फाल्गुन ३०, २०७६
धरानमा जिपलाइनको सुरुवात भएको छ । ६ सय ५० मिटर लम्बाइको उक्त जिपलाइन ३ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । धरान–४ भेडेटारबाट देवीथानसम्म जिपलाइन चल्ने सञ्चालकले जनाएका छन् । काभ्रेको धुलिखेलमा जिपलाइन सञ्चालन गरिरहेको वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले नै धरानमा पनि जिपलाइन सञ्चालनमा ल्याएको हो ।
जिपलाइन सञ्चालनमा आएसँगै भेडेटार र धरानको पर्यटकीय गतिविधि बढ्ने वल्र्ड वाइड प्रालिका केदारबहादुर थापाले बताए । जिपलाइन गर्ने साहसिक पर्यटकको ५ लाख रुपैयाँको बिमा गरिएको जनाइएको छ । विभिन्न ३ प्रकारको जिपलाइन खेलमा १२ सयदेखि २ हजार रुपैयाँसम्म शुल्क लाग्ने सञ्चालक थापाले बताए ।