लकडाउनको अघिल्लो दिन एकजना साथीको कथा संग्रह फाइनल गर्दै थिएँ । प्रेसमा पठाउन अन्तिम तयारी गर्दा–गर्दै लकडाउन हुने घोषणा भयो । त्यसले चिन्तित बनायो । हुन त विश्व नै संकटमा परेको अवस्था थियो । लकडाउनको हल्ला पहिल्यैदेखि नै थियो । अत्यावश्यक सामग्री घर घरमा राखिरहेका छन् भन्ने कुरा आइरहेको थियो । तर, मेरो तयारी केही थिएन । त्यही दिन साँझ ८ बजे म डेरामा आइपुगें । अनि छोरालाई लिएर सामान किन्न गएँ ।
यस्तो बेलामा सानो बालबच्चाको चिन्ता हुँदो रहेछ । मेरो १३ वर्षको सानो छोरा छ । यदि केही गरी बाबुछोरा नै बिरामी भइयो भने कसले कसलाई हेर्ने भन्ने चिन्ता भयो ।
लकडाउनले कोठामा थन्किनु पर्ने त भयो । हामी कामकाजी मान्छे कोठामा धेरै रहन पाउँदैन थियौं । अरू बेला पनि बाहिरै बढी हुन्थ्यौं । कोठामा रहँदाको अनुभूति बेग्लै हुँदो रहेछ । पढ्न र सरसफाइ गर्न मन लाग्ने । यो बेला छोरालाई समय दिन पाएँ । छोरा र म त साथीजस्तै छौं । पहिले उसको स्कुल हुन्थ्यो । मेरो पनि काम हुन्थ्यो । फुर्सद हुन्न थियो । अहिले उसलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर पाइरहेको छु ।
यो लकडाउनको बेलामा मैले नियालेर हेरें, ऊ पनि अब ठूलो भइसकेको रहेछ । पहिले सानै छ जस्तो लाग्थ्यो । धेरै दिन लगातार सँगै बस्दा लाग्यो– छोरा ठूलो भइसकेको रहेछ । कति कुरा आफैंलाई थाहा थिएन । छोराले सिकाइरहदा दंग परें । मास्क कसरी प्रयोग गर्ने भन्ने कुरा पनि मलाई छोराले सिकायो । छोराको हेरचाह अरू बेला भन्दा बढी अहिले गरिरहेको छु । बाबु–छोराबीचको दूरी पनि झन्–झन् घटिरहेको छ ।
यो बेला धेरै विचार र भावनामा डुबिने पनि रै’छ । जसले मनलाई फेरि विचलित मात्र बनाउँछ । त्यो आउन नदिन मनलाई सिर्जनात्मक बनाउने गरेको छु ।
अहिले म साहित्यकार इन्द्रबहादुर राईको ‘इन्द्र सम्पूर्ण’को चौथो खण्ड पढिरहेको छु । कथाकार ललित विष्टको कथासंग्रह ‘मोहपथ’ पढिरहेको छु । यसमा एकदमै राम्रो कथा रै’छन् । सुदुरपश्चिम धनगढीका कथा छन् । चलिरहेको लेखन भन्दा अफ बिट टाइपका लेखन छन् । शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’ पढिरहेको छु । प्राविधिक रूपमा भाषालाई कसरी मीठो बनाउने भन्ने पुस्तकहरू पनि पढिरहेको छु ।
साथीभाइले सिफारिस गरेका फिल्महरू हेरिरहेको छु । हेरेका फिल्ममध्ये ‘भ्वाइस अफ इनोसेन्स’ फिल्म निकै राम्रो लाग्यो । जसमा साल्भाडोरको गृहयुद्धको त्रासदी चित्रण गरिएको छ । हुन त हामी पनि अहिले त्रासमा बाँचिरहेका छौं । रोगबाट आउने त्रास र युद्धबाट आउने त्रासबीच फरक त हुन्छ होला । तर रोग पनि भयानक नै हुन्छ ।
अहिले सबैसँग समय छ । यो बेलामा पुस्तक पढ्दा वा फिल्म हेर्दा प्रभावकारी हुन्छजस्तो लाग्छ । यो बेलामा पढेका कुरा पछिसम्म पनि याद हुन्छ । अरू बेलामा अफिस जाने–आउने हुँदा फुर्सदको समय कम हुन्छ । अरू बेलामा कामको दैनिकीले जनावर वा मेसिनजस्तै हुन्छौं । धेरै सोच्न र इन्जोय गर्न पनि पाउँदैनौं । भनेजसरी पढलेख गर्न पाउँदैनौं ।
अरूचाहिँ आवश्यकता र इच्छाअनुसार गरिरहेको छु । तर, नयाँ कविताको विषयमा केही सोचिरहेको छैन । साथीभाइले अहिले कोरोनामाथि राम्रो कविता लेखेका छन् । कोरोनामाथिको आम सोचाइ समान नै छ । त्यसलाई फरक तरिकाले सोचेर विनोदविक्रम केसीले 'लाल बहादुर घरभित्रै छ' लेखे । त्यो अर्को सोचाइबाट लेखिएको कविता छ । राबतको पनि फरक सोचाइको नयाँ कविता आएको छ । हुन त समकालीन कविहरूको सोचाइ झण्डै–झण्डै बराबर हुन्छ । त्यसैले अर्को साथीले लेखेपर्छि आफूले लेख्नु जरुरी छैन । त्यही कविताले काम चलाउँदा हुन्छ । मैले अहिलेको अवस्थाबारे त्यही भएर नयाँ कविता लेखेको छैन । यदि आवश्यक परे लेखौंला ।
लकडाउन अझै लम्बेला जस्तो पनि लाग्छ । यदि लम्बिदियो भने, धेरै पढ्नुपर्ने किताब पढ्छु ।
लकडाउनका सुरुका दिन प्रशस्त समय पाइएको जस्तो हुँदो रहेछ । जब दिनहरू बित्दै जान्छन्, बाहिर निस्कने हुटहुटी बढ्दो रहेछ । चोकसम्म पुग्न मन लाग्ने रहेछ ।
यो बेलामा मलाई नराम्रो अनुभव पनि भयो । सुरुदेखि नै कोरोना रोकथामको लागि चाहिने सबै सामग्री नेपाल सरकारले चाइनाबाट ल्याउने कुरा थियो । तर महासंकटको बेलामा पनि सरकारको कमिसन र भ्रष्टाचारको कुराले एकदमै तनाब दिइरहेको छ ।
यो हामी सबैलाई अचानक आइलागेको बाध्यता हो । नागरिकको कर्तव्य सम्झेर कोठैमा बस्नुपर्छ । लकडाउनको बेला आज कुन बार, कति गते भन्ने नै बिर्संदो रहेछ । क्यालेन्डरको महत्व नै बिर्संदो रहेछ । आफ्नो दैनिक जीवनको क्यालेन्डर मर्दो रहेछ । हरेक दिन कोठामै बस्यो, खाना पकायो, खायो, इन्टरनेट, सामाजिक सञ्जाल, पुस्तकहरूमा मन लगायो, यसरी नै बितिरहँदो रहेछ समय ।
(कवि स्वप्निल स्मृतिसँगको संवादमा आधारित)