बुद्धिसागरलाई एक सातासम्म भात नखाए पनि हुन्छ, तर मम: नभई हुन्न । उनीबारे ठट्टा बन्न सक्छ– उनी लेख्नमात्र होइन, मम: खान पनि जन्मिएका हुन् ।
ठमेलको एक रेस्टुरेन्टको भेटमा भनेका थिए, ‘कहिलेकाहीँ त म मम: खानका लागि घरबाट भात नै नखाई निस्कन्छु । घरमा जतिसुकै मीठो खाजा भए पनि मम: खान मन लागेपछि लाग्यो–लाग्यो ।’
यसरी बुद्धिसागरको दैनिकीसँग जोडिने एक चीज मम: पनि हो । उनी सम्भव भएसम्म दिनकै मम: पसल पुग्थे । अझ महाबौद्ध नै । घरबाट हिँड्दै जाने र मम: खाएर हिँड्दै फर्कने । उनी ठट्टा शैलीमा भन्छन्, ‘नत्र त भैंसीको मम: खाएर आफू पनि भैंसीजस्तै बन्ने सम्भावना हुन्छ नि । खानासँगै कसरत पनि आवश्यक हुन्छ । म दैनिक १० किलोमिटर हिँड्छु ।’
साहित्यिक कार्यक्रमका लागि तीन महिना अमेरिका जाँदा मम: खान नपाएका उनले एक दिन सामाजिक संजालमा लेखेका थिए, ‘मम:को तिर्खा पिज्जाले मेटिँदैन ।’ पछि त्यहाँ पनि मम: भेटेपछि सामाजिक संजालमा खुशी व्यक्त गरे । उनलाई चिन्ने धेरैलाई थाहा छ बुद्धिसागरको मम: प्रेमबारे । उनका शुभचिन्तकहरू उनीसँग भन्ने गर्छन्, ‘तपाईंसँग मम: खाने ठूलो धोको छ ।’
हामी भेटिएको रेस्टुरेन्टमा पनि मम:को स्वाद लिँदै उनले भनेका थिए, ‘मम: नखाने हो भने काठमाडौं नै किन बस्नु भन्ने लाग्छ । म न काठमाडौं छाड्न सक्छु, न विदेश जान नै । यसको मुख्य कारण नै मम: हो ।’ मम: र लेखनको पनि कुनै न कुनै सम्बन्ध छ भन्नेमा उनी विश्वास गर्छन् । ‘सायद मम: खाएपछिको सन्तुष्टिले लेखनमा पनि ऊर्जा थप्छ कि !’ उनी भन्छन् ।
तर, यतिबेला उनलाई काठमाडौंमै भएर पनि मम:बाट टाढिनु परेको छ । लकडाउनपछि घरबन्दी हुँदा उनलाई मम:को तलतलले कति सताइरहेको होला ? कि घरमै मम: बनाउँदै छन् ? उनको सरप्राइज जवाफ छ, ‘लकडाउनअघि जस्तो माहोल थियो, जस्तो जीवन थियो, अहिले त्यस्तो छैन । मीठो खाऊँ, रमाऊँ भन्ने नै लागेको छैन ।’
कोरोना भाइरसको संक्रमणको संत्रासले विश्वलाई सताइरहेको बेला उनको पनि मन बेचैन छ । लकडाउनको अघिल्लो दिन लन्डनबाट प्रोफेसर माइकल हट आएका थिए । उनीसँगको भेटमा बुद्धिसागरले मम: खाएका थिए । त्यसपछि माहोल फेरियो । माहोलसँगै बुद्धिसागरको मन पनि । त्यसो त लक डाउनभन्दा ४ दिन अघिदेखि नै उनी घर बाहिर निस्किएका थिएनन् । कोरोनाको त्रास फैलिएसँगै छोरीको मायाले उनलाई घरबाट निस्कन दिएन । ‘मेरो कारण छोरीलाई केही भइहाल्यो भने भन्ने डरले मलाई घरमै बाँधेर राख्यो । मम: को तलतल पनि त्यति लागेन,’ उनी भन्छन् ।
बुद्धिसागरको मम: प्रेम २०६५ सालमा काठमाडौं आएदेखि सुरु भएको हो । प्रदर्शनिमार्गस्थित आरआर क्याम्पसपछाडिको पसलमा खान थालेपछि उनमा मम:को लत बस्दै गयो । त्यसपछि उनले काठमाडौंका नाम चलेका हरेक मम: पसल चाहारे । महाबौद्ध उनको मम: खाने नियमित थलो बन्यो । सातामा ५ दिन पुग्न थाले ।
लक डाउनले उनको मम: खाने बाटोमात्र होइन, लेख्ने बाटो पनि छेकिदिएको छ । ठमेलका रेस्टुरेन्टमा बसेर लेख्नु उनको अर्को दैनिकी थियो । उनी भन्छन्, ‘घरमा बसेर लेख्ने माहोल नै हुँदैन । बानी पनि होला । जे होस् म घरमा बसेर लेख्नै सक्दिनँ ।’
उनी नलेखी पनि बस्न सक्दैनन् । त्यसैले घरमा दिउँसो र रातको समयमा लेख्ने प्रयास गर्दैछन् । आफ्नो तेस्रो किताब लेखनमा लागेका बुद्धिसागर भन्छन्, ‘दिउँसोभन्दा राति नै सहज लागेको छ । सबै सुतेपछि १० बजेपछि लेख्न थालेको छु । बिस्तारै बानी पर्छ कि ।’
त्यसो भए लकडाउनले अब बुद्धिसागरको मम: प्रेम र रेस्टुरेन्टमा लेख्ने बानीमा फेरबदल आउँछ त ? उनी हाँस्छन्, ‘माहोल सहज भएपछि त फेरि उस्तै हो नि ।’