यस किसिमको गतिविधिबाट कलेजसँग अभिभावक एवं विद्यार्थीले सोझो सम्पर्क स्थापित हुन्छ। यो एउटा सकारात्मक पाटो हो। यद्यपि, कलेजका सम्बन्धमा बढाइचढाइ एवं अतिरञ्जित ढंगले गरिने प्रचारले अभिभावकहरूमा द्विविधा पनि बढाइदिन्छ। आकर्षक भवन, वाताअनुकूलित कक्षाकोठा, लिफ्ट, सिसिटिभी, खेलमैदानजस्ता भौतिक सुख-सुविधाको प्रलोभनमा पारेर उनीहरू विद्यार्थी तान्ने होडमा लाग्छन्। यस्तो प्रचारले अभिभावक एवं विद्यार्थीहरूमा आफूअनुकूल कलेज छनौट गर्ने आधारभन्दा बढी अन्यौल सिर्जना गरिदिन्छ। वास्तवमा कुन कलेज राम्रो हो ? खुट्याउन मुस्किल पर्छ।
केही वर्षयता गाउँ-गाउँमा प्लस टु तहसम्म पठन-पाठन हुन थालेको छ। यद्यपि, बर्सेनि थुप्रै विद्यार्थी 'स्तरीय शिक्षा खोज्दै' गाउँबाट सहर र जिल्लाबाट राजधानी भित्रिने प्रवृत्ति छ। यसरी बाहिरवाट आउने विद्यार्थी उपयुक्त कलेज छनौटमा निकै अलमलिन्छन्। उनीहरू भ्याएजति कलेजका ढोका चाहर्न पुग्छन्, र्फम भर्छन् र अन्तर्वार्ता दिन्छन्। यसरी विद्यार्थीलाई आमन्त्रण गरी र्फम बिक्री गर्ने धन्दा सहरी क्षेत्रका निजी कलेजमा राम्रैसँग फस्टाएको थियो।
पछिल्लो समय कलेज खुल्ने क्रम प्रतिस्पर्धात्मक रूपमा बढेको छ। आकर्षक नारा, भव्य भवन, आधुनिक सेवा सुविधा यी कलेजका विशेषता हुन्। अतः कलेजहरूको यो भीडमा कुन राम्रो हो ? छनौट गर्न सजिलो छैन।
एसएलसीपछि उपयुक्त कलेज छनौटमा विद्यार्थीले गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ। प्लस टुलाई उच्च शिक्षाको प्रवेशद्वार मानिन्छ। यतिबेला लिइने निर्णयले सुदूर भविष्यको यात्रा निर्धारण गर्छ। त्यसैले एसएलसीपछि हतारिएर, लहलहैमा लागेर, प्रलोभनमा परेर कलेज छनौट गर्न नहुने जानकारहरू बताउँछन्। आफूलाई उपयुक्त हुने कलेज छनौटअघि केही कुरामा ध्यान पुर्याउनुपर्छ।
आफ्नो रुचिलाई प्राथमिकतामा राखेर कलेज छनौट गर्नुपर्ने नोबेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठको राय छ। 'सुरुमा आफूलाई कुन क्षेत्रमा रुचि छ, भविष्यमा के बन्ने चाहना छ भन्ने कुरा निर्धारण गरौं,' श्रेष्ठ भन्छन्- 'अनि, सोहीअनुकूलको कलेज खोजौं।'
मुख्यतः कलेज छनौट गर्नुअघि त्यहाँको पढाइको स्तरका सम्बन्धमा चर्चा गरिन्छ। पढाउने पद्धति कस्तो छ, फ्याकल्टी मेम्बर कस्ता छन् भन्ने कुरा बुझ्नैपर्छ। अहिलेको अवस्थामा परम्परागत ढंगले पठन-पाठन हुने कलेज उपयुक्त हुँदैनन्।
घरपायक कलेज खोज्नुपर्छ। आफू बस्ने ठाउँ आसपासको कलेज छनौट गर्नाले यातायात खर्च त जोगिन्छ नै, आउजाउ गर्न पनि सहज हुन्छ। सकेसम्म हिँडेरै कलेज पुग्न सके राम्रो हुन्छ।
आफूले अध्ययन गर्ने कलेजका सम्बन्धमा निर्णय गर्नुअघि त्यसको व्यवस्थापन पक्ष, पढाइको स्तर, फ्याकल्टी मेम्बर आदिका सम्बन्धमा बुझ्नुपर्छ। पछिल्लो समय कलेज फुट्ने र नयाँ कलेज खोल्ने होड चलेको छ। यस्ता कलेजहरूको व्यवस्थापन कति मजबुत छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ।
नयाँ व्यवस्थापक फेरिएसँगै पुरानो कलेजको नाम मेटिने गरेको पाइन्छ। यस किसिमका कलेज छनौट गर्नुभन्दा लामो इतिहास बनाएको, व्यवस्थापन पक्ष बलियो भएको कलेज रोज्नुपर्ने विज्ञहरूको सुझाव छ। त्यस्तै, विगतमा उसले हासिल गरेको नतिजालाई पनि आधार बनाउनुपर्छ। यद्यपि, स्तरीय शिक्षाका नाममा विद्यार्थीलाई पाठ्यपुस्तक मात्र घोकाउने कलेज उपयुक्त नहुने बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजका भ्वाइस पि्रन्सिपल हरिसिंह केसी बताउँछन्। 'पढाइमा मात्र केन्दि्रत नगरी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि उपयुक्त वातावरण तय गरिदिने कलेज राम्रो हो,' केसी भन्छन्, 'किनभने कला-संगीत, खेलकुदजस्ता क्षेत्रमा आफ्नो वृत्तिविकास गर्ने प्लेटर्फम पनि हो, यो।'
कलेजले विभिन्न छात्रावृत्ति, सेवा-सुविधा आदि पनि उपलब्ध गराएको हुन्छ। भर्नाअघि यस्ता विषयमा पनि खोजीनिती गर्नु लाभदायक हुनसक्छ। पढाइमा अब्बल भएकाले मात्र होइन, अतिरिक्त क्रियाकलापमा राम्रो पर्फमेन्स भएका विद्यार्थीले पनि छात्रवृत्तिको अवसर प्राप्त गर्न सक्छन्। त्यस्तै, कलेजमा के-कस्ता सेवा-सुविधाहरू उपलव्ध छन् भन्ने जानकारी पनि लिनुपर्छ।
पढ्नुपर्ने सामग्री एउटै भए पनि कलेजको स्तरमा एकरूपता हुँदैन। उनीहरूको स्तर, सेवा-सुविधा अनुसार शुल्कमा विविधता हुन्छ। कलेज छनौट गर्नुअघि आफ्नो आर्थिक पृष्ठभूमिमा पनि ध्यान पुर्याउनुपर्छ। नेपाली समाजमा भनाइ नै छ-'घाँटी हेरेर हाड निल्नुपर्छ।'