साप्ताहिक संवाददाता
सरकारले एक साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरिरहँदा अभिनेत्री लक्ष्मी बर्देवा रामेछापस्थित मुगीटारमा एक फिल्मको सुटिङमा व्यस्त थिइन् । उनीसँगै त्यहाँ करिब ३५ जनाको टोली थियो ।
लक्ष्मीलाई लाग्यो– ला...अब फसियो । सबैको मनभित्र डरमात्रै थियो– ला...अब के हुन हो ? लकडाउन सुरु भएको तीन दिनसम्म एउटै कुराको चिन्ता थियो– अब घर कसरी पुग्ने ? खानेकुराको समेत अभाव सुरु भइसकेको थियो ।
उनीहरु बसिरहेको होमस्टेमा संचालकका आफन्त आएर बस्न थालेपछि झन् ठूलो समस्या सिर्जना भएको थियो । कसैलाई पनि त्यतै दिन कटाउन मन थिएन । कारण, काठमाडौंबाट मान्छे लाइन लागेर गाउँ फर्किरहेका थिए । त्यसैले लक्ष्मीमा पनि लागेको थियो– कोरोनाको जोखिम त झन् गाउँमा बढी हुने भयो ।
त्यसैले त्यहाँ फसेका सबैजना आ–आफ्नो तर्फबाट काठमाडौं फर्किन चाँजोपाँजो मिलाइरहेका थिए । लामो प्रयत्नपछि बल्ल काठमाडौं फर्किने पास व्यवस्था भयो । र, यसरी लकडाउनको चौथो दिन लक्ष्मी काठमाडौंस्थित आफ्नै डेरामा आइपुगिन् ।
त्यसपछिका दिनहरू घरभित्रै बितिरहेका छन्, पति कलाकार जीवन भट्टराई र थिएटरका थप दुई साथीसँगै ।
धेरैलाई थाहा नहोला, लक्ष्मी कविता लेख्छिन् । रामेछापमा हुँदा तनावकै बीच उनले ‘एक्लै’ शीर्षक कविता लेखिन् ।
अहिले चाबहिलस्थित आफ्नै डेरामा रहेकी उनको लकडाउन समय राम्रै बितिरहेको छ । ‘कहिले फिल्म हेर्छौं, कहिले व्यायाम गर्छौ,’ आफ्नो लकडाउन अनुभूति सुनाउँदै उनी भन्छिन्, ‘सबै मिलेर खाना बनाउँछौँ । गफ गर्छौं । घरी–घरी चाहिँ सधैँ यत्तिकै भित्रै पो भइन्छ कि भन्ने पनि लाग्ने रहेछ ।’
उनको सम्झनामा भएसम्म यति लामो समय घर बसेको पहिलोपटक हो । एकपटक बाहिर पसलसम्म निस्किएकी छैनन् उनी । ‘छुट्टै किसिमको डर हुने रहेछ,’ उनी भन्छिन्, ‘सबै चाँडै ठिक होस् भन्ने कामना गर्न र घरै बसेर सहयोग गर्नुबाहेक अहिले हामीसँग अरु कुनै विकल्प छैन ।’
अब पढौं, लक्ष्मीले केही लकडाउनका बेला र त्यसअघि लेखेका पाँच कविता :
एक्लै
संसारलाई उज्यालो पार्ने त्यो सूर्य एक्लै छ,
एक्लै छ त्यो चन्द्रमा, यो पृथ्वी एक्लै छ !
एक्लै वर्षौं देखि छ त्यो चोकमा सालिक उभिएको ,
मुर्ति एक्लै छ भनेर कसले छ र नढोगेको !
एक्लै निरस फैलिएको छ, त्यो बत्तीमुनिको उज्यालो
म एक्लै,
ऊ एक्लै,
अनि ‘म’सँगैको ‘ऊ’ नि एक्लै
हो रहेछ !
साँच्चै हो रहेछ !!
भीडहरू त भेडाहरूको लागि पो रहेछ ।
खबरहरू
तिमी त्यता तल बाटोबाट
माथि उक्लिँदै गर्दा
उकालोमा उक्लन नसकेर
बाटोमा अलपत्र परेर बसेका,
उसले मेरा लागि पठाएका केही थान खबरहरू देख्यौ ?
पक्कै केही भएको हुनुपर्छ !
नत्र, ऊ यसरी मलाई नसम्झी बस्ने मान्छे हैन !
सोच्दा हुन् !
मबिना त रुखको के अस्तित्व होला र ?
हाँगामा अल्झिएर बसेका पातहरू सोच्दा हुन् !
म नहुँदो हुँ त, न तारा हुन्थ्यो, न चन्द्रमा !
मन–मनै ती अँध्यारा रातहरू सोच्दा हुन् !
सम्बन्धको पर्खाल निकै कमजोर हुने रहेछ
विश्वासमाथि बजारिएका घातहरू सोच्दा हुन् !
मेरै निम्ति त यो यती राम्री भएर हिनेकी छे,
मलाई मन नपरी छुने ती हातहरु सोच्दा हुन् !
आफैंलाई बिर्सेर
दोबाटो आयो भनेर नसम्झाए हुन्छ मलाई
लागे हुन्छ तिमी आफ्नै बाटो,
तिमी नहुँदा पनि कहाँ दुख्छ र मलाई
अहँ हुन्न, केही हुन्न मलाई
बस्, सम्झिउँला म
हिजो तिमीसँग बिताएका एक–दुई थान पल
त्यो क्याफे सम्झिउँला,
जहाँ चिया खाने बहानामा ६ चोटि पुगेको
तिमीले मलाई, मैले तिमीलाई घर छोड्ने बहानामा
कैयौँ चोटि रल्लेको त्यो गल्ली सम्झिउँला,
अनि सम्झिउँला म रिसाउँदा
तिमिले फकाउन गरेका ती सैयौं मिस्ड कल
र, बिहान रिसकै झोँकमा मलाई
‘अबदेखि फोन नगर’ भनेको वाक्य सम्झिउँला...
अनि झोँकमै आफैँले फोन काटेपछि
साँच्चै अब नभेट्ने हो कि भनेर सोचेको त्यो डर सम्झिउँला !
सम्झिउँला
तिमीलाइ मन पर्ने
खाना,
रंग,
हेयर स्टाइल
तिमीलाई मन पर्ने त्यो चेक सर्ट
सम्झिउँला, तिमिलाई मन पर्ने मान्छेहरू
तिम्रा आफन्त
यी सब चिज सम्झिए पनि
म सम्झने छैन तिमीलाई
अहँ पटक्कै सम्झने छैन !
बेनामी कविता
म जस्तै थियो होला ऊ
जसले हिजो देख्यो मैलेजस्तै सपनाको अनेक रंग
उड्यो होला कल्पनाको निलो आकाशमा
रहरको भारी बोकेर
केही गरेरै देखाउँछु भन्थ्यो होला यो दुनियाँलाई
दुई–चार चोटि अखबारको शीर्षक बन्दा
खुशी ऊ पनि भयो होला
खैर जे होस म जस्तै थियो होला ऊ !
संसार जित्ने सपना देख्ने ।
तर आज म उसलाई चिन्दिनँ
थाहा छैन मलाई उसको नाम
केही त थियो होला कमी उसमा
त्यसैले इतिहासमा स्वर्णिम अक्षरले
उसको नाम कोरिएन,
कहीँ कतै उसको वर्णन छैन
खैर, म उसलाई चिन्दिनँ
मलाइ डर यति मात्रै छ
भोलि कसैले मलाई यसै भन्दै बेनामी कविता लेख्दियो भने !