सबै चाडपर्व, ऐतिहासिक दिवस र सामाजिक उत्सवहरू यतिखेर लकडाउनको मारमा परेका छन् । चैतेदशैं गयो, नयाँ वर्ष गयो र आमाको मुख हेर्ने दिन पनि लकडाउनकै बीचमा गयो । आमाको मुख हेर्ने दिनमै अर्थात् अप्रिल २३ मै विश्व पुस्तक दिवस पनि परेको थियो । लेखपढ गर्नेहरूले मनाउने यो दिवस पनि सार्वजनिक रूपमा कुनै कार्यक्रम, गोष्ठी वा विमोचनहरू नभई बितेको छ । तर, इन्टरनेट माध्यमले उत्सव गर्न चाहनेहरूका लागि नयाँ तरिका र नयाँ बाटोहरू देखाइदिएको छ । विश्व पुस्तक दिवसमा संसारैभरि इन्टरनेटबाटै पुस्तक आदानप्रदान गर्ने काम भइरहेको छ । कति प्रकाशकले यस अवसरमा आफ्ना पाठकहरूलाई निशुल्क वा अत्यधिक छुटमा इबुक उपलब्ध गराइरहेका छन् ।
कोरोना भाइरसको संसारव्यापी संक्रमणका कारण लकडाउनमा रहेका वा सेल्फ क्वारेन्टाइनमा बसेका पाठकहरूले घरमै पुस्तक पढ्न पाउन् भनेर केही अन्तर्राष्ट्रिय प्रकाशकले त आफ्नो वेबसाइटमा ‘रिडिङ इन द टाइम अफ कोरोना’ भनेर निशुल्क पुस्तक डाउनलोड गर्न मिल्ने बनाएका छन् । अंग्रेजी प्रकाशन भर्सो बुक्सले आफ्ना प्रकाशनमध्येबाट अघिल्लो साता पाँचवटा पुस्तक ‘क्वारेन्टाइन रिडिङ’ भन्दै पाठकलाई सित्तैमा डाउनलोड गर्न दिएको छ । त्यस्तै हेमार्केट बुक्सले पनि पाठकका लागि १० वटा पुस्तक सित्तैमा उपलब्ध गराएको छ । यी प्रकाशकले प्रिन्टकपी किन्न चाहनेलाई पनि ४० देखि ६० प्रतिशतसम्म छुट दिएका छन् ।
विश्वका अरु थुप्रै प्रकाशकले पनि लकडाउनलाई लक्षित गरेर थुप्रै पुस्तकहरूको इ–संस्करण प्रकाशन गरेका छन् भने त्यस्तो संस्करणलाई अत्यधिक छुट वा निशुल्क पढ्ने सुविधा दिएका छन् । नेपालको पुस्तक प्रकाशनको मूलधार भने इबुक प्रकाशन तथा बिक्रीको अवधारणामा पुगिसकेको छैन । अक्षर क्रियशन प्रकाशनकी अर्चना थापा भन्छिन्, ‘नेपालमा सुरु नै नभएको होइन, पाँच÷सात वर्षअघि पाण्डुलिपी प्रकाशनले इबुक बेच्न थालेको थियो तर त्यो नेपालमा चलेन ।’ थापाका अनुसार नेपाली पाठकहरूको इन्टरनेटमा पढ्ने संस्कृति पनि विकास भइसकेको छैन । त्यसकारण प्रकाशकहरूले पनि प्रिन्ट पुस्तक नै बजारमा पठाइरहेका छन् ।
तर, लकडाउन र सेल्फ क्वारेन्टाइनमा रहेका अधिकांश पाठकहरू यतिखेर आफ्नो घरमा जुन पुस्तक छ, त्यही पढ्न बाध्य छन् । किनभने नेपाली भाषामा इन्टरनेटमा पुस्तकहरू पाउनु दुर्लभ छ । नेपालको कुनै पनि पुस्तक प्रकाशकले पाठकहरूका लागि ‘क्वारेन्टाइन गिफ्ट’ ल्याएका छैनन् । लेखक मोहन मैनालीले इमेल उपलब्ध गराउने पाठकका लागि आफ्नो ‘उपल्लो थलो’ पुस्तक इमेलमै पिडिएफ पठाइदिएका थिए । अर्का लेखक सरोजराज अधिकारीले पनि सामाजिक सञ्जालमार्फत् आफ्ना सबै पुस्तकको पिडिएफ पाठकलाई निशुल्क उपलब्ध गराएका छन् । तर, प्रकाशकहरुले भने यस्तो कुनै लकडाउन योजना वा उपहार ल्याएनन् । नेपालको पुरानो र प्रतिष्ठित पुस्तक प्रकाशक तथा विक्रेता रत्न बुक्सका गोविन्द श्रेष्ठले आफूहरूले पुस्तकको व्यापार इन्टरनेट माध्यमबाट पनि गर्दै आएको बताए । ‘हामीले केही पुस्तक इबुक पनि बिक्री गर्न थालेका छौं, तर त्यो सुरुवातजस्तो मात्रै छ,’ श्रेष्ठले भने, ‘बिस्तारै पाठकहरूको माग बढ्दै जाँदा पुस्तकको इसंस्करण पनि हामी तयार गर्नेछौं र पछि हामी कुनैकुनै पुस्तक पाठकलाई निशुल्क उपलब्ध गराउने व्यवस्था पनि ल्याउने छौं ।’
कोभिड–१९ को संक्रमणबाट जोगिन लकडाउन घोषणा भएसँगै घरमा बस्नेका लागि पढ्नै पर्ने पुस्तकहरूबारे सामाजिक सञ्जालमा चर्चा हुन थाल्यो । कतिले त्यस्ता पुस्तकको सूची पनि प्रस्तुत गरे । तर, पुस्तक पाउनका लागि पुस्तक पसल जानु वा अरु साथीहरूकहाँ पुग्नु सम्भव थिएन । त्यसका लागि इन्टरनेटको पहुँच हुनेहरूले गुगल सर्च नै गर्नुपथ्र्यो तर नेपाली पुस्तक नपाउँदा धेरै पाठक निराश भएको हुनुपर्छ । ‘अहिले लकडाउनका कारण इबुकको महत्व पक्कै पनि बढेको छ, कति पाठकले इन्टरनेटमा खोज्नु भए पनि होला’, अक्षर क्रियशनकी थापाले भनिन्, ‘अब बिस्तारै यसको बजार पनि बढ्ने अनुमान गर्न सकिन्छ ।’ तर, थापाले नेपालमा विश्वबजारमा जस्तै इबुले तुरुन्तै प्रश्रय पाउनेमा चाहिँ सन्देह गरिन् । भनिन्, ‘विदेशमा सबैतिर इन्टरनेट छ, नेपालमा सबै पाठक र सबै ठाउँमा इन्टरनेटको पहुँच पनि छैन । तसर्थ अहिले नै इबुकले धेरै प्रश्रय पाउने देखिन्न । अहिले सुरुवात चाहिँ गर्न सकिन्छ ।’
रत्न बुक्सका श्रेष्ठ पनि आफूहरूले भविष्यको बजारलाई लक्षित गरेर इन्टरनेटमाध्यमबाट पुस्तक बिक्री गर्न थालेको बताउँछन् । पुस्तकको प्रिन्ट संस्करणहरूको बजार भने यतिखेर संसारैभरि ओरालो लागेको छ । विश्वका विकसित देशभन्दा नेपाल अझ बढी मारमा भएको प्रकाशकहरू बताउँछन् । कोरोना प्रकोप फैलिनुअघि पनि नेपालमा विदेशबाट (खासगरी भारतबाट) आउने पुस्तकमा सरकारले कर लगाएका कारण पुस्तक बजार प्रभावित भएको थियो ।
नेपाली प्रकाशकको ध्यान पनि इबुकतिर
अमेरिका, युरोप, अष्ट्रेलियाजस्ता विकसित देशहरूमा अनलाइनमार्फत पुस्तक पढ्ने ट्रेन्डधेरैअघि देखि बढ्दो छ । अनलाइन र सामाजिक संजालमार्फत पुस्तक विमोचन गर्ने र तोकिएको रकम तिरेर अनलाइन (ईबुक) पढ्ने ट्रेन्ड विश्वभरि छ । त्यस्तो प्रचलनका लागि लकडाउन वा कोरोना संक्रमणले ठूलो क्षति पु¥याएको छैन । ती देशहरूमा पठन संस्कृतिमा नेपालमाजस्तो असर परेको छैन । बरु यही बेला धेरै प्रकाशकहरूले महामारी, प्रकोप र त्यस्तै विषयसँग सम्बन्धित पुस्तकहरू पुनःप्रकाशन गर्ने वा पाठकलाई रिफर गर्ने गरिरहेका छन् ।
फाइन प्रिन्टका संचालक अजित बराल लकडाउनले नेपालमा ईबुकको आवश्यकता दर्शाएको स्वीकार्छन् । लकडाउनमा घर बस्दा आफूले पनि केही विदेशी पुस्तक ईबुकमार्फत पढेको उनले सुनाए । ‘सुरुवाती चरणमा पढ्न केही कठिनाई भए पनि विस्तारै बानी पर्दै जान्छ, मलाई सुरुसुरुमा ईबुकमा पढ्न केही असहज लाथ्यो’, उनले भने, ‘अब नेपाली प्रकाशन गृहहरूले यसतर्फ पनि ध्यान दिने बेला आएको छ ।’ ईबुकको ट्रेन्डले नेपाली पुस्तक पढ्न चाहने विदेशमा रहेका नेपालीलाई पनि ठूलो राहत हुने उनले जिकिर गरे ।
अहिले नेपालबाट कार्गो गरेर विदेशमा पुस्तक पठाउँदा नेपालमा ५ सय पर्ने पुस्तकको मूल्य ६ गुना बढेर विदेशमा पुग्दा ३ हजार रूपैयाँसम्म लाग्ने गर्छ । नेपालमै पनि ईबुकमार्फत पुस्तक पढ्दा निकै सस्तो पर्न जान्छ । साथै, मोबाइलमै पनि पढ्न मिल्ने भएकाले जहाँसुकै हुँदा पनि इबुक पढ्न सकिने सुविधा हुन्छ ।
सांग्रिला बुक्सका संचालक मणि शर्मा भने इबुकको व्यवस्था अहिले पनि भएको तर नेपाली पुस्तकका पाठकबीच प्रभावकारी हुन नसकेको धारणा राख्छन् । ईबुक वा पिडिएफ सित्तैमा पाए पढ्ने तर, पैसा खर्च गरेर नपढ्ने बानीका कारण समस्या रहेको उनको भनाइ छ । शर्मा नेपालमा इबुकमार्फत पुस्तक पढ्ने ट्रेन्डको विकास गर्न सहज नभएको बताउँछन् । ‘प्रिचार्जको सिस्टमले गर्दा नेपालमा इबुकको ट्रेन्ड बसाल्न त्यति सहज छैन । पाको पुस्ता प्रविधिमैत्री छैन, पछिल्लो पुस्तामा पठन संस्कृतिको विकास भएको छैन’, शर्माले भने, ‘त्यसैले नेपालमा इबुक व्यवस्था अझै व्यवहारिक हुँदैन किजस्तो लाग्छ ।’ लकडाउनले यसको आवश्यकता महसुस गराएको चाहिँ शर्मा पनि स्वीकार्छन् ।
शर्माकै जस्तो विचार छ बुकहिल प्रकाशनका भूपेन्द्र खड्काको पनि । उनी पनि नेपालमा पैसा तिरेर इबुक वा पिडिएफपढ्ने बानीको विकास नभइसकेको उनको दाबी छ । इबुक बिक्री नहुने भएकै कारण प्रकाशन गृह, लेखक र पाठक बढी नै लकडाउनको मारमा परेको उनको बुझाइ छ । तर, नेपाली प्रकाशकले प्रिन्टकपी र इबुक कपी बेग्लाबेग्लै प्रकाशन गर्ने चलन बसिसकेको छैन । ‘विश्वमा जस्तो अनलाइनबाटै पैसा तिरेर अनलाइनमै पुस्तक पढ्ने ट्रेन्ड नेपालमा अझै आइसकेको छैन,’ खड्का भन्छन्, ‘लकडाउनले यसको आवश्यकता र औचित्य भने पुष्टि गरिसकेको छ ।’
प्रिन्टकपीसँगै इबुक पनि प्रकाशन गर्दा लेखकलाई बिक्रीका आधार दिने रोयल्टीबारे पनि प्रकाशक र लेखकबीच समझदारी हुनु आवश्यक छ । इबुक तयार गर्न कम खर्च लाग्ने भएकाले बिक्रीबाट आउने रकम प्रकाशकले कम पाउने र लेखकले धेरै प्रतिशत रोयल्टी पाउने प्रचलन विश्वमा छ । नेपालमा भने त्यसको अभ्यास नै नभएकाले लेखकसँग प्रकाशकहरूले इबुकबारे सम्झौता नै गर्दैनन् ।
लकडाउनपछि कस्तो होला पठन संस्कृति ?
लकडाउनले अन्य क्षेत्रझै पुस्तक प्रकाशनको बजारलाई पनि प्रभाव पारेको छ । फाइनप्रिन्टका बराल लकडाउनमा पुस्तक पठनमा रुचि नहुनेले पनि समय कटाउन बाध्यताले पुस्तक पढेको र पठनमा उनीहरूको रस र लगाव बढेकाले पठन संस्कृति पढ्दै जानेमा आशावादी देखिन्छन् । भन्छन्, ‘सरकारले आयातित पुस्तककमा कर लगाएपछि ओरालो लागेको पुस्तक व्यवसायका लागि लकडाउनपछिको समय सुनौलो वहार बनेर आउन पनि सक्छ, आशा गरौँ सबै राम्रै हुन्छ ।’
शर्मा भने मानिसले आधारभूत आवश्यकता पूरा भएपछि मात्रै पुस्तक किन्ने भएकाले लकडाउनपछिको आर्थिक मन्दीले धेरैको आधारभूत आवश्यकता नै मुख्य हुने ठान्छन् । ‘लकडाउनका कारण आर्थिक मन्दी छ, रोजगारी चौपट भएको छ’, शर्माले भने, ‘गासबासको आवश्यकता पुरा गर्नै गाह्रो भएको परिस्थितिमा पुस्तक किनेर पढ्नेको संख्या बढ्न भन्नेमा मलाई त्यति विश्वास लाग्दैन ।’ यदि पाठकले लेखक र प्रकाशन गृहलाई माया गरेर पुस्तक पढिदिने हो भने चाहिँ लकडाउनपछि पुस्तक व्यवसाय एक वर्षपछि धकेलिने उनको अनुमान छ ।
लकडाउनमा पुस्तक धेरैको प्रिय साथी बनेकाले लकडाउनपछि पनि पुस्तक पठनको बजार सुध्रिने विश्वास छ, खड्काको पनि । भन्छन्, ‘लकडाउनले धेरैलाई घरमा एउटा सानो पुस्तकालय पनि आवश्यक रहेछ भन्ने महसुस गराएको छ । त्यसैले लकडाउनपछि विगत १ वर्षदेखि ओरालिएको पठन संस्कृतिको विकास हुन्छ भन्ने विश्वास छ ।’ तर, प्रकाशन गृह र लेखकले स्तरीय पुस्तक प्रकाशन गर्नेमा जोड दिनुपर्ने उनको तर्क छ ।
कोरोना–मारमा पुस्तक प्रकाशक पनि
कोरोना महामारीको असर पुस्तक व्यवसायमा पनि परेको छ । पुस्तक प्रकाशकहरूले बजारमा नयाँ पुस्तक ल्याउन सकेका छैनन् । ‘हाम्रा प्रकाशन गृहहरूठूलो लगानीका छैनन् । पुस्तक बेचेरै आम्दानी गर्ने र कर्मचारी पाल्ने खालका हुन्,’ बराल भन्छन्, ‘अहिले पूर्णरूपमा व्यवसाय ठप्प भएपछि सबै प्रकाशन गृह आर्थिक मन्दीमा फस्ने पक्का छ ।’ आर्थिक मन्दीपछि राम्रोसँग पुस्तक छनोट गरेरमात्र प्रकाशन गर्ने अवस्था रहेको खड्का पनि स्वीकार्छन् । भन्छन्, ‘राम्रा पुस्तक आएपछि पाठकको विश्वास बढ्ने र राम्रो व्यापार हुने सम्भावना छ । नत्र त प्रकाशन गृहको अवस्था के हुने हो, थाहा छैन ।’
शर्मा भने समग्र क्षेत्र मारमा पारेकाले प्रकाशन गृहले पनि यसलाई सामान्यरूपमा लिनुपर्ने बताउँछन् । ‘अहिलेको अवस्थामा संकट नआएको र आर्थिक मन्दी नभएको कुनै क्षेत्र वा व्यवसाय छैन’, शर्मा भन्छन्, ‘त्यसैले हामीले यो परिस्थितिलाई सामाना गर्नुबाहेक अर्को विकल्प छैन ।’