साप्ताहिक संवाददाता
सधैंझैं सिस्नुपानी नेपालले काठमाडौंमा व्यंग्यात्मक देउसी खेल्दा गजुरियल विश्लेषकचाहिं बेलायतमा भट्याइरहेको थियो । प्रवासी नेपाली मञ्च, युकेको आयोजनामा लन्डनमा विशेष सिस्नुपानी 'टाइप' को देउसी-भैलो खेलियो । अर्को वर्षको देउसी-भैलोका लागि विदेशका नेपालीलाई सन्दर्भ सामग्री हुन सक्ने भएकाले सिस्नुपानी देउसीको 'लन्डन भर्सन'का केही सामग्री यहाँ प्रस्तुत गरिन्छ :
राम्रो माटो, चिल्लो बाटो हिंड्दै गुड्दै आयौं
लन्डनको सहर तिहारको रहर देउसिरे गीत गायौं
मखमली फूलजस्तै नओइलाउने गरी
जहाँ भए नि मिली बस्छौं फूलको माला सरी ।
ब्ोलायतका पूर्व गोर्खा सदस्यहरूमा एउटा राम्रो सम्बन्ध हुन्छ, जो हरेक नेपालीले सिक्न लायक छ । जुनसुकै जात वा क्षेत्रको भए पनि लाहुरेलाई मामा र लाहुरेनीलाई माइजू भनिन्छ । जुनसुकै उमेर वा भेगको भए पनि उनीहरूका छोरालाई भान्जा र छोरीलाई भान्जी भन्ने चलन छ । यस्तो चलनले सम्बन्धलाई शिष्ट र सभ्य बनाउँछ । गोर्खा सेना र उनीहरूको परिवारलाई साँच्चिकै पारिवारिक वातावरणले स्थापित गरेको छ । त्यसैले 'भन भन भाइ हो, भन भन बैनी हो'को साटो देउसीलाई यसरी बेलायतीकरण गर्नु राम्रो हो भन्ने गजुरीयल बुझाइ रह्यो :
भन भन मामा हो— देउसिरे
भन भन माइजू हो— देउसिरे
भन भन भान्जा हो— देउसिरे
भन भन भान्जी हो— देउसिरे ।
'भन भन भाइ हो, जोडले भन' भन्ने भट्याइ त्यहाँ पटक्कै उपयुक्त हुँदैन, किनभने धेरैजसो विदेशी जोडले बोलेको मन पराउँदैनन् । शान्त वातावरण नरुचाउने विदेशीलाई 'जोडले भन्दा' देउसीले आकर्षण नगर्न सक्छ । 'ए, चारकुने आँगन, ए उफ्रीपाफ्री' गर्दै घर नै भत्कने डर हुन्छ । 'ए बिग्रे बिग्रोस्, ए भत्के भत्कोस्' भनेर भट्याउँदै पुलिसले ठाउँको ठाउँ 'टिकट' दिन बेर लगाउँदैन ! त्यसैले विदेशी भूमिमा भट्याउने तरिका पनि यसरी परिमार्जन गर्नुपर्ने गजुरियल बुझाइ रह्यो :
ए भन भन साथी हो— देउसिरे
ए बिस्तारै भन— देउसिरे
ए चारकुने आँगन— नबिगारी
ए उफ्रीपाफ्री— गर्दै नगरी
ए स्वर सानो पारी— देउसिरे
ए अरूलाई बाधा नपारी— देउसिरे ।
बेलायतवासी नेपालीहरूलाई सेलरोटीका लागी तिहार कुर्नै पर्दैन । ठूला-ठूला भोजभतेरदेखि सानातिना जमघट सबैमा सेलको परिकार अनिवार्यजस्तै हुन्छ । बेलायती पाहुनाहरू पनि सेलरोटी भनेपछि हुरुक्कै हुन्छन् । सेलरोटीलाई मात्र आधार मान्ने हो भने त्यहाँ हप्तैपिच्छे तिहार हुन्छ । उपहार लेनदेन र खादा, मालाको प्रचलन हरेक कार्यक्रममा हुन्छ । त्यसैले फूलमालाको महत्त्वलाई देउसीका अवसरमा प्रस्ट पार्नु उपयुक्त हुन्छ भन्ने गजुरीयल ठम्याइ छ :
सप्तरंगी टीकाजस्तै सुन्दर मुस्कान छर्दै
सेलजस्तै मीठो नरम मुटुमा माया भर्दै
दिदी-बैनी दाजु-भाइ आयौं हिंड्दै डुल्दै
वर्ष दिनको तिहारमा दु:ख-पीडा भुल्दै ।
तिहार त एउटा माध्यम हो भेटघाटको । यस्ता माध्यम अरू पनि हुन्छन् । ल्होसार, साकेवा, माघी, तङ्नामजस्ता नेपाली चाडपर्वले पनि त्यत्तिकै भाइचाराको सन्देश दिइरहेका हुन्छन् । मेरो र तेरो चाडभन्दा पनि हरेक चाडपर्वले मानिसलाई आपसमा जोड्ने सन्देश दिनुपर्छ भन्ने गजुरियल ठम्याइ छ । त्यसैले विदेशको देउसी-भैलोमा 'बलिराजको हुकुम'को कथा मात्र होइन, जनताको एकताको यथार्थता पनि हुनुपर्छ भन्ने गजुरियल अनुरोध रहन्छ :
दसैं, तिहार, ल्होसार, चासोक, साकेला र होली
जहाँ रहे नि संस्कृतिको चुँडिँदैन डोरी
शान्त रहोस्, समृद्ध होस् हाम्रो जन्मभूमि
आफ्नै देशमा मर्न पाऊँ संसार घुमे पनि ।
बेलायतमा स्थापित पोखरेली गायक सुजन पराजुली, मीना ढकाल र अन्य साथीहरूको भैलिनी पनि बेलायती पाराकै थियो :
भैलिनी आयौं लन्डनमा
नेपाल सम्झी मन-मनमा
हे सहर लन्डनमा, खेलौं देउसी-भैलो ।
फाली मनको मैलो
खोलौं दिलको दैलो
हे नेपाली मन, देउसी भैलो भन ।
देउसेले दिएको आशिष लाग्छ-लाग्दैन त्यो आफ्नै ठाउँमा छ, तर देउसीको लन्डन भर्सनअन्तर्गत आशिषलाई पनि यसरी सिस्नुपानीकरण गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ रह्यो :
ए पाउन्ड फल्ने— रूख भेटियोस्
ए बाबुआमाको— दु:ख मेटियोस्
ए छोरा र छोरी— युनी (युनिभर्सिटी) जाऊन्
ए पढाइअनुसार— काम पाऊन्
ए कलेजका साहू— नभागून्
ए फिस् धेरै-धेरै— नमागून्
ए एकताको झन्डा— उचाली
ए मिलेर बसून्— नेपाली ।