रत्नले आफ्नो मुक्तकमा भनेका थिए– मेरो देह केही हैन, एक थुप्रो माटो हो । उनी माटो भए । प्रेमध्वजको शब्दमा भन्दा– एक रत्न बिलाए ।
बिहीबार नेपालको सांगीतिक क्षेत्रले एउटा ‘रत्न’ गुमाएको छ– गीतकार रत्न शमशेर थापा । थापाले नर्भिक अस्पताल, थापाथलीमा बिहीबार दिउँसो एक बजे अन्तिम स्वास लिए । केही महिनाअघिदेखि मेरुदण्डको समस्याले थलिएका उनलाई बुधबार राति घाँटीमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरिएको थियो ।
काठमाडौंमा सन् १९३९ मा जन्मिएका रत्नशमशेरले आफ्नो जीवनकालमा सयौंको संख्यामा गीत लेखेर नेपालको आधुनिक संगीतमा योगदान गरे । त्यसैले गीतका मर्मज्ञहरू उनलाई ‘आधुनिक गीतको रत्न’ भनेर श्रद्धा गर्छन् । ‘ए कान्छा ठट्टैमा’, ‘गोरेटो त्यो गाउँको,’ ‘विछोडको पीडा’, ‘घुम्तीमा नआऊ है,’ आँखैमा रात गली,’ ‘उकाली ओराली गर्दै’ जस्ता अनेकौं गीतका भण्डार उनले नेपाली संगीतलाई सुम्पिएका छन् ।
रत्न शमशेर जीवनका सुरुवाती दिनमा कविता लेख्थे । त्यसताका नै उनलाई लाग्थ्यो– नेपाली गीतको अभाव छ । त्यही अभावलाई मेट्न प्रयत्न गर्छु भन्ने सोचे र गीतमा कलम चलाउन थाले ।
रत्नशमशेरले २०१० सालमा एसएलसी दिए । त्यसपछि विज्ञान विषय लिएर पढ्न थाले । तर, उनलाई स्वास्थ्यले साथ दिएन । बीचैमा पढाइ छाड्नुपर्यो र उनी जागिर खान थाले । ‘पछि राममान र मैले पढ्नुपर्छ भनेर जोड गरेपछि २०१६ सालबाट त्रि–चन्द्र कलेजमा भर्ना भए,’ रत्नशमशेरका आत्मीय मित्र एवम् गायक प्रेमध्वज प्रधान सम्झन्छन् ।
त्यही बेलामा उनको भेट गायक नारायण गोपाल र संगीतकार नातिकाजीसँग भयो । उनीहरूले आइए सँगै पढे । त्यतिबेला त्रि–चन्द्र कलेजको वार्षिकोत्सव आउँदै थियो । नारायण गोपालले रत्न शमशेरलाई भने, ‘मलाई गीत लेखेर देऊ । म गाउँछु ।’
त्यही बखत उनले ‘स्वर्गकी रानी’ गीत लेखेका थिए । विसं २०१८ सालमा रत्न शमशेरले लेखेको ६ वटा गीत नारायण गोपालको स्वर र संगीतमा एकैपटक रेकर्ड भएको थियो । जसले उनीहरूको सहकार्य र आत्मीयतालाई अझै बलियो बनायो । जसले रत्नको गीतकार परिचयले नवीन पहिचान पायो ।
रत्नको गीत ज–जसले गाए, उनीहरू स्थापित नै भए । उनी एउटा कुरामा सधैं अडिग रहन्थे, ‘प्रतिभा छ भने सिनियर, जुनियर हेर्दिनँ । आफूभन्दा जुनियरले गाउँदैछन् भने पनि उत्तिकै मिहिनेत गरेर लेख्छु ।’
रत्न शमशेरले पञ्चायतकालीन अवस्थामा निकै नमिठो अनुभूति पनि सँगाले । उनका कतिपय गीत बेला–बेला प्रतिबन्धित भए । तन्नेरीहरूको लागि लेखिएको गीतमा सत्ताले विद्रोहको स्वर पाउँथ्यो भने भिखारीको गीत लेख्दा त राज्यलाई असह्य हुने नै भयो ।
उनी साँझमा गीत लेख्थे । यद्यपि, कतिपय गीत भने बाटो हिँड्दा हिँड्दै पनि बनाएका छन् । एउटा कार्यक्रममा बोल्दै रत्न शमशेरले सम्झेका थिए, ‘त्यसताका म एकेडेमीछेउको बाटो हिँड्थें, एकदिन हिँड्दा–हिँड्दै गीत फुर्यो– सपनामा देखुँ भन्छु, आँखामा निद हुन्न, भावना म पोखुँ भन्छु ओठमा गीत हुन्न । त्यो गीत तारादेवीलाई सुनाएको थिएँ । उनले रेडियो नेपालमा रेकर्ड गर्न लगिन् ।’ त्यो गीत तारादेवी र शक्ति बल्लभको युगल आवाजमा यम बरालले संगीत दिएका थिए ।
रत्न शमशेरले फिल्ममा पनि गीत लेखे । चलचित्र ‘सिमाना’मा उनले लेखेको गीत ‘उकाली ओराली गर्दै’ निकै लोकप्रिय भएको थियो । जसमा भारतीय गायक सोनु निगमले स्वर दिएका थिए ।
उनले गीतका अलावा कविता, मुक्तक र हाइकु पनि लेखेका छन् । आफ्नो समकालीनसँग हुँदै पछिल्ला पुस्तासँग समेत रत्नशमशेर नजिक थिए ।
‘हाम्रो भातृत्वको जुन गाँठो थियो । त्यसमा एउटा खुस्किएर बिलायो’, गायक योगेश वैद्यले भावविह्ल हुँदै भने । योगेश आफैें तीनवटा सर्जिकल अप्रेसन सकेर तीन दिन अघिमात्र अस्पतालबाट फर्किएका रहेछन् । रत्न शमशेरबारे कुरा खोतल्दा उनी भक्कानिँदै थिए । उनले शुष्क श्वरमा भने, ‘यो खबर सुन्नासाथै मेरो हृदयमै दुखेजस्तो लाग्यो । आँखाबाट बर्बर आँसु निस्कन थाल्यो ।’
रत्न शमशेरसँग ५ दशकयता गहिरो सम्बन्ध थियो योगेशको । उनलाई ती दोस्तीका याद आइरहेको थियो । ‘हालसालै २/३ महिनाअघि मेरो गीतको विमोचन गर्न कार्यक्रममा उहाँ, यादव खरेल, प्रेमध्वज प्रधान आउनु भएको थियो । त्यसपछि भेट्न पाइनँ । साह्रै सहृदयी मान्छे हुनुहुन्थ्यो । मन थामिएको छैन’ उनले भने ।
योगेशले रत्न शमशेरका करिब ८ वटा गीत गाएका छन् । ती गीत लोकप्रिय भए । त्यसमध्ये योगेशले बिर्सनै नसक्ने गीतका शब्दहरू हुन्, ‘आँखैमा रात गली, शीतमा तारा डुबे ।’
०२५ सालतिर गीत गाउने क्रममा रत्न शमशेरसँग पहिलो पटक योगेशको भेट भएको थियो । पछि उनीहरूको सम्बन्ध आत्मीय र पारिवारिक हुन थाल्यो । योगेशले पहिलो पटक गाएको रेकर्डेड गीतमा पनि रत्न शमशेरकै शब्द थियो–अपमान गरी भरि सभामा ।
‘यो गीत रेडियो नेपालको पुरानो स्टुडियोमा रेकर्ड भएको थियो । पद्मकन्या कलेजले गीति नाटक बनाएको थियो । त्यसयता हाम्रो सम्बन्ध सुगम, निरन्तर र प्रगाढ भयो,’ उनी सम्झन्छन् । योगेशको किताब ‘समय प्रवाहमा छुटेका पलहरू’मा रत्नले भूमिका लेखेका थिए ।
योगेश त्यो पल कहिल्यै भुल्दैनन्, जब रत्न उनीसामु दु:खी मुद्रामा देखिएका थिए । उनको एउटा गीत रेडियो नेपालले सेन्सर पास गरेनछ । त्यसले उनलाई दु:खी बनाएको थियो । ‘मौनता यो कस्तो खालको’ भन्ने गीत थियो त्यो । परिवर्तन र स्वतन्त्रताको आवाज उठाउन बन्देज भएको बेला रेडियो नेपालमा पनि त्यसको प्रभाव थियो । मैले उहाँलाई अफिसमा ल्याएर सकभर शान्त पार्ने प्रयास गरेँ । त्यसकै आधारमा अर्को गीत लेखौं भने । त्यति नै बेला उहाँले अर्को गीत तयार गर्नुभयो । त्यसपछि त्यो गीतमा संगीत भरेर लयबद्ध गरियो । र, त्यही गीत रेडियो नेपालमा रेकर्ड गर्यौं ।’
उनी भन्छन्, ‘मलाई आफ्नो बिमारको भन्दा बढी पीडा उहाँलाई गुमाउनुको भएको छ । उहाँसँगको संस्मरण मेरो जीवनका अन्तिम बिन्दुसम्म इन्द्रधनुषी रूपमा रहनेछ ।’
रत्नसँग गायक तथा संगीतकार प्रेमध्वज प्रधान २०१०/०११ सालबाट नै घनिष्ठता थिए । ‘उनको खुट्टा बिरामी थियो । तन्काउन–तान्न हुँदैन भन्थे । केही समयअघिमात्र कुरा भएको थियो । झल्झल्ती सम्झिरहेको छु,’ उनले भने, ‘आधुनिक गीतको भण्डारबाट राम्रो गीतकार बिलायो ।’
प्रेमध्वजको अनुभवमा रत्न हक्की स्वभावका थिए । तर, मनले अत्यन्तै कोमल । उनी गीतमा सधैं नयाँपन दिने कोसिस गरिरहन्थे । प्रेमध्वजले उनका दुई दर्जनहाराहारी गीत गाएका छन् । प्रेमध्वज, नारायण गोपाल, माणिकरत्न प्राय: सँगै बसेर गीतमा काम गर्ने गर्थे । ‘कहिले मणिकरत्न, कहिले नारायणगोपाल र कहिले मेरो घरमा हाम्रो भेटघाट हुन्थ्यो । ‘घुम्तीमा नजाऊ है’ र ‘गोरेटोमा’ हामी सँगै बसेर तयार गरेको गीत हो,’ प्रेमध्वज सम्झन्छन् ।
प्रेमध्वजलाई लाग्छ– रत्न शमशेर यस्ता गीतकार हुन्, जोसँग धुनमा शब्द रच्ने खुबी थियो । उनको संगीतमा पनि उत्तिकै ज्ञान थियो । तबला पनि राम्रो बजाउँथे । परेको बेला हरेक गीतको ट्युनिङ पनि लेख्न सक्थे । हरेक गीत कण्ठै वाचन गर्न सक्ने उनको अर्को खुबी थियो । कविता र मुक्तकमा पनि उनको विशेष दख्खल थियो । रत्न लेख्थे, उनका साथीहरू छनोट गर्थे ।
एक समय प्रेमध्वज र रत्नबीच सम्बन्ध चिसिएको हल्ला पनि चल्यो । तर, प्रेमध्वज त्यो कुरा स्वीकार्दैनन् । भन्छन्, ‘हाम्रो सम्बन्ध चिसिएन । म नहुँदा पनि उनी मेरो घरमा आइरहन्थे ।’
रत्नले आफ्नो मुक्तकमा भनेका थिए– मेरो देह केही हैन, एक थुप्रो माटो हो । उनी माटो भए । प्रेमध्वजको शब्दमा भन्दा– एक रत्न बिलाए । तर त्यो माटोमा उब्जनी भएका सिर्जनाहरूले सुवास छरिरहनेछन् ।