‘बाख्राले हरियो घाँस खान पाउँदा जस्तो आनन्द मान्छ नि, मलाई कफी खाँदा त्यस्तै आनन्द आउँछ’ राजधानीको एक कफी सपमा पत्रकार तथा साहित्यकार नारायण वाग्ले आफ्नो कफी प्रेम पोख्छन् ।
‘यस्तो आनन्द ! किन, कसरी ?’, मैले प्रश्न गर्न नपाउँदै उनको जवाफ आइसक्छ, ‘यसको सुगन्धमा हराएर कल्पनामा डुब्नुको मज्जा नै बेग्लै छ नि कृष्ण ।’
तर अहिले लकडाउन छ । वाग्लेसँग भएको कफी पनि सकिएको छ । न कफी सप नै खुलेका छन् । त्यसैले उनलाई अहिले अनसन बसेजस्तो लागेको छ । उनी भन्छन्, ‘कफीको तलतल किताबले मेटिरहेको छु ।’
अनसनमा मात्र कफीविना बस्न सक्छु भन्ने वाग्लेलाई लकडाउनले पनि कफीविना बस्न सिकाउँदैछ । र, कफी विना नै पुस्तक अध्ययन र लेखनमा मन दिइरहेका छन् । कफीजस्तै दैनिक हिँड्नु पनि उनको लत हो । वाग्ले भन्छन्, ‘अहिले यस्तो सफा छ, धुलो छैन । प्रदुषण छैन । यतो बेला हिँड्न नपाउँदा खुट्टा नै मकमकिएको छ ।’
त्यसो त वाग्लेका लागि कफी जीवन नै भनेजस्तो चाहिँ होइन । कफी उनका लागि दैनिकी थियो । काम गर्नु, खाना खानु, शौच गर्नुजस्तै ।
‘नारायण वाग्लेले निकै धेरै कफी पिउँछ भन्ने भ्रम हो’ वाग्ले मुस्कुराउँछन् । स्तम्भको नाम कफी गफ, पुस्तकमा कफी गफको प्रसंग भएका कारण नचिन्नेहरू उनलाई ‘कफी एडिक्टेड’ र महागफाडी सोच्छन् । तर, उनी न कफीका एडिक्टेड हुन् न गफाडी नै । वाग्ले बोल्न कम, सुन्न र लेख्न बढी रूचाउँछन् ।
बोल्दा पनि हातका औँलाहरू हल्लिरहेका हुन्छन् । यसको अर्थ, ओठबाट आउनुपर्ने कुराहरू औँलाबाट आएको हो । उनलाई लाग्छ, आफ्नो औँलाबाटै शब्द र ध्वनी निस्कन्छन् । जसलाई अरूले त सुन्न सक्दैनन्, उनीचाहिँ महसुस गर्छन् । त्यसकै आधारमा आफूलाई अभिव्यक्त पनि गर्छन् । बस्, अगाडि उनलाई मन पर्ने कफीचाहिँ हुनुपर्यो । उनको कफी लत यस्तो प्रकारको हो ।
वाग्ले उतिबेला भन्थे– कफीविनाको जीवन धड्कनविनाको मुटुचाहिँ होइन । यो त केवल अनसन बसेजस्तै हो । ‘म जीवनमा अनसन नै बस्नुपर्यो भने कफी पिउँदिन होला नत्र भने छाड्दिनँ सायद’ । तर अहिले अनसनविना नै कफी छाडिरहेको छन् । यसैलाई भनिएको होला ‘बेलाअनुसारको बात ।’
० ० ०
अब हालको परिवेशबाट अलिकति उनका पुराना कुरातिर फर्कौं । उनको कफी लतबारे कुरा गरौं ।
चिनी र दूधको स्वाद लिन कफी पिउन सुरू गरेका वाग्लेलाई आफूमा कफीको लत कहिले बस्यो भन्ने ठ्याक्कै हेक्का छैन । उनी लतलाई गीतको धुनसँग तुलना गर्छन् । आफूलाई थाहा नहुने तर, गुनगुनाउँदै हिँडिरहन मन लाग्ने ।
‘लत भन्ने कुरा भित्र विकास भइरहेको हुन्छ, आफूलाई थाहा हुँदैन’ क्यापुचिनोको एक घुट्की लिँदै वाग्ले भन्छन्, ‘पछिमात्र आफूलाई महसुस हुन्छ । त्यो पनि धेरै पछि ।’ अर्थात, कफीको तलतल समाचारको डेडलाइनजस्तो हुँदैन । कहिले, किन र कसरी भन्नलाई ।’
त्यसो त उनका लागि कफी लतभन्दा बढी बहाना हो । पिउनकै लागि पिउनु र बहानाका लागि पिउनुमा फरक रहेको उनको बुझाइ छ ।
त्यसोभए उनी कुन बाहानाका लागि कफी पिउँछन् त ?
‘मलाई लेख्ने, पढ्ने बहाना चाहिएको हुन्छ अनि कफी पिइदिन्छु’ वाग्ले भन्छन् । अर्थात, उनलाई कफी पिएपछि लेख्ने मुड आउँछ, पढ्न मन लाग्छ, छलफल तार्किक बनिदिन्छ । काठमाडौंका राम्रा भनिएका हरेक कफी हाउसमा वाग्ले पुगेका छन् । यतिसम्म कि मुड चल्यो भने हिँडेरै उनी भित्री बाटो हुँदै थापाथलीबाट महाराजगञ्जसमेत पुगिदिन्छन् ।
‘कफी एउटा बहाना हो यहाँ पनि । खासमा, हिँड्दा म केही सोच्छु, केही आफैँमा हराउँछु अनि केही समय र परिवेशलाई बुझ्छु’, उनी राज खोल्छन् । कफी हाउसको सजावट हेरेर त्यहाँ छिर्छन् अनि रमाउँछन् पनि । मिनी बुक शप नभएका कफी हाउसमाचाहिँ खासै छिर्दैनन् । पढ्न नपाएपछि कफीको बहाना निस्तो बनिदिन्छ ।
त्यसो त कहिलेकाहीँ कफीले वाग्लेलाई यसरी लठ्याइदिन्छ कि उनको दिमाग शून्य हुन्छ । त्यसपछि त्यहाँ खेल्न थाल्छन्, अनेकन शब्द । शब्द कतिबेला वाक्य बन्छन् र वाक्य अनुच्छेद बनिदिन्छन्, उनलाई पत्तै हुँदैन । उनी आफ्नो कलम चलाइरहन्छन्, कफीको वासनामा हराउँदै ।
‘लेख्न बस्दा लेख्ने कुरा आएन भने कफी नभएर होला भन्ने लागिहाल्छ । कफीले निकास दिन्छजस्तो लाग्छ’ उनी प्रस्ट्याउँछन्, ‘कफीले मस्तिष्कमा सिर्का हान्छ । त्यसैले यसमा केही न केही चीज पक्कै छ ।’ अर्थात, वाग्ले आख्यानमा पात्र निर्माण गर्न कफीको चुस्की लिन्छन् । आफूमा भइदिने विचारविहीनताको बन्धन फुकाउन कफी पिउँछन् ।
कुनै समय वाग्लेको कान्तिपुर कोसेलीमा आउने ‘कफी गफ’ स्तम्भ निकै लोकप्रिय थियो । पछि उनले आफ्नो कृतिमा पनि कफी गफका विविध प्रसंग मिसाए ।
उनी कफी गफलाई उकुसमुकुस भएर बसेका पात्रलाई निकास दिने माध्यम भन्न रूचाउँछन् । कफीले सिर्का हान्ने काम गर्छ भने गफ सिर्कालाई वर्णन गर्ने माध्यम हो । वाग्ले भन्छन्, ‘यी दुवैको मिश्रणबाट एउटा भाव सिर्जित हुन्छ । त्यो नै कफी गफ हो ।’ कफी गफ भावनामात्र पनि होइन, ‘रियालिटी’ पनि हो । सिर्जनामा पनि त ‘रियालिटी’ ‘फिक्सनाइज्ड’ हुन्छ ।
जे होस्, वाग्लेका लागि कफी लेख्नका लागि बहाना हो । जुन बहाना ‘लकडाउन’ले छुटाइदिएको छ । ‘लकडाउन’को यो सकसबीच पनि उनी लेखपढ भने गरि नै रहेका छन् ।