न्युजिल्यान्ड जाने तयारीमा रहेका प्रमोद महर्जन पनि भरपर्दाे परामर्शदाताको खोजीमा छन्। न्युजिल्यान्डमा राम्रो अवसर भएकाले त्यहाँ जान मन लागेको महर्जनले बताए। 'न्युजिल्यान्डमा राम्रो अवसर छ भन्ने सुनेको छु त्यसैले त्यहाँ जान खोजेको हुँ,' महर्जनले भने।
फोकस एजुकेसन कन्सल्टेन्सीमा भेटिएकी समृद्धि अर्याल पनि आयरल्यान्डमा के-कस्तो अवसर छ भन्ने कुरा बुझ्दै थिइन्। विदेशमा पढ्न कहाँ कति खर्च लाग्छ ? भन्ने विषयमा बुझ्न मेलामा सहभागी भएको अर्यालले बताइन्। 'चोक र गल्लीपिच्छे कन्सल्टेन्सी खुलेका छन्, ठगिने सम्भावना हुन्छ, त्यसैले मेलामा एउटै कुरा धेरैसँग बुझ्न पाइने भएकाले यहाँ आएकी हुँ,' उनले भनिन्।
विदेशमा के-कस्ता विषय अध्ययन गर्न पाइन्छ ? त्यसका लागि योग्यता कति चाहिन्छ ? कुन विषय पढ्न कति खर्च लाग्छ ? ती विषय अध्ययनपछि रोजगारीको अवसर कस्तो छ ? आफूले चाहेजस्तो विषय र शिक्षा कहाँ पढाइन्छ ? कुन विषयका लागि कुन देश उपयुक्त छ ? नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) ले आयोजना गरेको शैक्षिक परामर्श मेलामा पुगेका विद्यार्थीहरूले राखेका जिज्ञासाहरू यस्तै थिए। विद्यार्थीहरू मात्र होइन अभिभावकहरू पनि आफ्नो सन्तानलाई कहाँ पढाउँदा ठीक होला ? आफूले चाहेजस्तो अवसरका लागि कहाँ पढ्नुपर्ला ? भन्ने जिज्ञासा मेट्न मेलामा सहभागी भएका थिए।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी आवश्यक परामर्श दिने हेतुले गत असार १२ गतेदेखि १५ गतेसम्म उक्त मेला आयोजित गरिएको थियो। १ लाखभन्दा बढीले यसपटकको मेला अवलोकन गरेको ई-क्यानका अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए। वैदेशिक अध्ययनमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको हार्डफोर्ड इन्फोटेक सेन्टरका अध्यक्ष महेश श्रेष्ठले बताए।
मेलामा भारत, चीन, बंगलादेश, फ्रान्स, अमेरिका, जापान, न्युजिल्यान्ड, अस्ट्रेलिया, नर्वे, मलेसिया, रूस, जर्मनी, आयरल्यान्ड, डेनमार्क आदि मुलुकका विश्वविद्यालयका साथै अध्ययनका विषय एवं तिनमा रोजगारीको अवसरका सम्बन्धमा परामर्श दिइएको थियो। परामर्शदाताहरूले विद्यार्थीले कुन देश जान चाहेको हो सोहीअनुसार भाषा सिकाउनेदेखि अन्य विभिन्न प्रक्रिया पूरा गरिदिँदै आएका छन्।
वैदेशिक अध्ययनसँगै काम पनि गर्न पाइने भएकाले विद्यार्थीहरू वैदेशिक अध्ययनतर्फ आकषिर्त भएको बताउँछन् ई-क्यानका अध्यक्ष बराल। बरालका अनुसार पछिल्लो समय छिमेकी मुलुक भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, अमेरिका, जापान आदि मुलुकमा विद्यार्थीहरूको क्रेज बढ्दो छ। विद्यार्थीहरू विशेषतः व्यवस्थापन, नर्सिङ, विज्ञान, आइटी तथा मेडिकलसँग सम्बिन्धत विषयहरू अध्ययन गर्न विदेश जाने गरेका छन्।
राजेन्द्र बराल, अध्यक्ष,
नेपाल शैक्षिक परामर्श संघ
यस पटकको शैक्षिक परामर्श मेला कस्तो रह्यो ?
हाम्रो अपेक्षाअनुरूप नै सम्पन्न भयो। विद्यार्थी एवं अभिभावकहरूको चाप निकै बढेको पाइयो।
विद्यार्थीहरूको आकर्षण कहाँ छ ?
विशेषतः भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, जापान आदि मुलुकमा आकर्षण बढ्दो छ, अरू मुलुकमा पनि राम्रै छ।
नेपाली विद्यार्थीहरू विशेष गरी के पढ्न विदेश जान्छन् ?
धेरैजसो व्यवस्थापन, आइटी, नर्सिङ, इन्जिनियरिङजस्ता विषय अध्ययन गर्न जान्छन्। पछिल्लो समय होटल म्यानेज्मेन्ट पढ्न जानेहरू पनि बढेका छन्।
परामर्श मेला विद्यार्थी तान्ने मेलो मात्र हो भनिन्छ नि ?
होइन, हामी विद्यार्थी एवं अभिभावकहरूले चाहेको परामर्श दिन्छौं, विद्यार्थीहरू पनि आफूले चाहेको कन्सल्टेन्सीमार्फत प्रक्रिया अघि बढाउँछन्।
परामर्शका नाममा थुप्रै विद्यार्थी ठगिएका पनि छन्, तपाइर्ंहरू निगरानी चाहिँ गर्नु हुन्न ?
हामीले सक्दो प्रयास गरिरहेका छौँ। यदाकदा कोही कसैले त्यसो गरेका होलान तर हामीसँग आबद्ध कन्सल्टेन्सीले त्यसो गरेको हाम्रो जानकारीमा छैन।