मोबाइलमा ‘सेट’ गरेर ‘अलार्म’
त्यसअघि नै ब्युँझन्थेँ,
यथावत हुँदा–हुँदै हिजोको थकान
आजको तयारीमा जुट्थ्यो अल्छी शरीर
यो गर्नु छ
त्यो गर्नु छ
त्यो पनि त गर्नु छ भन्दै
दौडिरहेको मस्तिष्कमा
अचानक ‘ब्रेक’ लागेपछि थाहा भयो
रफ्तार जिन्दगीको,
रोकिए पनि शरीर
मस्तिष्क त छैन अझै नियन्त्रणमा ।
‘बस्न पाइएन’ भन्ने गुनासो बोकेर
कुदिरहेको म
अचेल ‘कति बस्नू !’ भन्ने गुनासो
काखी च्यापेर बसिरहेछु
लाग्दैछ, म जिन्दगी होइन
गुनासो बाँचिरहेथें ।
हर बिहान, दिन, साँझ अनि रातमा
कहिले रहरले
कहिले करले
आफ्नो छाती कुल्चिरहेको
सहने बानी परेको मलाई
अहिलेको आरामले
झसंग–झसंग झस्काउँदै छ
सोच्दै छु
सोध्दै छु आफैँसँग
कुन शक्तिको प्रताप हो यो ?
अचेल त म सास पनि फुर्सदले फेर्छु ।
खुल्लामा, बन्दमा वा भीडमा
कतै नभेट्नू अरूलाई भन्ने आदेश दिएरै
समयले सम्बन्ध बिच्छेद गर भन्दैछ
म मान्दैछु
तिमी ‘माया लाग्दैन मेरो ?’ भन्छौ
लाग्छ र त छुट्टिदै छु
अहो ! कति फरक भयो
प्रेमको पनि परिभाषा है ?
प्रेम छ भने परै बस
परै बस प्रेम छ भने अरूसँग
परै बस प्रेम छ भने आफैंसँग ।
अचेल पो बल्ल आफ्नाहरूको
आफ्नो हुने समय आएछ
परिवार, परिवारजस्तो भएछ
नानीहरू खेलिरहेछन् बाबासँग
छोराहरू गफिदैछन् आमासँग
प्रार्थनामा हजुरआमाहरु भनिरहेछन्–
‘जसरी भयो, राम्रो त भएन
तर जे हुँदैछ, राम्रो हुँदैछ
यो राम्रोलाई जतन गरेर राख्नू !’
गाउँले फेरि देख्न पाएको छ
सहर पसेको सन्ततिलाई
सहरले शान्ति पाएको छ एकछिन
एक्लै हुनेहरू एक्लै–एक्लै भए
र, त नियाल्ने फुर्सद मिलेको छ
आफैंभित्रको विशाल ब्रम्हाण्ड
खोज्ने समय पाएका छन्–
सब पाएर पनि नपाइएको खुशी
यो खोजमा तिमीले के के भेट्टायौ ?
म देख्दैछु नजिकबाट
टिप्न छुटेका उमंग
समाउन छुटेका हात
बाँच्न बिर्सिएका पल ।
समय ‘लक डाउन’ भएको यो विश्व
विश्व नै ‘लक डाउन’ भएको यो समय
म दौडिरहेछु आफैंभित्रको म्याराथन
भेट्टाउनु छ जिन्दगी
सिक्नु छ जिउने कला
तिमी पनि सिक
एक निमेष पनि खेर नफाली ।
भ्रमको खेती बन्द गरेर
श्रमको खेती सिक
त्रासमा सास फेर्न छोडेर
आशको विरूवा उमार्न सिक
यो बेला त बित्छ जरूर
अनि फेरि सुरू हुनेछ
भागदौड जिन्दगीको
अनि आउने छैन फर्किएर
बाँच्न सिकाउन फेरि
मृत्युको यस्तै डर
कोरोना बनेर ।
जिन्दगी त हरेक पलमा सुन्दर नै छ
बाँच यसलाई
र भनिदेऊ उसलाई
डियर कोरोना
तिमी त मार्न भनी आएका थियौ
तर हेर यहाँ
म त जिन्दगी बाँच्न सिकिरहेछु
हामी जिन्दगी बाँच्न सिकिरहेछौं ।
हालः अमेरिका
डियर कोरोना वाचन गर्दै कवियत्री अमृता नेपाल