साप्ताहिक संवाददाता
टेलिभिजन च्यानल सोनी सिक्स विश्वकप फुटबलसम्बन्धी ताजा जानकारीको राम्रो स्रोत सावित भएको छ। यसले चर्चित खेलाडी तथा फुटबल विश्लेषकहरूलाई स्टुडियोमै उपस्थित गराएर हरेक खेलको नालिवेली जानकारी गराइरहेको छ। भारतको राष्ट्रिय फुटबलका कप्तान सुनिल क्षेत्री, पूर्व कप्तान भाइचुङ भुटिया मात्र होइन, चर्चित अभिनेता जोन अब्राहमका साथै इंग्लिस क्लबका खेलाडी तथा फुटबलप्रेमीहरूसमेत स्टुडियोमै पुगेर विश्वकपको विश्लेषण गरिरहेका छन्।
नेपाली टेलिभिजन च्यानलहरूले पनि यसपटकको विश्वकपबाट नौला कार्यक्रमहरूको सुरुवात गरेका छन्। विश्लेषक एवं राष्ट्रिय खेलाडीहरूलाई स्टुडियोमा निम्ता गरेर छुट्टै प्याकेजमार्फत विश्वकप फुटबलको ताजा जानकारी गराउने ट्रेन्ड यसपटक थप झागिएको छ। सोनी सिक्सले थालेको 'क्याफे रियो' तथा 'फुटबल एक्स्ट्रा' ले नेपाली दर्शकहरूलाई पनि विश्व फुटबलको इतिहास मात्र होइन, ताजा जानकारी लिन सहज भएको छ। सम्पूर्ण प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिरहेको कान्तिपुर टेलिभिजनले बिहान साढे आठ बजे प्रारम्भ गर्ने 'इनसाइड स्टोरी' विश्वकपकै लागि भनेर तयार गरिएको हो। अनन्त वाग्ले र रोशनबहादुर सिहं प्रस्तोता रहेको उक्त कार्यक्रममा नेपालका पुराना फुटबल स्टार तथा विश्लेषकहरू स्टुडियोमै पुगेर हरेक म्याचको ताजा विश्लेषण गरिरहेका छन्।
न्यूज २४ टेलिभिजनको 'विश्वकप विशेष' कार्यक्रमका लागि फुटबल विश्लेषक संजीव मिश्र विहान ८ बजे स्टुडियो पुग्छन्। प्रस्तोता सविना कार्कीसँग उनको बहस र विश्लेषणले विश्वकप फुटबल तथा नेपालको फुटबलको अवस्थाको पनि विश्लेषण गरिरहेको छ। प्रस्तोता कार्की भन्छिन्- 'फुटबल विशेषज्ञहरूलाई स्टुडियोमा उपस्थित गराएर कार्यक्रम सञ्चालन गर्दा दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं।'
माउन्टेन टेलिभिजनको कार्यक्रम 'टुवाडर््स द गोल' पनि विश्वकप फुटबलप्रति समर्पित छ। बिहान नौ बजे प्रसारण भैरहेको उक्त कार्यक्रममा पूर्व फुटबल खेलाडी तथा फुटबल विश्लेषकहरूद्वारा विश्वकपका हरेक खेलका बारेमा गहकिलो विश्लेषण प्रस्तुत गरिन्छ। कार्यक्रम प्रस्तोता अन्वेषण अधिकारी भन्छन्— दर्शकहरूको अनुरोधमा पहिले आधा घण्टामा सीमित यो कार्यक्रम हाल एकघण्टा सञ्चालन भैरहेको छ।
इमेज टेलिभिजले पनि दैनिक पाँचपटक विश्वकप विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। नग्मा श्रेष्ठ, सोमराज पोखरेल तथा निरन्जन अधिकारीले फरक-फरक समयमा प्रस्तुत गर्ने विश्वकप विशेषमा गहन विश्लेषण र खेलका बारेमा ताजा जानकारी गराइन्छ। 'हामी प्रतियोगिताको हाइलाइट प्रस्तुत गछौर्ं भने विश्लेषणलाई बढी प्राथमिकता दिन्छौं।' खेल पत्रकार सोमराज पोखरेलले बताए। विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गरिरहेको नेपाल टेलिभिजनले पनि विश्वकपका लागि भनेर विशेष समय छुट्टयाएको छ। सकिएका प्रतियोगिता र आगामी खेलका सम्बन्धमा अनुभवी विश्लेषकहरूको तर्क सुनेर कतिपय दर्शक सन्तुष्ट छन् भने कतिपय विश्लेषण सतही पनि देखिन्छन्।