सुशान्तसिंह राजपुतको फिल्म ‘छिचोरे’ सम्झँदा लाग्छ, आत्महत्याविरुद्ध उनले फैलाएको सन्देश र जीन्दगीसँग लड्न सिकाएका उत्प्रेरक अभिव्यक्ति गलत थिएनन् । उनले नै आफ्नो जीवनमा लागू गर्न नसके पनि गलत हुन सक्दैनन् ।
‘हामी हार–जित, सफलता–असफलतामा यति अल्झिसकेछौँ कि जिन्दगी जिउनै भुलिसकेछौँ । जिन्दगीमा यदि केही सबैभन्दा बढी महत्वपूर्ण छ भने त्यो जिन्दगी आफैँ हो ।’
यो संवाद अभिनेता सुशान्तसिंह राजपुतले सन् २०१९ मा अभिनय गरेको फिल्म ‘छिचोरे’को हो, जसमा जुनसुकै परिस्थितिमा पनि आत्महत्या गर्नुहुन्न भन्ने सन्देश छ । विडम्बना आफ्नै फिल्मको दर्शनलाई उनले पछ्याउन सकेनन् र आइतबार आत्महत्याको बाटो राजे ।
मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको उनको शवले उनका प्रशंसक, साथी र परिवारलाई दुःखी त तुल्याएको छ नै, सँगसँगै मानसिक स्वास्थ्यको विषय फेरि बहसमा ल्याएको छ । उनको आत्महत्याबारे थप अनुसन्धान भइरहेको छ । तर, प्रारम्भिक अनुसन्धानबाट खुलेको सत्य के हो भने उनी विगत केही महिनादेखि डिप्रेसनसँग लडिरहेका थिए । जसमा जित निराशाकै भयो ।
सुशान्तका प्रशंसकहरू अहिले सोचमा छन्– कसरी एउटा अभिनेता जो पर्दामा आफैँ आत्महत्या समस्याको समाधान होइन भन्छ, अनि आफूचाहिँ त्यही यात्रा तय गर्छ । नितेश तिवारीले निर्देशन गरेको ‘छिचोरे’मा सुशान्तले बाबु अनिरुद्ध पाठकको भूमिका निर्वाह गरेका छन्, जसका छोरा राघव इन्जिनियरिङमा नाम निकाल्नका लागि दिनरात घुँडा धसेर पढिरहेका छन् । तैपनि नतिजा सकारात्मक नआएपछि निराश भएर आत्महत्या प्रयास गर्छन् । त्यसपछि अस्पतालमा सुरु हुन्छ, उनको जीवनसँगको लडाइँ । चिकित्सक उनको परिवारलाई छोराको अवस्था शारीरिकमात्रै होइन, मानसिक रूपमा पनि गम्भीर रहेको जानकारी दिन्छन् ।
त्यसपछि बाबु अनिरुद्ध (सुशान्त)लाई लाग्छ, छोरालाई यो अँध्यारोबाट फर्काउने एउटै उपाय भनेको आफ्ना पुराना होस्टेलका दिनहरूमा फर्काउने, जहाँ उनले माया (श्रद्धा कपुर)सँग प्रेम गरेका थिए । अनि सेक्सा, एसिड, ममी आदि नामका साथीहरूसँग दोस्ती । उनी आफ्नो कहानीमात्रै सुनाउँदैनन्, कहानीका पात्रहरूलाई अस्पतालसम्मै ल्याइ पुर्याउँछन्, छोराको जीवनका खातिर ।
होस्टेलका दिनमा सारा मान्छेले आफू र आफ्नो समूहलाई ‘हरुवा’ भनेर चिनिरहँदा आफूले कसरी विजयी प्रमाणित गरेको भन्ने विस्तृत कथा उनी छोरालाई सुनाउँछन् र भन्छन्, ‘अरूसँग हारेर हरुवा कहलिनुभन्दा कयौँ गलत आफैसँग हारेर कहलिनु हो ।’
तर, विडम्बना फिल्ममा यसरी देखिएका सुशान्त अन्ततः आफ्नै जीवनसँग हारे र यो संसारबाट बिदा भए । पर्दाभित्र छोरा र पर्दाबाहिर सारा दर्शकलाई जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि जीवनसँग लड्न सक्नुपर्छ भनेर उत्प्रेरित गरे तर यथार्थमा आफ्नै जीवनसँग हारे ।
आफ्नो अभिनय कौशलका कारण सुशान्त बलिउडमा उदीयमान ‘स्टार’का रूपमा चिनिँदै थिए । टेलिभिजन हुँदै बलिउड प्रवेश गरेका उनको अभिनय संघर्ष र प्राप्त हुँदै गरेको सफलता साँच्चै प्रेरणादायक थियो । सन् २००८ मा ‘किस देशमें है मेरा दिल’ टिभी शोबाट टेलिभिजनको पर्दामा प्रवेश गरेका सुशान्तले ‘पवित्र रिश्ता’ टिभी सिरियलसम्म आइपुग्दा निकै ख्याति कमाएका थिए । सिरियलमा कार मेकानिकको भूमिकामा उनले निर्वाह गरेको मानव देशमुखको पात्र टेलिभिजनको दुनियाँमा निकै प्रिय थियो ।
टिभीको यही लोकप्रियताका कारण उनीप्रति बलिउडको नजर परेको थियो । सन् २०१३ मा ‘काइ पो चे’फिल्मबाट उनी बलिउडमा डेब्यू भए । भारतीय लेखक चेतन भगतको चर्चित उपन्यास ‘थ्री मिस्टेक्स अफ माइ लाइफ’मा आधारित रहेर बनेको यो फिल्ममा तीनजना साथीको मित्रता, सपना, आकांक्षा र लगावको कथा थियो ।
इशान भट्टको भूमिकामा देखिएका यो फिल्मबाटै उनले दर्शक र समीक्षकको मन जितेका थिए र बलिउडको आशलाग्दा अभिनेताको सूचीमा उनको नाम दरिएका थियो । यही फिल्मबाट उत्कृष्ट अभिनेताका रूपमा फिल्मफेयर अवार्डमा मनोनित समेत भएका थिए उनी ।
त्यसपछि दोश्रो फिल्म ‘शुद्ध देशी रोमान्स’को अभिनयबाट पनि उनले तारिफ नै पाए । यो फिल्मले ‘लिभ इन रिलेसनसिप’को विषय उठाएको थियो । त्यस्तै बक्सअफिसमा अत्यधिक व्यापार गरेको राजकुमार हिरानीको ‘पिके’मा समेत उनले सहायक भूमिका गरेर दर्शकको नजरमा परेका थिए ।
सन् २०१५ मा ‘डिटेक्टिभ बोमकेश बक्षी’मा प्रमुख भूमिकामा देखापरेका सुशान्त त्यसपछि भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कथामाथि बनेको बायोपिक फिल्म ‘एम एस धोनी: द अनटोल्ड स्टोरी’मा देखापरे । व्यापार र समीक्षा दुवै हिसाबले यो फिल्म राम्रो ठहरियो । यो फिल्ममा उनले भारतका पूर्व क्रिकेट कप्तान धोनीको भूमिका निर्वाह गरेका थिए । धोनीको व्यवहारलाई आफूमा उतार्न उनलाई निकै गाह्रो भएको थियो । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘मैले आफूलाई धोनी बनेर देखाउन खोजिनँ, बरु एउटा क्रिकेटरका रूपमा महसुस गरेँ ।’ यो फिल्मबाट उनले समीक्षकका तर्फबाट उत्कृष्ट अभिनेताका रूपमा स्क्रिन अवार्डसमेत पाएका थिए । इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्नमा समेत उनी यो फिल्मबाट उत्कृष्ट अभिनेताका रुपमा पुरस्कृत भएका थिए ।
त्यसपछि ‘राब्ता’, ‘केदारनाथ’, ‘सोनचिडिया’, ‘ड्राइभ’ लगायत फिल्ममा देखापरेका उनको अन्तिम फिल्म ‘दिल बेचरा’ सन् २०२० को मे ८ मा रिलिज हुने तयारी थियो । तर, हलिउड फिल्म ‘द फल्ड इन स्टार्स’को रिमेक भनिएको यो फिल्म कोरोना महामारीका कारण अनलाइनमा रिलिजको तयारीमा छ ।
धेरैलाई थाहा नहुन सक्छ, सुशान्त फिल्ममा आउनुअघि कोरियोग्राफर श्यामक दावरको विद्यार्थी थिए । ५१ औँ फिल्मफेयर अवार्डमा उनले ब्याकग्राउन्ड डान्सरका रूपमा नृत्यसमेत गरेका थिए । सायद त्यतिबेला सोचेका थिएनन् यही अवार्ड प्रतियोगिताको स्क्रिनमा कुनै दिन उत्कृष्ट अभिनेताको मनोनयनमा मेरो नाम पनि आउनेछ । तर, अभिनयप्रति उनको निरन्तर मिहेनत र लगावले त्यो सफलता हासिल गरेका थिए ।
सफलताको ग्राफ निरन्तर बढिरहे पनि सुशान्तले सधैँ मिस गरिरहने उनको आमालाई थियो । सन् २००२ मा निधन भएकी आमालाई सधैँ सम्झिरहन्थे । अभिनेता अर्जुन कपुरले सुशान्तसँग १८ महिनाअघि गरेको च्याट सम्झँदै लेखेका छन्, ‘जब उसले ‘केदारनाथ’ रिलिज भएको एक हप्तापछि आमाको तस्बिर राखेको थियो, त्यतिबेला मैले उसलाई अन्तिमपल्ट म्यासेज गरेको थिएँ । जतिबेला फिल्मलाई लिएर खुसीयाली मनाइँदै थियो, त्यतिबेला उसले आमा मिस गरिरहेको म महसुस गर्न सक्थेँ ।’
त्यसो त सुशान्त स्वयम्ले ‘एम एस धोनी’ रिलिजताका आमालाई सम्झिँदै एक अन्तरवार्तामा भनेका थिए, ‘यदि उहाँ यतिखेर जीवित हुनुभएको भए मलाई विश्वास छ, मेरो सफलता देखेर उहाँ निकै खुसी हुनुहुन्थ्यो र गर्व गर्नुहुन्थ्यो । र, सायद आज म जस्तो छु, त्योभन्दा बिल्कुल फरक मान्छे हुन्थेँ होला । जसरी मैले त्यही चिजहरूलाई हिजो र आज देखेँ, त्यो बिल्कुल अलग छ र म यसो गर्नुबाट पछि हट्न सक्दिनँ । यही दुर्भाग्य हो । कुनै पनि कुराले जति मलाई हिजो उत्साहित गर्थ्यो, आज गर्दैन । थाहा छैन किन तर सम्बन्ध, सफलता केहीले पनि सक्दैन । ’
‘यदि उहाँ जीवित भएको भए सायद यो उनको चिन्ताको विषय हुन्थेन तर मभित्र धेरै बदलाव आएका कारण पनि सबै कुरा यति बेस्वादको भइसकेको छ । कुनै कुरालाई लिएर उत्साहित हुन मलाई निकै कठिन हुन्छ, सायद त्यही कारण होला, म अभिनय साह्रै मनपराउँछु । किनकि यसले मलाई मबाट अलग हुन मद्दत गर्छ । ’
आमाको सम्झनामा बेलाबखत सुशान्त कविता पनि लेखिरहेका हुन्थे । एक हप्ताअघि जुन ३ मा मात्रै आमासँगको श्यामश्वेत तस्बिर राख्दै उनले लेखेका थिएः
‘धुमिल विगत आँसुको थोपा बनेर उडिरहेछ
असीम सपनाहरूले मुस्कानलाई आकार दिइरहेका छन्
र, क्षणभरको जीवन
यी दुईबीच मोलतोल गरिरहेछ ।’
यसअघि पनि उनले लेखेका थिए:
‘तिमीलाई याद छ ?
तिमीले वाचा गरेकी थियौ
जीवनभर मसँगै रहन्छु भनेर
अनि मैले गरेको थिएँ
तिमीलाई सधैँ खुसी राखिरहने वाचा
तर, केही छैन
यस्तो लाग्छ, हामी दुवै गलत थियौँ ।’
थाहा छैन, यो वाचामा को सही, को गलत थियो, तर दर्शकप्रति समर्पित उनको फिल्म ‘छिचोरे’ सम्झँदा लाग्छ, आत्महत्याविरुद्ध उनले फैलाएको सन्देश र जीन्दगीसँग लड्न सिकाएका उत्प्रेरक अभिव्यक्ति गलत थिएनन् । उनले नै आफ्नो जीवनमा लागू गर्न नसके पनि गलत हुन सक्दैनन् ।