साप्ताहिक संवाददाता
नेपालमा पदयात्रा, पर्वतारोहण, जलयात्रा, बन्जी जम्पिङ, वाल क्लाइम्बिङ, रक क्लाइम्बिङजस्ता पर्यटनसम्बन्धी खेलहरू लोकपि्रय भैसक्दा पनि आइस क्लाइम्बिङ भने अझै स्थापित हुन सकेको छैन। यो खेल नेपालमा किन फस्टाउन सकेन त? एक पर्वतारोहण प्रशिक्षक भन्छन्- नेपालमा आइस क्लाइम्बिङ मात्र होइन स्की (हिउँमा चिप्लेर खेलिने खेल) ले पनि बिस्तार हुने मौका पाएको छैन। ती प्रशिक्षक भन्छन्- त्यस्ता खेलका लागि प्राकृतिक हिमालमै जानुपर्ने बाध्यताले गर्दा पनि आइस क्लाइम्बिङ तथा स्कीले गति लिन नसकेको हो। ५ हजार ८ सय मिटरको सेरोफेरोभन्दा तल आइस क्लाइम्बिङ र स्किइङ गर्न लायक हिउँ नै नभएकाले विदेशी स्कियर र आइस क्लाइम्बरहरू आइस क्लाइम्बिङ र स्किइङकै लागि भनेर नेपाल आउँदैनन्। उनका अनुसार युरोप-अमेरिकातिर समुद्री सतहभन्दा १ हजार ४ सयदेखि १ हजार ६ सय मिटरतिरै आइस क्लाइम्बिङ र स्किइङ गर्न सकिने उपयुक्त हिउँ वा बरफ भेटिन्छ। फेरि त्यहाँ खेलाडीहरूलाई चिसोबाट बचाउन उपयुक्त ठाउँ (हिटिङ रुम भएको होटल लज वा सेल्टर) को व्यवस्था गरिएको हुन्छ। केही गरी खेलाडी दुर्घटनामा परे बढीमा १० मिनेटभित्र उद्धार गर्ने व्यवस्था हुन्छ। यहाँ त फोन गर्न जान नै एक/दुई दिनसम्म लाग्छ। यस्तो अवस्थामा विदेशी खेल पर्यटकहरू न त आइस क्लाइम्बिङ गर्न आउँछन्, न त स्किइङ गर्न नै, तै पनि जति आउँछन् खतरा मोलेर आउँछन्।
नेपाल सरकार तथा पर्यटन व्यवसायीहरूले साहसिक एवं रोमाञ्चक खेललाई पनि प्राथमिकतामा राखेर आउँदा दिनहरूमा भौतिक पूर्वाधारहरूको प्रवर्द्धन गर्न सके आइस क्लाइम्बिङ र स्किइङसमेतलाई अघि बढाउन सकिने अवस्था सिर्जना हुनेछ।
निनाम लोवात्ती कुलुङ