साप्ताहिक संवाददाता
किताब यात्रा फाउन्डेसनको आयोजनामा सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’को तेस्रो दिनको पहिलो सेसनमा ‘केटाज कथार्सिस’ शीर्षकमा बहस गरिएको छ ।
फेस्टिभल निर्देशक ऋषिराम अधिकारीका अनुसार फेस्टिभलको पहिलो सत्रमा नेपाली साहित्यमा सँग–सँगैजसो यात्रा गरिरहेका चार युवा कविले कविता सुनाउँदै समसामयिक लेखनबारे विमर्श गरे । जसमा समर्पण श्रीका साथ नवीन प्यासी, निर्भिकजङ्ग रायमाझी र विष्णु सन्यास सहभागी थिए ।
उनीहरूले नयाँ पुस्ताका कविले भोगिरहेको चुनौति र त्यसलाई सामना गर्न दिइरहेका सिर्जनशील अभिव्यक्तिबारे चर्चा गरे । पहिलो सेसन दिउँसो १ बजेबाट किताब जात्राको फेसबुक पेजबाट लाइभ भएको थियो । सेसनलाई कुनै पनि बेला पेजमा गएर हेर्न सकिनेछ ।
४ बजे हुने दोस्रो सत्रमा उद्योगपति विनोद चौधरीसँग पत्रकार अमित ढकालले छलफल गर्दैछन् । सेसनलाई ‘कोरोना, बिजनेस एण्ड सिएसआर’ शीर्षक दिइएको छ । फेस्टिभललाई चौधरी फाउन्डेसनले सिएसआर अन्तर्गत प्रस्तुत गरेको हो । सत्रहरू किताब जात्राको फेसबुक पेज facebook.com/kitabjatra बाट लाइभ हुनेछ ।
एक सातासम्मका लागि भनेर सुरु गरिएको फेस्टिभल लकडाउन लम्बिँदै जाँदा थपिन सक्ने सम्भावना रहेको सेसन संयोजक शकुन्तला जोशीले बताइन् ।