पिटर गोर्गईको जन्म अमेरिकाको पेन्सिलभेनियामा भएको हो । उनी २८ वर्षका भए । उनी अहिले पोखरामा छन् । घुम्न आएका उनी लकडाउनका कारण पोखराको लेकसाइडमा रोकिए । उनलाई गीत गाउन, गीतार बजाउन र दौडमा रुचि छ । उनी लकडाउनको समयमा परिवार र साथीसँग भिडियो कलमा कुराकानी गर्छन् । उनी फेवा किनारामा पुगेर गीतार बजाउँदै, गीत गाउँछन् ।
लकडाउन कहिले खुल्छ, स्थिती कहिले सहज हुने हो थाहा नभएपनि उनी छिट्टै सबै सहज हुनेमा आशावादी छन् । यसअघि भारतसम्म आएका उनको यो नेपालको पहिलो भम्रण हो । उनको भिसा म्याद १३ अप्रिल २०२० सम्म छ । २९ जनवरी २०२० नेपाल आएका हुन् । उनी यतिबेला एक्लै छन् । उनका केहि साथी आफ्नो देश फर्किसके ।
‘सुरुमा मलाई यो अवस्था देखेर रिस पनि उठ्यो । तर विश्वभरीनै यो अवस्था छ । नेपालमा भाइरस फैलन नदिन गरिएका प्रयास राम्रो लाग्यो । यसको लागि ढिलाई भएको छैन ।’ उनले भने ।
लकडाउन सकिएपछि नेपालबाट भारततर्फ जाने उनको योजना छ । उनलाई मोटरसाइकलमा यात्रा गर्न मनपर्छ । उनी भन्छन् –‘नेपालबाट भारतमा जान पाइने हो की हैन भन्ने निश्चित छैन । किनकी भारतमा पनि लकडाउन छ । म बाइकमा भारत जान चाहन्छु ।’
अमेरिकाको विल्डिङ एजुकेशन संस्थामा आवद्ध उनी सामाजिक कार्यमा समेत क्रियाशिल छन् । सो संस्थाले गत फेब्रुअरीमा पोखरामा महिला लक्षित कार्यशाला गरेको थियो ।
यतिबेला संयुक्त राज्य अमेरिकामा कोरोनाको संक्रमण बढ्दो रुपमा फैलिएको छ । संक्रमणका कारण धेरै विरामी छन् । उनी यो अवस्था अब समाधान हुनेमा आशावादी छन् । उनको परिवार इजिप्सियन अमेरिकी हो । अमेरिकामा उनी सेल्सको काम गर्छन् ।
‘म नेपाली जनतालाई सतर्क र धैर्य रहन अनुरोध गर्छु, अहिले भइरहेको लकडाउनले यो संकटबाट बचाउन महत्वपुर्ण भुमिका खेल्नेछ’ उनले भने ।
उनले ‘घोष्ट’ सांगीतिक एल्बम निकालेका छन् । जसमा घोष्ट, विपोलारिटि, मिस इन्डिपेन्डेन्ट, लेट यो गो, मिलेनियल एज गरी पाँच गीत समावेश छन् । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा भएको १४ औँ संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा उनले सहभागीता जनाएका थिए ।
उनलाई नेपालको सौन्र्दयताले भने लोभ्याएको छ । नेपाल साह्रै सुन्दर छ । मानीसहरु सहयोगी छन्, अथितिलाई न्यानो आथित्यता प्रदान गर्छन् । खानेकुरा स्वादिष्ट छ । यहाँ संस्कृति जीवन्त लाग्छ । नेपालको तारिफ गर्दै उनले भने ।
सबै नेपालीलाई घरमानै बसेर कोरोना संक्रमणको यो समस्यासँग जुध्न आग्रह गर्छन् । ‘म विशेषज्ञ त हैन तर घरभित्र नै बस्न सक्ने हो भने संक्रमण फैलने छैन, ज्यान जाने छैन’ उनले थपे ।