साप्ताहिक संवाददाता
दयाहाङले तास खेल्न छाडे
'एक्कासि दुकासी ...' गीत बज्नासाथ जो-कोहीले सम्झन्छन् दयाहाङ राईलाई। राजेश पायल राईले गाएको उक्त गीतमा दयाहाङको अभिनयको चर्चा हुने गरेको छ । 'माचिस...', 'पाइलट खान्छेस्...', 'हे सरकार...' जस्ता ठेट थेगोले नै उनको चर्चा यति बिघ्न भएको उनका प्रशंसकहरू बताउँछन्। पहिले फुर्सदमा तास खेलेर दिन बिताउने दयाहाङ हिजोआज यति व्यस्त छन् जो कोही सायदै त्यति व्यस्त होलान्। पुस २६ देखि माघ २६ गतेसम्म काठमाडौं अनामनगरस्थित मण्डला नाटकघरमा सोमबारबाहेक हरेक दिन 'मीतज्यू' प्रदर्शन भैरहेको छ। त्यसका साथसाथै दयाहाङ चलचित्र सुटिङ, डबिङ अनि विभिन्न कार्यक्रमहरूमा पनि सरिक भैरहेका छन्। यति व्यस्त समय कसरी म्यानेज गरिरहनुभएको छ ? दयाहाङ भन्छन्- 'घर, मण्डला, सुटिङ अथवा वर्कसपमै बितिरहेको छ मेरो दिनचर्या, तासचाहिँ खेल्न छाडियो।'
- सन्तोष राई
रेश अमेरिकामा व्यस्त
नेपाली चलचित्रका नायक रेश मरहठ्ठा अहिले अमेरिकामा व्यस्त छन्। मरहठ्ठाले यतिबेला अमेरिकाको वासिङ्टन डिसीको माइनस डिग्री तापक्रममा गायक नवीन के भट्टराई र यम बुद्धको गीतमा अभिनय गरिरहेका छन्। नवीन के भट्टराईको याद तिम्रो गीतको म्युजिक भिडियोमा रेशसँगै मोडल अशिमा अर्यालले पनि अभिनय गरेकी छिन्। उता गायक यम बुद्धको पागल गीतमा मोडलहरू इच्छा पोखरेल, इन्दु पोखरेल तथा अप्सरा अर्यालले अभिनय गरेका छन्। त्यसबाहेक रेश अहिले नर्थ क्यारोलिनाको एक थिएटरमा मञ्चन भैरहेको नाटकमा वारियरको भूमिका निर्वाह गरिरहेका छन्। यसबीच रेशले निर्माण गरिरहेको चलचित्र च्यालेन्जको लगभग सबै काम सम्पन्न भएको छ। रेशले उक्त चलचित्रमा नयाँपन दिन केही दृश्य पुनः छायांकन गराएका छन्। अहिले यो चलचित्रको कलर करेक्सन भैरहेको छ। यो चलचित्र अब दर्शकसामु आउने तयारीमा छ। त्यस्तै रेशले अभिनय गरेको चलचित्र मिसन पैसा-२ र मेरो बेस्ट फ्रेन्ड पनि छिट्टै प्रदर्शन हुने बताइन्छ।
जितुलाई भ्याइनभ्याइ
चलचित्र 'छ एकान छ' सफल भएपछि अहिले त्यसमा अभिनय गर्ने प्रायः सबै कलाकार तथा अभिनेताको व्यस्तता चुलिएको छ। चलचित्रका एक नायक हुन्— जितु नेपाल। हास्यश्रृंखला 'जिरे खुर्सानी' का निर्देशक तथा अभिनेता नेपाल दर्शकमाझ 'मुन्द्रे' उपनामले समेत लोकप्रिय छन्। यसै पनि जितु स्वदेशका महोत्सव तथा विदेशका सांस्कृतिक कार्यक्रममा व्यस्त भैरहन्छन्। 'छ एकान छ' को सफलतापछि कार्यक्रमको संख्या ह्वात्तै बढेको उनले अनुभव गरेका छन्। साप्ताहिकसँगको एक भेटमा जितु भन्दै थिए— 'काठमाडौंमा बस्नै नभ्याउने अवस्था आएको छ।' अघिल्ला दुई साता पूर्व र पश्चिम नेपालका महोत्सवहरूमा व्यस्त जितु यसै साता सांस्कृतिक कार्यक्रमका लागि दक्षिण कोरियातर्फ प्रस्थान गरेका छन्। त्यहाँका नेपाली दर्शकलाई हँसाएपछि उनी सोझै हङकङ उड्नेछन्। हङकङबाट काठमाडौं आएपछि पुनः केही महोत्सवमा व्यस्त हुँदैछन्। ती महोत्सवपछि जितु पुनः विदेश उड्नेछन्।
नायिकाको विवाह
बुवाको निधन भएको करिब डेढ महिना नबित्दै विवाह बन्धनमा बाँधिएकी भावना रेग्मी यो साता चर्चामा रहिन्। निर्देशक स्व.शिव रेग्मीकी छोरीले गत शनिवार विवाह गरेकी हुन्। भावनाका पारिवारिक सदस्यका अनुसार स्व.रेग्मीकै चाहनाअनुसार भावनाको विवाह सम्पन्न भएको हो। निर्देशक रेग्मीद्वारा निर्देशित चलचित्र 'मनले मनलाई छुन्छ' का निर्माता तथा अभिनेता बिरेन श्रेष्ठका अनुसार निर्देशक रेग्मीले निधन हुनुअघि 'मेरो अवस्था जे-जस्तो भए पनि माघ महिनामा भावनाको विवाह गरिदिनु' भनेका थिए। माघ १० गते चितवनमा सम्पन्न भावनाको वैवाहिक समारोहमा सहभागी भएका बिरेनका अनुसार रेग्मीको घरनजिकैको मन्दिरमा मावलीले भावनाको कन्यादान गरिदिएका हुन्। विवाह समारोहमा स्व.रेग्मीका अत्यन्त निकट मानिने चलचित्रकर्मीहरू सहभागी थिए। शिव रेग्मीकै निर्देशनको चलचित्र 'सो सिम्पल' मा नायिकाका रूपमा डेब्यू गर्ने भावनाले काठमाडौंका एक व्यवसायीसँग लगनगाँठो कसेकी हुन्। गत वर्ष नै निर्देशक रेग्मीले छोरी भावनाको विवाहको टुंगो लगाइदिएका थिए। रेग्मीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि भावनाको विवाह स्थगित हुँदै गएको थियो।