वैशाख १२, २०७७
तुसारो ओढेर
पहाडको ओत लागेर सुतेका छन्
फूलहरु ....
भुकम्पले घर ढलाएपछि
मनमायाको शरिरभरि टाँसिएको छ
तुसारो
जूनले झारेको आँसुहरुलाई
चीसो सिरेटो बनाएर हावाले
सेकिरहेको छ, उनलाई
सरकारले दयामा बनाइदिएको
घर आफैं कठ्याङ्रीएको छ
चुल्हो तात्न नसकेको थुप्रै दिन भयो
बच्चाहरु -
जहाज आउला
र भोक मेटौला प्रतिक्षामा छन्
आजकाल -
हरेक दिन बाह्र गतेको भन्दा
ठुला भुकम्पीय झट्का गएका छन्
मनमायाको मनमा
उनले गुमाईन बुढा बाबु र आमा
सिंदुर त उनले बाह्र गते नै गुमाएकी थिईन
मनमाया त जसो तसो बाँचेकी छिन्
सरकार कुनै दिन
यिनै जसोतसो बाँचेकाको सराप लाग्यो भने
तिमीले सोच्न सक्दैनौं
तिम्रो जिन्दगीमा कस्ता भुकम्प जान्छन !