साप्ताहिक संवाददाता
किताब यात्रा फाउन्डेसनको आयोजनामा १ बैशाखबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ आज सोमबार समापन हुँदैछ ।
एक साता चलेको फेस्टिभलमा १५ सेसनमा ५९ व्यक्तित्वले बहस गरेको फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले बताए । फेस्टिभलको आठौं दिन समापन विशेष कार्यक्रमहरू हुनेछन् ।
सेसन संयोजक शकुन्तला जोशीका अनुसार समापन विशेषको पहिलो सेसनमा चार कविले काव्यिक मन्थन र कविता वाचन गर्नेछन् । स्वप्निल स्मृतिले सहजीकरण गर्ने ‘कोरोना बिम्बमा काव्यिक दृष्टि’ शीर्षक कार्यक्रममा श्रवण मुकारूङ, मनु मञ्जिल र उपेन्द्र सुब्बा रहनेछन् । कार्यक्रम एक बजे लाइभ हुनेछ ।
त्यस्तै चार बजेको सेसन सिनेमा विशेषको हुनेछ । रिमा विश्वकर्माले सहजीकरण गर्ने ‘लकडाउन लाइफः अ सिनेम्याटिक भ्यू’ शीर्षक कार्यक्रममा दयाहाङ राई, केकी अधिकारी, स्वस्तिमा खड्का र नाजिर हुसेन रहनेछन् । चार बजे लाइभ हुने सेसनपछि ६ बजे पुष्पासंगमको सांगितिक प्रस्तुति लाइभ हुनेछ ।
सेसनहरू किताब जात्राको फेसबुक पेज facebook.com/kitabjatra बाट लाइभ हुनेछ । साथै, पुराना कार्यक्रम जुनसुकै बेला हेर्न सकिनेछ ।