टाइगर द रियल हिरोको पोस्टर सार्वजनिक भएपछि नायिका शुभेच्छा थापासँग तपाईंको विवाद देखियो होइन?
हो, नायिका शुभेच्छा थापाले आफूलाई चलचित्रको पोस्टरमा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको होला, तर त्यसलाई खासै ठूलो विवाद भन्न मिल्दैन।
चलचित्र प्रदर्शनका बेला तपाईंको नायिकाहरूसँग विवाद भएको देखिएको छ। चलचित्र चलाउन जानीजानी यस्ता स्क्यान्डल सिर्जना गरिएको त होइन?
स्क्यान्डल गरेर चलचित्र चल्ने होइन। चलचित्र राम्रो बनेको खण्डमा दर्शकहरू आफैं हलमा पुगेर हेर्छन्।
नायिकाहरूलाई नङ्ग्याउन त खप्पिसहुनुहुन्छ नि?
कथाअनुसार नायिकालाई प्रस्तुत गर्ने हो। मैले बनाएका कतिपय चलचित्रको कथा यौनसँग सम्बन्धित भएकाले नायिकाहरूलाई कथाअनुरूप नै उतारेको हो, त्यसलाई अन्यथा बुझ्नु हुँदैन।
कथाले मागेर होइन, निर्देशकले मागेर चाहिँ नायिका नाङ्गिन्छन् भनिन्छ नि?
निर्देशकले त कथाअनुसार चलचित्र बनाउने हो। निर्देशकको चाहनाअनुसार चलचित्र बन्ने हो भने त म पूरै नङ्ग्याएर नीलो चलचित्र नै बनाउने थिए होला नि।
निर्देशक गिरीले नायिकालाई नङ्ग्याए चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने कुरा बुझेको धेरैको आरोप छ नि?
यसमा कुनै सत्यता छैन्। नायिकालाई नङ्ग्याए मात्र चलचित्रको व्यापार राम्रो हुने होइन। सर्वप्रथम त कथा राम्रो हुनुपर्छ। समाजमा घटेका घटनाहरूलाई चलचित्रमा समेटन सक्नुपर्छ।
तपाईंले निर्देशन गरेका चलचित्र घरपरिवारका सदस्य एकसाथ बसेर हेर्न नसकिने खालका छन् होइन?
होइन, अहिले समाज धेरै विकसित भैरहेको अवस्था छ। यौनका विषयमा खुलेरै बोल्ने र हेर्न सक्ने अवस्था आइसकेको छ। त्यसकारण मैले निर्देशन गरेको चलचित्र घरपरिवारका सदस्यहरू एकसाथ बसेर हेर्न सकिने खालकै छन्।
तपाईंले समात्नु भएको 'ट्रेन्ड’ दिगो होइन भनिन्छ नि?
समयअनुसार चलचित्र पनि परिर्वतन हुनुपर्छ। मैले समातेको 'ट्रेन्ड' नायिकालाई हट देखाउनु मात्र होइन, समाजमा घटेका घटनालाई यथार्थ रूपमा प्रस्तुत गर्नु पनि हो। मैले कथाअनुसार चलचित्र निर्देशन गर्ने हो। त्यसकारण मेरो 'ट्रेन्ड' यही हो भन्ने हुँदैन। म जस्तोसुकै कथामा पनि चलचित्र बनाउन सक्छु।