बंगलादेशको चटगाउँमा भैरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाली टिमको आइतबार हङकङसँगको खेल हेर्न २५ सय ३ हजारको हाराहारीमा भेला भएका दर्शक देख्दा लाग्थ्यो, सबै बंगलादेशमै गएर क्रिकेट हेरिरहेका छन्। फरक यति हो, विपक्षी टिम हङकङका समर्थकचाहिँ कोही थिएनन्। खेल सुरु हुनुअघि नेपाली टिमले राष्ट्रिय गीत प्रस्तुत गर्दा भीडमा रहेका सबै छातीमा हात राखेर एकछिन भावुक पनि भए। 'नेपालले वल्र्डकप क्रिकेटमा सहभागिता जनाउनु नै हाम्रा लागि खुसीको कुरा हो,' क्रिकेटका क्रेजी सिद्धार्थ क्लबका उपाध्यक्ष दीपक आले मगरले भने- 'खुसीले सीमा नाघेको छ। वल्र्डकपमा नेपाली खेलाडीहरूको खेल देखेर निकै उत्साहित छु।' यस्तै आइतबारे चौकमा पनि स्थानीय युवाहरूले प्रोजेक्टर जोडेर क्रिकेटको मज्जा लिए।
अहिले पूर्वाञ्चलका विराटनगर, इटहरी, धरान, बेलबारी, पथरी, दमक, सुरुङ्गा, बिर्तामोड, भन्द्रपुर, काँकडभिट्टा आदि स्थानमा क्रिकेटको क्रेज बाढीको भेल बगेसरि उर्लिएको देख्न सकिन्छ। एभरेस्ट उच्च मावि, पथरीका निर्देशक रविन कन्दङ्वाले भने आफ्नो परिवारसँग बसेर क्रिकेट हेर्ने गरेका छन्। कन्दङ्वा भन्छन्- 'मैले वल्डकपकै लागि एउटा केवुल र एउटा डिस होमको छुट्टा-छुट्टै टिभी जोडेको छु।' उनको भनाइबाट के बुझ्नुपर्छ भने कुनै एउटामा लाइन डिस्टर्ब भए अर्काेमा हेर्ने। यस्तै प्रसङ्गले उजागर गर्छ क्रिकेटको क्रेज। त्यति मात्र होइन, सामाजिक सञ्जाल फेसबुक पनि क्रिकेटमय भएको छ। क्रिकेटको रौनकलाई होलीले पनि अझ बढी थप ऊर्जा दिएको छ। धेरैले फेसबुकमा होलीसँगै नेपालले विश्वकप क्रिकेटको यात्रा तय गरेको भन्ने 'स्टाटस' लेखिरहेका छन्। अन्य खेलको वल्र्डकप हुँदाताका बाजी खेल्ने खेलप्रेमीहरू विश्वकप क्रिकेटमा नेपालले सहभागिता जनाएपछि भने बाजी खेल्न त्यति उत्साहित देखिँदैनन्।
क्रिकेटको रौनक भुटानी शरणार्थी शिविरमा पनि देखिन्छ। मोरङको शनिश्चरे र दमकको बेलडाँगी शिविरका क्रिकेट पारखीहरूले डिस होम जोडेर वल्र्डकप हेर्ने गरेका छन्। शनिश्चरे शिविरका युवा हेम गिरी भन्छन्- 'हाम्रो शिविरमा विद्युत्को समस्या छ, त्यसैले भाडामा ब्याट्री ल्याएर भए पनि क्रिकेटचाहिं हेरिरहेकै छौं।' अहिले पूर्वका हरेक चौक-चौकमा, चिया गफ, कलेज, फिल्म हल, संघ संस्थाहरूमा प्रायः क्रिकेटकै कुरा भैरहेको देखिन्छ।