको छ । जसको विकल्पमा धेरैले आफूसँग भएका पिडिएफ किताब आदानप्रदान गरिरहेका छन् । त्यसैमध्येका हुन् पाठक रेशम अधिकारी । उनले ‘भोल्गा से गंगा’ किताब पिडिएफ पढेको बताउँछन् । उनकाअनुसार आफूले पढेपछि सय जनाभन्दा धेरैलाई इमेलमार्फत पठाइसकेका छन् ।
लेखक मीनराज वसन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंसँग राम्रा किताब छन्, पिडिएफमा ? त्यसो भए पठाउनुहोला ।’ उनको स्टाटसमा धेरैले कमेन्ट गरेर आफूहरूलाई पनि पिडिएफ पठाउन आग्रह गरेका छन् । भारत पुगेका उनी ‘लक डाउन’ भएपछि उतै बस्नु परेको छ । अहिले अमृता प्रितमको आत्मकथा ‘रसिदी टिकट’ पढेर सिध्याउनै लागेको जानकारी फेसबुकमार्फत दिएका उनले त्यसपछि मेलमा आएका पिडिएफ पढ्ने योजना सुनाए ।
किताबका फाइदै–फाइदा
किताब पढ्दा समयको सदूपयोग मात्र हुँदैन, यसले बौद्धिक तथा मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । किताब पठनले तनाब कम गर्ने, मस्तिष्कको कसरत हुने, स्मरण शक्ति बढ्ने, दुःखमा सान्तवना मिल्ने, फूर्ती बढाउने र युवा मस्तिष्कको विकासमा सहयोग पु¥याउने विभिन्न अध्ययनले देखाएका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका कथाकार रवीन्द्र समीर किताबले मनोबल उच्च राख्न औषधिको काम गर्ने भएकाले यो किताब पढ्ने सबैभन्दा उपयुक्त समय भएको बताउँछन् । भन्छन्, ‘अहिले हामी कोरोनाको भयमा छौं । यस्तो अवस्थामा तनावबाट मुक्ति पाउन किताब अध्ययन सबैभन्दा उपयुक्त माध्यम हो ।’
ऋचा त किताब पढ्नुलाई ध्यानको रूपमा लिन्छिन् । उनी भन्छिन्, ‘आफ्नो संसार बिर्सिएर किताबको संसारमा पुग्नुको मज्जा नै अर्कै छ ।’
कोठाभित्रै बसेर संसार बुझ्न किताब सहयोगी बन्ने तर्कमा लेखक सुबिन भट्टराईको सहमति छ । उनी भन्छन्, ‘आखिर कोठाभित्र बसेर पनि संसारलाई केही हदसम्म बुझ्न सकिन्छ । कोरोनाले भीडभाड निषेध गर्न सक्ला तर, हाम्रो ऊर्जा–सिर्जनामा रोक लगाउन कहाँ सक्ला र !’