म विस्तारै मर्दैछु । यतिखेर म सबै कुराका अगाडि एक्लै खडा भएको छु । मलाई थाहा छ, मलाई माया गर्ने थुुप्रै साथीहरू यतिखेर मेरा बारेमा लेख्न डराइरहनुुभएको छ । उहाँहरूलाई लागिरहेको छ, म उहाँहरूको सहयोगविनै रिहा हुनेछु ।’
दुई वर्षअघि म्युुजिक भिडियोमार्फत इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको मज्जाक उडाएको आरोपमा सजाय भोगिरहेका युवा फिल्ममेकर शेदी हबासले गत अक्टोबरमा जेलभित्रै लेखेको अन्तिम पत्रमा यसरी मृत्यु आफू नजिक आइरहेको संकेत गरेका थिए । यसको करिब ६ महिनापछि आखिर उनले भनेजस्तै भयो । गत शनिबार कायरोस्थित तोराको जेलभित्रबाटै उनको निधनको खबर बाहिरियो । बिडम्बनापूर्ण संयोग कस्तो थियो भने शेदीको निधनको भोलिपल्ट अर्थात् मे ३ तारिख सारा संसार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको थियो ।
संसारभरिका लेखक, बौद्धिक तथा पत्रकारहरू जुन दिन अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो आवाज झन् बुलन्द बनाइरहेका थिए । त्यही बेला अभिव्यक्ति स्वतन्त्रता निमोठिएकै कारण दुुई वर्षदेखि बिना कुनै मुद्दा जेल जीवन काटिरहेका एक २४ वर्षीया युवा फिल्म निर्देशकको कारागारमै मृत्युुु भएको खबर संसारभर फैलिरहेको थियो । संसारैभरि आलोचना नसहने र फरक मत सुन्न नसक्ने सरकारहरूका कारण आउने परिणामको अर्को साक्षीका रूपमा इजिप्टको यो घटना देखिएको छ । इजिप्टको बिग्रँदो जेल प्रणालीमा वर्तमान राष्ट्रपति अल–सिसीको शासनसँग असहमति जनाएर कैद भएका कलाकारहरू कति जोखिममा छन्, हबासको हिरासत र मृत्युु त्यसको पनि उदाहरण हो । इजिप्टमा कोभिड–१९ को जोखिम बढिरहँदा जेलको सरसफाइ र सुरक्षामा समेत सत्ताले ध्यान नदिएको भन्दै अहिले ठूूलो चिन्ता प्रकट भइरहेको छ ।
गत सेप्टेम्बरमा पुन: जेल परेका चर्चित अभियन्ता अला अब्देल अल–फताहले जेलको यही दर्दनाक अवस्थालाई लिएर जेलभित्रै भोकहड्तालसमेत सुरु गरेका छन् । इजिप्टका सम्बन्धित अधिकारीहरूले समेत कोरोना महामारीकै कारण मार्चमा जेल भ्रमण नै स्थगन गरेका थिए । कैदीहरूको जीवन र स्वास्थ्यलाई लिएर गैरजिम्मेवार भएको भन्दै अहिले सत्ताको व्यापक आलोचना भइरहेको छ । कैदीको बेवास्ता गरेकै कारण सन् २०१९ को जुनमा पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको समेत जेलभित्रै निधन भएको टिप्पणीसमेत भइरहेको छ ।
‘हबासको मृत्युले इजिप्टमा उचित कानुनी प्रक्रियाका अभावका कारण बढिरहेको चिन्तालाई दर्शाउँछ,’ इजिप्टका कानुुनविद् माई अल–सेडनीले दि गार्जियनसँग भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको मुद्दा यहाँ बढिरहेका छन्, इजिप्टको कानुन उल्लंघनमा पनि स्वचालित प्रि–ट्रायल हिरासतको विस्तार उस्तै छ, सँगसँगै जेलको खराब अवस्थाका कारण कैदीहरूको जीवनमा बढिरहेका जोखिम झन् डरलाग्दा छन् ।’
किन पक्राउ परेका थिए हबास ?
इजिप्टका रक संगीतकर्मी रेमी एस्समको एउटा म्युजिक भिडियो निर्देशन गरेकै कारण सन् २०१८ को मार्चमा हबास पक्राउ परेका थिए । भिडियोमा एस्समलाई इजिप्टका राष्ट्रपति अल–सिसीको शासनको आलोचना गर्दै नाचिरहेको अवस्थामा देख्न सकिन्छ । रेमी इजिप्टमा २०११ मा भएको राजनीतिक परिवर्तनका बिम्ब बनेका संगीतकर्मी हुन् । हबासले निर्देशन गरेको भिडियोमा रेमी राष्ट्रपतिलाई ‘बाला’सँग तुलना गर्छन्, जुन त्यहाँको चर्चित कमेडी फिल्मको क्यारेक्टरको नाम हो, जसलाई समीक्षकहरूले राष्ट्रपति सिसीविरुद्ध प्रयोग गर्दै आइरहेका थिए ।
‘तिमी बगैंचामा बस्छौं र हामी जेलमा बस्छौं,’ गीतमा उनी गाउँछन्, ‘हामी प्रार्थना गर्छौं– तिमीलाई भगवानले ती तिम्रा सबै गिरोह साथीहरूसँगै अँध्यारो जेलमा लगून्, मलाई विश्वास छ, तिमी त्यस्तै ठाउँमा सड्नेछौं ।’ यस्तै आशय बोकेको गीतिभिडियो सार्वजनिक हुनासाथ प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । तर, अधिकांशको यो गीतसँग खास सम्बन्ध थिएन । जसमा हबासदेखि कवि तथा गीतकार गलाल अल–बहेरी र मोहम्मद अब्देल–बासेटसमेत पक्राउ परेका थिए । गलाल र मोहम्मदलाई त कुवेतस्थित कारमा गीत बजाएकै कारण पक्राउ गरेर इजिप्टस्थित हिरासत ल्याइएको थियो ।
यी सबैलाई आतंकवादी समूहमा सहभागी भएर झुुटो खबर फैलाएको आरोप लगाइएको थियो । गलाललाई गलत खबर प्रकाशित गरेको र सेनाको अपमान गरेको आरोपमा जुलाई २०१८ मा तीन वर्षको कैद सजाय सुनाइएको थियो । सोही मुद्दामा पक्राउ परेका थप पाँच जनालाई पछि रिहा गरियो तर निर्देशक हबास र मुस्तफा गमाललाई गायक एस्समको फेसबुक पेज भेरिफाई गर्न सहयोग गरेको भन्दै प्रि–ट्रायल हिरासतमै राखियो ।
‘उनलाई दुुई वर्षपछि रिहा गर्नुपथ्र्यो,’ इजिप्टको काइरोस्थित एसोसिएसन फर फ्रिडम अफ थट एन्ड एक्सप्रेसनका प्रतिनिधिले हबासको निधनप्रति नाम गोप्य राख्ने सर्तमा दि गार्जियनसँग भनेका छन्, ‘तर, बिना कुनै कानुनी आधार उनलाई हिरासतमा राख्न बाध्य पारियो । पहिलो कुरा, उनी जेलमै मरे, जहाँ यस्टो घटना हुनै हुन्थेन । दोस्रो, कोही पनि कलाकार आफ्नो काम गरेकै कारण जेलभित्र थुुनिनुु हुँदैन ।’
हाल स्वीडेनमा निर्वासित गायक एस्समले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘गीतको सामग्रीसँग सेडीको केही पनि दोष थिएन ।’ उनले वेबसाइटमा हबासले जेलभित्रबाटै लेखेको अन्तिमपत्र पनि राखेका छन् । पत्रमा लेखिएको थियो, ‘जेलले मार्दैन तर एक्लोपनले मार्छ । मलाई बाँच्नका लागि तिम्रो सहयोग चाहिन्छ ।’
मृत्युले उठाएको प्रश्न
‘सेडी एउटा गीतका कारण २२ वर्षको उमेरमा जेल गए र २४ वर्षको उमेरमा जेलभित्रै मरे,’ कानुनविद् तथा अभियन्ता तारेक हुुसैनले ट्विटरमा भनेका छन्, ‘यो इजिप्टको भविष्यको छोटो, दुु:खद कथा हो, जुन जेलमा दिनप्रतिदिन मर्दै गइरहेको छ ।’
अल–सिसीको शासनविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आइरहेको अलजजिराका अनुसार जेलभित्र हबास बिरामी भएपछि कैदीहरूले उनलाई अस्पताल लैजान हारगुहार गरेका थिए । हबासको मृत्युको कारण अझै स्पष्ट छैन । तर, उनका वकिलले एएफपीसँग भनेअनुसार उनको स्वास्थ्यस्थिति पछिल्लो समय नाजुक हुँदै गएको थियो । ‘उनलाई अस्पतालमा भर्ना गराइएको थियो । फेरि हिजोसाँझ अस्पताल ल्याइएको थियो र राति जेलभित्रै निधन भयो,’ वकिल अहमद अल–खवागाले शनिबार मिडियासँग भनेका थिए ।
‘म विश्वास गर्न सक्दिनँ कि कोही २२ वर्षको युवकलाई कुनै मेडिकल केयरबिना दुुई वर्षदेखि जेलमै थुुनेर प्रतिशोध साँध्न खोज्छ, ताकि ऊ जेलमै मरोस्,’ इजिप्टका युुट्युुब स्टार युुसुफ हुसेनले ट्विटरमा लेखेका छन् । हबासमा समर्पित गरेर गायक एस्समले उनी समस्यामा रहेको भन्दै गीतसमेत गाएका थिए । उनले फेसबुकमा लेखेअनुसार उनको शवको दाहसंस्कार कायरोमै गरियो । ‘शेदी साहसी र दयालु थियो । कहिल्यै कसैको मन दुुखाउँदैन थियो,’ एस्समले लेखेका छन् ।
‘हरेक ४५ दिनमा म न्यायाधीशसामुु पुग्थे तर उनीहरू मेरो अनुहारमा एकपल्ट नहेरी, मेरो मुद्दामा कागजहरू एकपल्ट नपल्टाई मलाई थप ४५ दिन जेलमै राख्न आदेश दिन्थे,’ आफ्नो अन्तिम पत्रमा हबासले भावुुक हुँदै लेखेका थिए ।
हबासको निधनलाई कुनै कलाकारले अल्पायूमै ज्यान बिताउनु परेको घटनाका रूपमा मात्रै नभई एउटा कलाकारको अभिव्यक्ति स्वतन्त्रताको हत्याका रूपमा लिइएको छ । इजिप्टमा भएको यो घटनाले पछिल्लो समय नेपालमा पनि बढिरहेको कलाकार पक्राउका शृंखलालाई समेत सम्झाइदिएको छ । नेपालमा पनि हालै सामाजिक सञ्जालमा प्रधानमन्त्री र सरकारको निरन्तर आलोचना गरेकै कारण पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेर विद्युतिय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको धेरै भएको छैन । यद्यपि उनी अहिले धरौटीमा छुटिसके ।
अघिल्लो वर्ष कात्तिकमा प्रहरीले गायक दुुर्गेश थापालाई तिहारसम्बन्धी गीतमा समाजमा गलत सन्देश फैलाउने शब्दहरू प्रयोग गरेको भन्दै पक्राउ गरेको थियो । उनलाई प्रहरीले आपत्ति जनाएका शब्दहरू हटाउने शर्तमा माफी मगाएर रिहा गरेको थियो । दुुर्गेेशलाई छाडेको केही दिनपछि महानगरिय प्रहरी अपराध महाशाखाकै टोलीले र्यापर भिटेनलाई समात्यो । ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीबारे अपशब्द प्रयोग गरेको भन्दै उनलाई एक रात हिरासतमा राखिएको थियो । अघिल्लो वर्ष नै युट्युबमा गरिएको व्यंग्यात्मक फिल्म समीक्षाका कारण कमेडियन प्रनेश गौतम ८ दिन हिरासत बस्नुपरेको थियो । उनलाई पनि विद्युतिय कारोबार ऐनअन्र्तगत मुुद्दा चलाइएको थियो । जेलभित्रै संसार त्याग्न बाध्य इजिप्टका फिल्ममेकर हबासको अवसानको समाचारले संसारैभरिका अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई दु:खी बनाएको छ ।