सङ्गीतलाई फरक–फरक उद्देश्यका लागि प्रयोग गरिएको पाइन्छ । सङ्गीतलाई योगको रूपमा पनि प्रयोग गरियो । त्यस्तै मनोरञ्जन, भक्ति र उपचारसमेतमा प्रयोग गरिँदै आएको छ । जनावर र बोटविरुवामा पनि सङ्गीतको प्रभावबारेमा अध्ययन गरिएको छ । जसबाट शान्त प्रकृतिको सङ्गीतको प्रभावले गाईले बढी दूध दियो, विरुवा राम्ररी हुर्कियो भन्ने देखिएको छ ।
सङ्गीतको प्रभाव मानिसमा नपर्ने कुरै भएन । सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएको छ । भनिन्छ– सङ्गीतले संसारलाई बदल्ने तागत पनि हुन्छ । सङ्गीत सुन्नुको उद्देश्य भने आफैंलाई थाहा हुनुपर्छ । कुनै सङ्गीत सुन्दा नजानीकनै हामीलाई ध्यानको अवस्थामा लैजान सक्छ भने कतिपय अवस्थामा सङ्गीतवाट ध्यानको अवस्थामा जान आफै“ तयार हुनुपर्छ । कुनै सङ्गीतमा एकनासले मनलाई स्थिर पार्नुपर्छ ।
कसैका लागि सङ्गीत एउटा अभिव्यक्ति हुनसक्छ, कसैका लागि सङ्गीत एउटा पेशा, त कसैका लागि यो एउटा नशा । पूर्वीय सभ्यतामा हुर्किएका शास्त्रीय सङ्गीतदेखि पश्चिमका ब्लुज, हिपहप, र्याप, मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीतको आधार र आकार विश्वव्यापी छ ।
शास्त्रीय सङ्गीत अथवा रिल्याक्सेसन सङ्गीतलाई ध्यानको माध्यमका रूपमा लिइन्छ । तर व्यक्तिले आफ्नो रुचिअनुसार सङ्गीतलाई पनि ध्यानको साधनका रूपमा प्रयोग गर्न सक्छन् । मनलाई शान्त पार्ने सङ्गीत ध्यानको लागि उपयुक्त हुन्छ । आफ्नो मनलाई त्यस विषयमा टिकाइ राख्नु र एकनासले चल्नु जरुरी हुन्छ ।
अहिले दूषित वातावरण, कामको दवाब, विषादीयुक्त खानपान र इलेक्टेनिक्स सामानको बढी प्रयोगले गर्दा प्रायः मानिस विभिन्न रोगबाट पीडित छन् । विभिन्न एप्स् र ग्याजेटको प्रयोगले हाम्रो दैनिकीमा आफन्त, साथीबीचको आत्मीयतामा कमी आइरहेको छ । नानीबाबुदेखि वृद्धवृद्धासम्म मोबाइलमा व्यस्त हुने, सामाजिक सञ्जालमा बढी सक्रिय रहने आदि कारणले पनि हामी एक्लोपनामा रमाइरहने अवस्थामा पुग्दैछौँँ। यसले पछिल्लो समयमा विभिन्न नयाँ रोग पनि आइरहेको छ । अब यसरी नै नयाँ पुस्तालाई छोड्यौं भने भविष्य पक्कै पनि सहज हुँदैंन । त्यसैले अबका पुस्ताहरूलाई अभिभावकहरूकै पहलमा सानैदेखि सङ्गीत र मेडिटेसनसँग लिंक गराई जीवनलाई सुन्दर बनाउन मद्दत पुर्याउनुपर्छ ।