
गायिका हेलेनको अवसान टर्कीमा मात्रै होइन, विश्वभरि नै अभिव्यक्ति स्वतन्त्रतामाथि छाएको संकटको दसी हो
भोकभोकै मर्न थाले कवि–कलाकार
तड्पाएर मार्नुभन्दा झुन्डयाएर मार !
छ/सात दशकअघिको नेपाली सन्दर्भलाई लिएर कवि गोकुल जोशीले माथिका जुन पंक्ति लेखेका थिए, आज पनि संसारमा भोकभोकै मर्ने करोडौं मानिसको संख्याले यी पंक्तिको सान्दर्भिकता सम्झाइरहेका छन् । अझ अभिव्यक्तिका लागि समेत प्रतिबन्ध बेहोरिरहेका र ज्यान समेत गुमाइरहेका लेखक तथा कलाकर्मीहरूको संघर्षले जोशीको गीतलाई झन् सम्झिनुपर्ने बनाएको छ । टर्कीको क्रान्तिकारी ब्यान्ड ग्रुप योरुमकी सदस्य तथा लोकप्रिय गायिका हेलेन बोलेक १० महिनादेखि भोकहड्तालमा थिइन् । गत शुक्रबार जब उनको अन्तिम ढुकढुकीले विश्राम लियो, संसारभरिको परिवर्तनाकांक्षी समुदाय र अभिव्यक्तिको हकका लागि संघर्षरत पंक्ति एकैसाथ तरंगित भयो ।
हेलेन २ सय ८८ दिनदेखि अनसनमा थिइन् । ग्रुप योरुम सांगीतिक समूह (ब्यान्ड) माथि सरकारले लगाएको प्रतिबन्ध तथा सांगीतिक कार्यक्रममाथिको रोकफुकुवा गर्न, जेलमा थुनिएका ब्यान्डका सदस्यहरूको रिहाइ गर्न, ब्यान्डको सांस्कृतिक केन्द्रमा निरन्तरको छापा मार्ने काम रोक्न र कलाकारहरूमाथिको धरपकड बन्द गर्न माग गर्दै हेलेनसँगै उनका साथीहरू पनि भोकहड्तालमा बसेका थिए । ग्रुपको इस्तानबुल नजिकै रहेको सांस्कृतिक केन्द्र ‘द इदिल कल्चरल सेन्टर’मा प्रहरीले गत दुई वर्षमा कम्तीमा १० पटक छापा मारेको थियो । त्यस क्रममा प्रहरी प्रशासनले ब्यान्डका वाद्यसामग्रीहरू तोडफोड गरेको र केही गायब पारेको थियो । ब्यान्डको कार्यालयमा रहेका संगीतसम्बन्धी पुस्तकहरू पनि प्रहरीले नष्ट पारेको थियो । पटक–पटक गरेर ३० जना गिरफ्तार भएका थिए । हेलेन २०१९ को सुरुमै जेल परेकी थिइन् ।
हेलेनलगायत उनका साथीहरूले जेलमै सुरु गरेको अनसनलाई उनले गत वर्षको अन्त्यमा आफू रिहा भएपपछि इस्तानबुलस्थित घरभित्रै निरन्तरता दिइन् । उनलाई र उनीसँगै जेल परेका तथा यसै वर्षको सुरुमा रिहा भएका ब्यान्डका अर्का सदस्य इब्राहिम गोकेकलाई अनसन छुटाउन सरकारले अनेक दबाब दिएको थियो । गत ११ मार्चमा यी दुवैजना सांस्कृतिककर्मीलाई प्रशासनले जबर्जस्ती अस्पताल पुर्याएर औषधि खुवाउने कोसिस गरेको थियो । दुवैले औषधि लिन अस्वीकार गरेपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरियो । ब्यान्डका सदस्य मुस्ताफा कोकाक र इब्राहिम गोकेक अहिले पनि नौ महिनादेखि भोकहड्तालमै छन् । ब्यान्डका अरू ७ जना सदस्य जेलमा रहेको इस्तानबुलस्थित मानव अधिकारकर्मी तथा सञ्चार संस्थाहरूले जनाएका छन् ।
के हो ग्रुप योरुम ?
टर्केली भाषामा ग्रुप योरुम भनिने यो ब्यान्डको नेपाली अर्थ हुन्छ–विवेचना ब्यान्ड । सामूहिक लोकगायन र आन्दोलनकारी भावधारालाई आफ्नो सांगीतिक शैलीका रूपमा लिएको यो ब्यान्डको स्थापना सन् १९८५ मा भएको हो । जनतासँग संगीतमार्फत संवाद गर्ने उद्देश्यले योरुमले विभिन्न सहरमा नि:शुल्क कन्सर्टहरू आयोजना गर्दै आएको थियो । संगीतप्रेमी श्रोताहरूबीच मात्रै होइन, आम जनतामा समेत योरुमको प्रस्तुतिप्रति आकर्षण व्यापक छ ।
संगीत अध्येताहरूका अनुसार योरुमका गीत र सिनेमा टर्कीमा सर्वाधिक लोकप्रिय कला उत्पादनका रूपमा प्रसिद्ध छन् । उनीहरूका गीत टर्कीको इतिहासमै सबैभन्दा बढी खोजिने र सबैभन्दा धेरै बिक्री हुनेभित्र पर्छन् । अहिलेसम्म ग्रुप योरुमले २३ वटा सांगीतिक एल्बमहरू ल्याइसकेको छ । यो ब्यान्डले १० जना निर्देशक रहेर टर्कीको जेल–जीवनसँग सम्बन्धित सिनेमा निर्माण गरेको छ, जुन सिनेमा टर्कीभित्र र बाहिरसमेत हजारौं दर्शकले रुचाएका थिए । तर, टर्की सरकारले उनीहरूको सिनेमा प्रदर्शनमा पनि प्रतिबन्ध लगाएको छ । योरुमलाई नयाँ सिनेमा निर्माणका लागि सुटिङ गर्न र चयन गरेको लोकेसनमा काम गर्न पनि बन्देज गरिएको छ ।
टर्कीको क्रान्तिकारी जनमुक्ति पार्टी (डिएचकेपी–सी) सँग सम्बन्ध रहेको आरोपमा सन् २०१६ देखि यो ब्यान्डमाथि टर्की सरकारले प्रतिबन्ध लगाएको हो । डिएचकेपीलाई टर्कीसहित युरोपियन युनियन र अमेरिकाले आतंककारी संगठन घोषणा गरेका छन् । राष्ट्रपति रिसेप तय्यिप एर्दोगानको कार्यकालमा टर्कीमा सीमान्त समुदायको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र बौद्धिक गतिविधिहरूमा नियन्त्रण बढ्दै गएको अन्तर्राष्ट्रिय सर्वेक्षण र सूचकहरूले समेत देखाएका छन् ।
एर्दोगानले सन् २०१४ मा शासन सत्ता सम्हालेयता टर्कीमा अभिव्यक्ति स्वतन्त्रताको संकुचन सबैभन्दा डरलाग्दो गरी भएको छ । रिपोर्टस विदाउट बोर्डस्ले त टर्कीलाई पत्रकारहरूका लागि ‘संसारकै ठूलो कारागार’ भनेको थियो । एर्दोगानले घोषणै गरेका थिए, ‘लोकतन्त्र र स्वतन्त्रताको टर्कीमा कुनै पनि मूल्य छैन ।’ पत्रकार र अधिकारकर्मीहरूको एक भेलामा उनले पत्रकार र बौद्धिकहरूलाई समेत आतंककारीको परिभाषामा ल्याउनुपर्ने जिकिर गर्दै भनेका थिए, ‘बन्दुकको ट्रिगर तान्नेहरू मात्रै होइनन्, जसले त्यस्ता सम्भावना निर्माण गर्छन्, उनीहरूलाई पनि आतंककारीकै रूपमा परिभाषित गर्नुपर्छ, चाहे तिनीहरू जेसुकै उपाधिका होउन् ।’ एर्दोगानको यही ‘स्लोगान’ पछि इस्तानबुलको कलाजगतमाथि सरकारी व्यवहार झन्झन् क्रुर हुँदै गएको हो । त्यसको पछिल्लो परिणाम हेलेन बोलेकको सहादत हो ।
ऐक्यबद्धता संसारैभरि
टर्कीमा बढ्दो शासकीय अतिवादको प्रतिवाद संसारभरिका बौद्धिक र स्वतन्त्रता प्रेमीहरूले गरिरहेका छन् । अर्थशास्त्री, लेखक तथा ग्रिसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिसले हेलेनको निधनको खबरपछि गार्जियनको समाचार ट्वीट गर्दै भने, ‘ग्रुप योरुममाथिको प्रतिबन्ध र कारागारविरुद्ध लामो समय भोकहड्ताल गरेकी गायिका हेलेन बोलेकको भोकहड्तालमै भएको मृत्युले हामीलाई सम्झाइरहन्छ– आधारभूत स्वतन्त्रताका लागि हुने संघर्ष महामारीका बेला पनि निलम्बन भएको छैन ।’
इस्तानबुलस्थित चार संस्थाले गत जनवरीमै विज्ञप्ति जारी गर्दै ग्रुप योरुमका ब्यान्ड सदस्यहरूको भोकहड्तालप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए । इस्तानबुल बार एसोसिएसन, इस्तानबुल मेडिकल च्याम्बर, आर्टिस्ट इनिसिएटिभ्स र आर्ट एसेम्बली संस्थाले जेल हाल्नुपर्ने र कन्सर्टहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने गरी कुनै गायक/संगीतकर्मीहरूले अपराध नगरको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
युद्धविरोधी गायकका रूपमा चिनिने टर्कीका प्रसिद्ध लेखक, फिल्मनिर्देशक तथा संगीतकार जुल्फु लिवानेलीले बोलेकको मृत्युलाई दु:खद् घटनाका रूपमा लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ । लिवानेलीले भनेका छन्, ‘भोकहड्ताल मृत्युमा नटुंगियोस् भनेर गरेको संघर्ष दुर्भाग्यपूर्ण ढंगले असफल भएको छ ।’ लिवानेलीले टर्कीका राजनीतिकर्मी पनि हुन् । उनले सन् २०१२ मा ग्रुप योरुमको कन्सर्टमा सँगै गीत पनि गाएका थिए । टर्कीमा पछिल्ला केही वर्ष ३ हजारभन्दा बढी राजनीतिक अभियन्ताहरूले भोकहड्ताल गरेका थिए ।
हेलेनको निधनपछि विज्ञप्ति जारी गर्दै पेन अमेरिकाले टर्कीको सरकारको कडा शब्दमा निन्दा गरेको छ । ‘स्वतन्त्र र लोकतान्त्रिक समाजका लागि जरुरी हुने आधारभूत स्वतन्त्रताको प्रत्याभूति गर्न टर्की अधिकारीहरूले अस्वीकार गरेकै कारण बोलेकको ज्यान गएको हो’, पेन अमेरिकाले भनेको छ, ‘बोलेकको मृत्युले एउटा स्पष्ट र पीडादायी सत्यको संकेत गरेको छ– धेरै कलाकारहरूको जिन्दगीको पनि अब बोलेककै हालत हुन्छ ।’
ग्रुप योरुमको संगीत टर्कीको मात्रै होइन, संसारभरिका स्वतन्त्रता प्रेमीहरूको स्वर हो । उनीहरूका गीत क्रान्तिको निरन्तरताका गीतहरू हुन् । उनीहरूका गीतमा सामूहिक चेतनाको प्रवद्र्धन छ । आन्दोलित भावना जगाउने क्रान्तिकारी संगीतको संसारैभरि लामो र विस्तारित परम्परा छ । ग्रुप योरुम यही पंक्तिको टर्केली विरासत हो । र, पछिल्लो सहादतले स्वतन्त्रताका लागि ज्यान दिने कलाकर्मीहरू लामो शृंखलामा हेलेन बेलेकको नाम थपेको छ । गायिका हेलेनको अवसान टर्कीमा मात्रै होइन, विश्वभरि नै अभिव्यक्ति स्वतन्त्रतामाथि छाएको संकटको दसी हो । भोकहड्तालका अन्तिम दिनतिर उनले बोलेको विचार अहिले सामाजिक सञ्जालमा भेटिन्छ, उनले भनेकी थिइन्– ‘म फेरि आउनेछु, तर एक्लै होइन, लाखौंहरूको बीचमा ।’ ग्रुप योरुमको एउटा गीतले भन्छ– ‘हामी रगतले यो इतिहास लेख्छौं ।’ आफ्नो गीतलाई सार्थक तुल्याउन र स्वतन्त्रताको मूल्य स्थापित गर्न हेलेनले सहादतको बाटो अवलम्बन गर्नुपर्यो । स्वतन्त्रताका लागि लड्नेहरूको जीवन–समर्पणकै पांग्रामा गुड्दै इतिहास यहाँसम्म आएको हो । ग्रुप योरुम र बोलेकका संघर्ष कथाले पनि भन्छ– बाँच्नु मात्रै स्वतन्त्रताको विकल्प होइन । ग्रुप योरुमकै एउटा गीतांशसहित जनगायक हेलेन बेलेकलाई श्रद्धाञ्जली–
जुन गोलीले तिम्रो निधारमा घाउ लगायो
त्यही हो, हाम्रा लागि कहिल्यै ननिभ्ने आगो
बढ्दैछ, बढ्दैछ ! बढ्दैछ हाम्रो कठिन संघर्ष !
फैलिँदै, फैलिँदै ! फैलिँदै जनताका मनहरूमा !
० ० ०
Twitter : @SangeetSrota