साप्ताहिक संवाददाता
गाईजात्रा गर्न सिजन कुर्नुपर्छ, महजात्रा जुन सिजनमा पनि आउन सक्छ।
अनि गाइजात्रामा चाहिँ के गर्ने ?
अरू साथीभाइले गरेको गाईजात्रा हेर्ने। फुर्सद लिएर घरमा आराम गर्ने।
उमेर ढल्कँदै जाँदा सेन्स अफ ह्युमर घट्दै जान्छ रे। तपाईं आफ्नो मामिलामा यो कुरा मान्नुहुन्छ ?
हाम्रो 'सेन्स अफ ह्युमर' घटेको हो भने यस पटक देश-विदेशमा सम्पन्न मह जात्रामा दर्शकहरूले हल खचाखच भरिंदैनथ्ये, दर्शकहरूले हाम्रो कार्यक्रम रमाइलो मान्दै हेर्नुहुन्थ्यो होला। हरेक शोको टिकट 'सोल्ड आउट' भएबाट हामी आफूमा 'सेन्स अफ ह्युमर' घट्दै गएको होइन, झन् बढिरहेको मान्छौ।
त्यसरी हँसाउने इनर्जी चाहिँ कताबाट आउँछ ?
मञ्चमा दर्शकहरू हाँस्नुभयो, चलचित्र र टेलिचलचित्रहरू रमाएर हेर्नुभयो भने त्यही ऊर्जाले हाम्रो हँसाउने इनर्जी बढाउने ब्याट्री स्वत: चार्ज भैरहन्छ।
पछिल्लो पुस्ताका हास्यकलाकारहरू महजोडीलाई आफ्नो आइडियल मान्छन्। यस्तो कुरा सुन्दा कस्तो अनुभूति हुन्छ ?
उमेरमा उनीहरूभन्दा परिपक्व भएकाले सम्मान गरेर भनेका हुन्। हामी भाग्यमानी रहेछौं कि आधुनिक हास्यव्यंग्य कला उदाउने बेला हामी उदाउन पायौं। त्यसकै प्रतिफल हो, यस्तो सम्मान।
आफ्नो फेसबुक पेज तपाईं आफैं चलाउनुहुन्छ ? समय कति बेला भ्याउनुहुन्छ ?
मेरो छोरा मोहितले चलाउँछ। कमेन्ट गर्नुपर्यो वा केही नौलो कुरा हाल्नुपर्यो भने म पनि ऊसँग बसेर हेर्छु।
फेसबुकमा आउने सयौं, हजारौं कमेन्ट पढ्नुहुन्छ ?
मेरो फेसबुकमा प्रशंसकहरूको कमेन्ट हेर्ने काम पनि छोराले नै गर्छ। विशेष किसिमको रहेछ भने उसले मलाई पनि देखाउँछ।
मदनकृष्ण श्रेष्ठ सञ्चो नहुँदा पनि महजात्रामा संलग्न हुनुहुन्छ। उहाँलाई गाह्रो परेको छैन र भन्या ?
भर्खरै पोखरामा महजात्रा सक्यौं। बरु उहाँलाई कार्यक्रम गर्न नपाउँदा बिसन्चो हुन्छ। कार्यक्रम गर्दा त उहाँको स्वास्थ्य निकै राम्रो पो देखियो।
यसपटक महजोडीको दोस्रो पुस्ता
मोहितवंश आचार्य र यमन श्रेष्ठ पनि महजात्रामा सहभागी भए। यदि उनीहरुले पनि जोडी बनाउने विचार गरे भने के सल्लाह दिनुहुन्छ ?
जोडी बन्छु भनेर बन्ने कुरा होइन, संयोगले जोडी बन्नुपर्छ। उनीहरूले हामीले जसरी अभिनयलाई मात्र पेसा बनाएका छैनन्, व्यवसाय पनि गरिरहेका छन्। यदि उनीहरूले जोडी बनाउने निधो नै गरेछन् भने त राम्रो हो नि। नयाँ पुस्ता हामीभन्दा बुद्धिमान छन्, विचार पुर्याएर निर्णय लिन्छन्।
व्यस्ततामा श्रीमतीलाई कसरी समय दिनुहुन्छ ?
कार्यक्रमहरूमा प्राय: उनी मेरो साथमा हुन्छिन्, त्यसैले समय त निकै दिइरहेको छु।
कत्तिको रोमान्टिक हुनुहुन्छ ? श्रीमतप्लाई गिफ्टहरू कत्तिको दिनुहुन्छ ?
रोमान्टिक त छु नि। रोमान्टिक हुन उमेरले छेक्दैन। जन्मदिन, विवाहको वाषिर्कोत्सव, चाडबाड आदि पारेर उनलाई उपहार दिन्छु। उनी पनि मलाई उपहार दिन्छिन्।
नेपालका दुई जना क्यारिकेचर कलाकार, जसले तपाईंहरूको पर्फेक्ट क्यारिकेचर गर्छन् ?
नारद खतिवडा र मनोज गजुरेल।
अहिले गीत गाउन किन कम गर्नुभएको ?
तीन-चार वर्षको अन्तरालपछि हालै 'खोक्रो सारंगी' शीर्षकको गीत गाएको छु। दर्शक-श्रोताले मन पराइरहनुभएको छ।
कुनै चलचित्रमा रेेखा थापाको नायक भएर अभिनय गर्नुपर्ने भयो भने कस्तो तयारी गर्नुहुन्छ ?
उनीजस्ती लोकप्रिय कलाकारसँग काम गर्नुपर्यो भने खासै तयारी गर्दिन, म जे छु त्यसरी नै प्रस्तुत हुन्छु।
यसपटक सभासदहरूले संविधान बनाउलान् भनेर कत्तिको आशा गर्नुभएको छ ?
उनीहरूले भन्दा त नरेन्द्र मोदीले संविधान बनाइदिनुहोला जस्तो पो लाग्यो।
नरेन्द्र मोदीको भाषणलाई कुन रूपमा लिनुभयो नि ?
भाषण सुनेपछि उहाँजस्तो क्वालिटी भएको नेता हाम्रो देशले पनि पाए हुन्थ्यो जस्तो लाग्यो।